© २०२३
बुटवल नगरदेखि करिब १७ किलोमिटर पश्चिम दक्षिणमा एक महिमाशाली शिवालय मन्दिर रहेको छ, जसलाई पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबम धामको नामले पुकारिन्छ । यो शिवालय तीन दशकको छोटो अवधीमा पश्चिम नेपाल र सिमावर्ती भारतीय क्षेत्रमा समेत बोलबम धामको रूपमा एउटा महिमाशाली धार्मिक पर्यटकिय गन्तव्य बनेको छ । यसको इतिहास बुद्धकाल भन्दा अघिसम्म जोडिएको छ ।
बुद्धकालमा यो, यस क्षेत्रको महिमाशाली र प्रसिद्ध शिवालय रहेको इतिहासकारहरूको भनाई छ । बुद्धकालमा कपिलबस्तु राज्य क्षेत्रका १० वटा ठूला शहरमध्ये पर्रोहा पनि एउटा रहेको इतिहास तथा संस्कृतिविदहरूको भनाई छ । यही पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबमधामको महिमा, उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्दै गईरहेको अवस्था र यसको हुलाक टिकट प्रकाशन बारे चर्चा गर्नु यस लेखको उद्देश्य हो ।
पर्रोहा परमेश्वर बोलबम ज्योतिर्लिङ्गको इतिहास खोजीनीति गर्दा बुद्धकालसँग सहजै जोडिन्छ । सनातन धर्म संस्कृतिसँग सम्बन्धित शिवालय वा ज्योतिर्लिङ्ग भएकाले यसको इतिहास बुद्धकाल भन्दा अघिको हुनुपर्छ । बुद्धकालमा यो महिमाशाली शिवालय रहेको तथ्य निर्विवाद छ । मेरो अध्ययनको निजी अनुभव–अनुभुति के छ भने शाक्यमुनी बुद्धले राजदरबार त्यागी ज्ञानको खोजीमा बानप्रस्थी बन्ने क्रममा राजदरबार क्षेत्रस्थित तौलिहवाको तौलेश्वरनाथ, रूपन्देहीको पर्रोहास्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग र रूपन्देहीकै मर्चवार क्षेत्रस्थित प्रकटेश्वर महादेवको दर्शन गरी दक्षिणतर्फ लागेको हुनुपर्छ । यी शिवालयहरू त्यसबेला पनि महिमाशाली थिए ।
अहिलेपनि महिमाशाली छन् । म त के भन्छु भने यि तीन महिमाशाली शिवालयको शिवलिङ्ग पर्यटन सर्किट निर्माण गर्न सकिन्छ । यि तीनवटै शिवलिङ्ग एउटै प्रकृतिका छन् । उत्खनन्को प्रसङ्ग पनि एकै प्रकृतिको छ । उत्खनन गरी यिनको गहिराई या पिँध पत्ता लगाउन नसकिएको जनश्रुति छ । गहिराई वा पिँध पत्ता लगाउन नसकिएको र स्थापना काल वा स्थापना गराउने व्यक्ति वा संस्था पनि पत्ता नलागेकाले यि तीनवटै शिवलिङ्गलाई स्वयं उत्पत्तिमान ज्योतिर्लिङ्गको रूपमा भक्तजनहरूले पूजा प्रार्थना गर्दै आई रहेका छन् । यि तिनवटै शिवालयमा साउन महिना (गुरु पुर्णिमादेखि जनै पूर्णिमासम्मको अवधि) मा विशेष श्रावणी मेला तथा जलार्पण कार्यक्रम आयोजना गरिन्छ ।
तौलेश्वरनाथ मन्दिरमा करिब २ लाख बढी भक्तजन यो श्रावणी मेला तथा जलार्पणमा बर्षेनी सहभागी हुने गरेको अनुमानित तथ्याङ्क छ । प्रकटेश्वर नाथ शिवालयमा करिब ४ लाख बढी भक्तजन सहभागी हुने गरेको तथ्याङ्क छ । यस्तै पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबमधाममा वर्षेनी न्यूनतम ७ लाख भक्तजन श्रावणी मेलामा सहभागी हुने गरेको अनुमानित तथ्याङ्क छ । पर्रोहा बोलबम धाममा कुनै कुनै वर्ष १०–१५ लाख भक्तजन श्रावणी जलार्पण मेलामा सहभागी हुने गरेको अनुमानित तथ्याङ्क छ । म त के भन्छु भने यि तीनवटै शिवालयको महिमा तथा महत्व उत्खनन् गर्दै समयानुकूल विकास र प्रबद्र्धन गरी शिवलिङ्ग पर्यटन सर्किटको रूपमा प्रबद्र्धन गरौं । यो सर्किटले शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने पर्यटकको बसाई अवधी लम्ब्याउन मद्दत गर्दछ ।
पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग पछिल्लो तीन दशकयता बोलबम धामको रूपमा महिमाशाली बनेको छ । २०४९ सालदेखि यहाँ साउनमा बोलबम श्रावणी मेला तथा जलार्पण कार्यक्रम आयोजना गर्न थालिएको हो । २०८० सालको श्रावणी मेला ३१ औं श्रृखला हो । यसअघि यस क्षेत्रबाट भारतको बैजनाथ धाम श्रावणी मेला तथा जलार्पण कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा सनातन धर्मावलम्बीहरू जाने गर्दथे । बैजनाथ धाम जाँदा ठूलो धनराशी खर्च हुने र पाका पुस्तालाई असुविधा हुने गर्दथ्यो । २०४९ सालदेखि पर्रोहा परमेश्वर ज्योर्तिलिङ्गमा बोलबम श्रावणी मेला तथा जलार्पण कार्यक्रम सञ्चालन गरिएपछि बैजनाथ धाम जाने क्रम बन्द भयो । भारतको विहार र उत्तर प्रदेश क्षेत्रबाट भक्तजनहरू श्रावणी मेलामा सहभागी हुन पर्रोहा आउने क्रम बढ्दै गएको छ । हजारौ भारतीय भक्तजन वर्षेनी यहाँ आउँछन् । नेपालमा बोलबम श्रावणी मेला तथा जलार्पण कार्यक्रम सञ्चालन गरी यसलाई भक्तजन विच लोकप्रिय बनाउने श्रेय पश्चिम नेपालमा पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबमधामलाई र पूर्वी नेपालमा पिण्डेश्वर बाबा धामलाई जान्छ ।
पर्रोहा बोलबमधाम पश्चिम नेपालमा एउटा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यका रूपमा महिमाशाली बनेको छ । यसको श्रावणी मेला तथा जलार्पण कार्यक्रम नेपाल र सिमावर्ती भारतीय क्षेत्र विशेषगरी विहार र उत्तर प्रदेश क्षेत्रमा लोकप्रिय बनेको छ । शिवरात्रीमा पनि भक्तजनको उत्साहजनक सहभागीता हुन्छ । यसको महिमा अझ वृद्धि होस् र भावी पुस्तालाई पनि यसको संरक्षण र प्रबद्र्धन गर्न प्रेरणा मिलोस भनि इतिहास जोगाई राख्ने उद्देश्यले नेपाल सरकारले २०७३ साल मंसिर १ गते रु. ५।– मूल्यको पर्रोहा परमेश्वर ज्योतिर्लिङ्गको मन्दिर अंकित हुलाक टिकट प्रकाशन गरिदिएको छ । यसले यो धामको महिमा वृद्धि हुनुको साथै इतिहास संरक्षित गर्न र प्रचार प्रसारमा टेवा पुगेको छ । यो हुलाक टिकट प्रकाशनको परिकल्पनाकार र प्रस्ताव लेखक म हो भने यसको प्रकाशन गर्न ठोस पहल र योगदान गर्ने तत्कालिन सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल हुन् । २०७१ सालमा रामवली चौधरीको अध्यक्षतामा बनेको मन्दिर व्यवस्थापन समितिको कार्यकारिणी समितिमा म उपाध्यक्ष मनोनित भएँ । खुसी लाग्यो । मन्दिरलाई थप केही गरौ भन्ने भावना जाग्यो ।
२०७२ सालको श्रावणी मेला तथा जलार्पण कार्यक्रममा तत्कालिन सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाललाई प्रमुख अतिथीको रूपमा निम्त्याइयो । यो अवसरलाई सदुपयोग गर्ने भावना मनमा जाग्यो, अनि १२ या १५ बुँदाको हुलाक टिकट प्रकाशनको प्रस्ताव पत्र तयार गरेँ । त्यसमा धामका अध्यक्ष रामवली चौधरी र प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमको हस्ताक्षर गराएँ । त्यसपछि मन्त्री रिजाललाई यो प्रस्ताव पत्र बुझाईयो । मन्त्री रिजाल पनि धार्मिक र सामाजिक प्रवृत्तिका रहेछन् । उनी खुसी हुँदै प्रस्तावपत्र बुझे र काठमाण्डौ पुगेपछि टिकट प्रकाशनको सरकारी प्रक्रिया अघि बढाईदिए । २०७३ साल मंसिर १ गते तत्कालिन सञ्चार मन्त्रीले एक समारोहवीच त्यसमा टाँचा लगाई प्रकाशन गरेका थिए । काठमाण्डौको हुलाक सेवा विभागमा भएको टिकट प्रकाशन समारोहमा म सहित अध्यक्ष चौधरी, प्रमुख संरक्षक गौतम, मन्दिर प्रचारका अभियन्ता प्रदिप विश्वकर्मा, सत्यनारायण मानन्धर र रामु भण्डारी सहभागी भएका थियौं ।
पर्रोहा बोलबम धाम एक विगाह १२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । धाममा ज्योतिर्लिङ्गको अतिरिक्त गणेश, पार्वती, राधाकृष्ण, विष्णु, लक्ष्मी, सन्तोषीमाता आदि देवी देवताका मन्दिर समेत स्थापना गरिएका छन् । हनुमान र यस ज्योतिर्लिङ्गका पछिल्ला खोजकर्ता एवं प्रबद्र्धक रमेश गिरी नागा बाबाको मुर्ति पनि स्थापना गरिएका छन् । गुरुकुल पाठशालामा अहिले १९ जना बटुक अध्ययनरत छन् । धर्मशाला, पाकशाला, गुरु एवं पण्डीत आवास आदि पूर्वाधार पनि निर्माण गरिएका छन् । अहिले पुरानो मन्दिर भत्काएर ज्योतिर्लिङ्गमा प्यागोडा शैलीको पशुपति नाथको मन्दिरको ढाँचामा भव्य मन्दिर पुनः निर्माण भईरहेको छ, रु. ६ करोड ५७ लाख लागतमा । निर्माण सम्पन्न हुँदासम्म यसको लागत वृद्धि भई रु. ७ करोड सम्म पुग्न सक्छ । यसमा संघीय (केन्द्र) सरकारको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लगानी छ ।
१९ जुलाई २०१९ मा मैले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै बोलबम मन्दिर र सैनामैना नगरपालिकालाई एउटा प्रस्ताव गरेको थिएँ कि पर्रोहा बोलबम धामलाई थप श्रृङ्गार गरी आकर्षक पर्यटकीय गन्तव्य निर्माण गर्न यसमा पूर्वाधार थप्न र यसको आम्दानी खर्चको व्यवस्थापन हेरी नगरपालिकाले यसलाई आयश्रोतको माध्यम बनाउन भनि । सोही प्रस्तावलाई पछ्याउँदै चित्रबहादुर कार्की नेतृत्वको सैनामैना नगरपालिका बोर्डले यसको मुल मन्दिर पुनः निर्माणको लागि तत्कालै चासो र पहल लिएको थियो । वास्तवमा यो मन्दिरको व्यवस्थापन र रेखदेखमा सैनामैना नगरपालिकाले चासो र पहल लिनुपर्छ र पूर्वाधार निर्माण र सञ्चालन खर्चबाट बचत भएको आम्दानी सैनामैना नगरपालिकाले लैजाने प्रबन्ध मिलाउनुपर्छ । यो शिवालय अब विशेष महिमाशाली र आम्दानीको श्रोतको पनि बलियो भएको छ । यसलाई अब सुव्यवस्थित ढङ्गले सञ्चालन गरिनुपर्छ ।
पर्रोहा क्षेत्र बुद्धकालदेखिको उन्नत नगर हो । इतिहासकारहरूले कपिलबस्तु राज्यको राजधानीको रूपमा पनि यसको चर्चा गरेको पाइन्छ । शाक्यमुनी बुद्धको पर्रोहा क्षेत्र विशेष प्रिय थियो भनिन्छ । पछिल्लो तीन दशकको पर्रोहा बोलबम धाम मन्दिरको निरन्तर प्रबद्र्धन पछि यो ठाउँ एउटा आकर्षक धार्मिक पर्यटकिय गन्तव्यको रूपमा महिमाशाली बनेको छ । पिछडिएको चौधरी गाउँ पर्रोहा गा.वि.स. यही बोलबम धामकै योगदानको कारण छिटो पुर्वाधार निर्माण र प्रचार भई सैनामैना नगरपालिकामा रूपान्तरण भएको छ । एउटा उन्नत नगरको रूपमा फेरी पनि महिमाशाली बनेको छ पर्रोहा सैनामैना क्षेत्र ।