© २०२३
काठमाण्डौ, १९ असार एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्दै नेपालको युवा क्रिकेट टिमले समर्थकहरुलाई खुशी दिन सफल भएको छ । घरेलु टोली मलेसियालाई मंगलबार फाइनल खेलमा २ सय २१ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो । नेपालले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता जितेको थियो ।
मलेसियामा यसपटक पाएको सफलताले नेपालले एसियाली क्रिकेट परिषद् (एसीसी) को यू–१६ क्रिकेटमा ह्याट्रिक गर्न सफल भएको छ ।
नेपालले दिएको २ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमै समेटियो । कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चेर ६ विकेट लिए ।
सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ विकेट लिए । यसैगरि सागर गैरे र अशोक धामीले १—१ विकेट लिए । मलेसियाबाट मोहम्मद अक्रम (१०) ले बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
नेपालले टस जितेर ब्याटिङ रोज्दै मैदानमा उत्रेर नरेन भट्टको सानदार शतक बनाएका थिए । नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको थियो । नरेन १ सय १२ रन बनाई अविजित रहे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारि टुटेको थियो ।
उनले २९ बल खेल्दै २ चौका प्रहार गरे । नेपालले समूहचरणमै पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो । तल्लो क्रममा अशोक धामीले ३६ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेपछि नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अलआउट भएको थियो । जबाफमा आएको मलेसियालाई नेपालले ३०.५ ओभरमा ९९ रनमा अलआउट गरेको गरेको थियो । प्रतियोगितामा नेपालले समूह चरणमा मलेसियासहित थाइल्यान्डलाई र सेमिफाइनलमा सिंगापुरलाई पराजित गरेको थियो ।