© २०२३
मनमा एउटा तरंग आएपछि देशको वारेमा सोंचेँ, विदेशको वारेमा सोंचे । नेपालका विभिन्न दल र उनीहरूका नेतालाई एकसरो नियाँले । वर्तमानको तातो घटना मनमा बेजोडले उठेर आयो । यसको अन्तिम निकास के रहला ? यसका वारेमा केही समय घोत्लिएँ ।
हुन त म घोत्लिनुको कुनै अर्थ थिएन । जसले देशमा घात गरे उनीहरूलाई हामीले चिन्न नसकेका हरियो कानो रहेछन् । यस्तै घोत्लिदै जानेक्रममा निकै बर्ष घोकेको संस्कृतको एउटा श्लोकको याद आयो । श्लोक यसप्रकार छः “शैले शैले न माणिक्यं मौक्तिकं न गजे गजे ।। साधवो नही सर्वत्र चन्दनं न वने वने ।।” अर्थात सबै सबै पहाडमा मणि माणिक्य (खनिज) हुँदैन ।
सबै हात्तीका मस्तिष्कमा मोती पाइदैन, जहाँकहीं सज्जन ब्यक्ति पाइदैन र सबै जंगलमा चन्दन पाइदैन । यसको सारमा अर्थ यही हो । मैले यस श्लोकलाई अलिक घुमाउरो पाराले जान्न चाहें र अभिव्यक्त गर्न चाहें । हामीले सबै गुणहरू एउटै वस्तु वा व्यक्तिमा खोज्दछौं । एउट वस्तु वा व्यक्तिमा एउटा गुण हुन सक्ला तर धेरै नहुन सक्छ । जससंग जे गुण हुँदैन त्यो गुणको अपेक्षा त्यससंग गर्नुहुँदैन । सारमा यसको भनाई यही हो ।
न त सबै पहाडमा खनिजहरू पाइन्छन् न सबै हात्तीहरूमा मोती पाइन्छ । न सबै स्थानमा साधकहरू पाइन्छन् न सबै वनमा चन्दन पाइएला । चन्दन पाउनका लागि चन्दनकै वनमा पुग्नुपर्दछ । सबै ठाउँमा चन्दन पाइदैन । यो वासनादार बिरुवा भएकाले यसमा प्रायः गरेर सर्प बस्ने गर्दछन् भनिन्छ । अरू कुराहरू आफ्ना ठाउँमा छन् । आज साधकको वारेमा केही कुरा खोतल्ने इच्छा जागेको छ । साधकलाई धेरै नामबाट चिन्न सकिन्छ । साधक भन्नाले तप, मन्त्र साधना गर्ने वाला, तपस्वी, योग धारण गरेका योगीहरूलाई साधक भन्ने गरिन्छ । साधक एक शक्ति भएको व्यक्तिको रूपमा चिनिन्छ । पहिलेको समयमा साधक भनेपछि तन्त्रमन्त्रको सहायताले कुनै वस्तुलाई आफ्नो वसमा पार्ने भनेर पनि भनिथ्यो । जे भएपनि एउटा सत्यमार्गमा हिंडेको व्यक्ति साधकको रूपमा चिनिन्छ । साधना गर्नु कठिन कुरा हो । योगको माध्यमबाट आफूलाई सिद्ध बनाउन सक्नु साधना हो ।
आफूलाई सत्यनिष्ट मार्गमा हिंडनका लागि बाचा गरेकाहरूले आफ्नो मनलाई नियन्त्रण गर्न नसकेर पथ विचलित भएका विगतदेखिका केही उदाहरणहरू छन् । कोही सदनमा प्रवेश पाएर सपथ खाएका वा कोही राष्ट्रपतिसमक्ष सपथ खाएकाहरूमध्ये केही पथ बिचलित भएको देख्दा आश्चर्य लागेको छ । ‘म सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु कि’ भनेर किन कवुल गरे होलान ? किन जस्तोसुकै अवस्थामा पनि कसैको धक नमानी, कसैको प्रलोभनमा नपरी पदीय जिम्मेवारी निर्वाह गर्नेछु भनेर बोलेको मात्र नभएर त्यही बोलेको कुरामा ल्याप्चे सहीछाप ठोके होलान ?
यसरी ल्याप्चे ठोकेकाहरूबाट पथ विचलित मात्र नभएर भ्रष्टाचारमा चुर्लम्म डुवेको देख्दा साधक बन्नका लागि कवुल गरेकाहरू पनि आफ्नो पथमा अड्न नसकेर आज बदनामको भारी बोकेर खोरमा थन्केका छन् । यो बद्नामको भारी अहिले यिनीहरूले बोकेका छन् । भोली यो भारी यिनका सन्ततिले पनि जवरजस्त बोक्न वाध्य हुनुपर्ने छ । किनकी यिनका सन्तानलाई भ्रष्टाचारीका सन्तान भनेर पुकारिने छ । हुन त यो मामलामा सन्ततिको केही दोष नहोला तर पनि यो पापको भारी हाम्रो समाजले उनका सन्ततिलाई बोकाउने छ ।
नागरिकलाई अनागरिक बनाउने घटना हाम्रो मुलुकको लागि यो भन्दा ठूलो दुर्भाग्य वा विडम्वनापूर्ण के हुन सक्छ ? विगतका निर्वाचनहरूमा यिनै दुर्वुद्धिका व्यक्तिहरूले देशका ठूला ठूला बोझ समेत उठाउन सक्छन भनेर नागरिक र राज्यले जिम्मेवारी सुम्पेको थियो, आज तिनै व्यक्तिहरू निर्लज्ज खोरमा पसेका छन् ।
यो खोरको उपहार अरू कसैले दया गरेर दिएको होइन । उनीहरूको कर्म अर्थात कार्यको उपलब्धि हो । मनमा र व्यवहारमा यस्तो कल्मस भएरपनि उनीहरूले आफ्सेआफ् साधकको उपाधि चाहेका थिए । नेपाली मतदाताले विभिन्न समयमा उनीहरूको त्यो दुर्भावनालाई बुझेर वा नबुझेर आफ्नो मत प्रकट गरे । यसैका आधारमा उनीहरू संसदसम्म पुग्ने हैसियत बनाए तर आज हेर्नुस उनीहरूको हर्कत ? हाय विडम्वना ! ? कानुनले पाएको सुविधाले पुगेन । नागरिकले दिएको सम्मान अपच भयो । देख्दामा वैधानिक कमिसन पनि कुम्ल्याईए होला, अझ थप देशमै तमाम दुई नम्वरी काम भए होलान । त्यतिले पनि पुगेन भनेर नेपाली नागरिकलाई अनागरिक बनाएर आफूले रकम असुल्नेसम्मको हर्कत भएको छ । यहाँ नियम छ कि छैन ? कानुन छ कि छैन । राज्य छ कि छैन ? कसरी यस्तो विडम्वनापूर्ण कार्य गर्ने उनीहरूले छुट पाए ?
यो आजको घटना होइन । केही वर्ष पुरानो घटना रहेछ तर राज्यले यस्तो जघन्य अपराध हुँदा पनि थाहा पत्तो नपाउनु र रोकथाम वा कारवाहीको लागि सुँइको नपाउनु भनेको अर्को दुःखद पक्ष हो । थाहा नपाउनु एउटा कुरा भयो उच्च व्यक्तिहरूबाट संरक्षण पाएर ती अपराधीहरू आजसम्म खुल्लमखुल्ला रहनु झन अर्को आश्चर्यको विषय हो । यो मुलुकको जिम्मवार व्यक्ति को हो भन्यो भने यसको ठोस उत्तर अव कसैसंग रहेन । किनकी जिम्मेवार भन्नेहरूबाट मुलुक ध्वंस हुँदैछ । नागरिक बरबाद हुँदैछन् भने मुलुक बदनामको दलदलमा फसेको छ । यसको जिम्मेवार को हुने ? यो प्रश्न अनुत्तिरित छ ।
सबै वनमा चन्दन पाईदैन् । यो पाउनका लागि निश्चित वनमा पुग्नुपर्दछ । मोती चाहने हो भने मोती भएको हात्तीको पहिचान हुने व्यक्तिको खोजी गर्नुपर्दछ । मोती पहिचान गर्ने बिज्ञ नभएसम्म हात्तीको मोती थाहा हुन सक्दैन । मणि अर्थात खनिज पाउनका लागि खनिज भएको पहाडमा पुग्नुपर्दछ । यस्तै साधक चिन्नका लागि आफूमा पनि साधक पहिचान गर्ने क्षमता हुनुपर्दछ । जोसंग साधना जाँच्ने क्षमता छैन उसले कसरी साधक थाहा पाउन सक्दछ ? यो घटना आज भयो अनि हामीले आफूलाई लाज लाग्ने घटना भनेका छौं । विगतमा पनि यस्ता घटनाहरू थुप्रै भए । कतिलाई छिपाइए होला । कतिले ज्यान छोडेर आजका मितिसम्म हिंडी सकेहोलान । संरक्षण दिनेले पनि केही रस पाए होलान तर यतिविधि निच काममा उत्रने नेतालाई मत दिनुपर्ला भन्ने एकरत्ति पनि मनमा लागको थिएन ।
अव वास्तविक साधकको खोजी गर्नुपर्ने छ । साधक यस्तो होस् जसले आफूलाई जस्तोसुकै अवस्थामा पनि यस्ता जनघाती र देशघाती काममा लगाउने प्रयास नगरोस् । हिंजो पजेरो र प्राडोको चल्ती हुँदाखेरी पनि आफूले त्यसको सुविधा लिएनन् । उनीहरू जस्तालाई साधक भन्नुपर्दछ । साधकको गुण उनीहरूसंग केही मात्रामा रहेछ । जसका मनमा लालसा हुँदैन, हो उनीहरूले साधनाको मर्म बुझेका हुन्छन् । तर, हामीले सबै नेतृत्व गर्नेहरू एकै हुन भनेर लान्छना लगाउने गर्दछौं । यो थोरै भए पनि गल्ती हुन जान्छ कि ? जो राजधानीको सुविधामा भुल्न सकेका छैनन् ।
दुई नम्वर काम गरेर घडेरी तथा घर जोरजाम गरेका छैनन् । हुन त यस्तो संख्या निकै कम छ होला । तर देशभक्ति मनमा भएका धेरै खोज्न पनि हुँदैन र धेरै ठूलो संख्यामा यस्ता साधक पाइदैनन् । यस्तै साधकको गुणको वयान गर्न जान्नुपर्दछ । देशघातीप्रति घृणा उत्पन्न गरेपछि सच्चा साधकप्रति सम्मान गर्नपनि जान्नुपर्दछ । उहाँहरूलाई स्यावासी दिनुपर्दछ । सबैमा उस्तै दोष छ कि शंका गर्नेसम्म ठिक हो तर सबैलाई एउटै बिल्ला लगाउनु राम्रो हुँदैन । किनकी कुनै हात्तीमा मात्र मोती हुन्छ, कुनै वनमा चन्दन हुन्छ र कुनै पहाडमा मणि माणिक्य हुन्छ भनेर जान्नु पर्दछ । साधक बन्नका लागि आत्मसंयम चाहिन्छ । आत्म चंचलहरूले शिर्ष भनिनेहरूले आज जे भोग्दैछन् भोली पनि त्यही भोग्ने हो । मानिसको गुणलाई सम्मान गर्ने हो । कहिले कोही उच्च आसनमा चाकडीको भ¥याङ चढेर पुगेछ भनेपनि आखिर थचारिने भनेको टोराटेपा खाँणकै बाटोमा हो ।