© २०२३
बुटवल, १७ असार । लुम्बिनी प्रदेशबाट कूल १ सय नौ पालिकामध्ये ८० पालिकाले बजेट ल्याएका छन् र २९ पालिकाले ल्याउन बाँकी छ । संविधान तह व्यवस्था गरिए अनुसार असार १० गते भित्र अनिवार्य रुपमा बजेट कार्यपालिकामा पेश गर्नुपर्ने हुन्छ । तर प्रदेशका २९ वटा पालिकाले अझै आगामी बर्षका लागि बजेट ल्याएका छैनन । जसको कारण २९ पालिका बजेट विहीन भएका हुन । नेपालमा सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८÷०८१ का लागि बजेट सार्वजनिक गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका तीन सय सात वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । स्थानीय तहले असार १० गते भित्र आवको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि असार १७ गते सम्म करिब ४२ प्रतिशत स्थानीय तहले बजेट ल्याउन नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराइले बताए । उनले भने, “स्थानीय तहले असार १० गते भित्र आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ, तीन सय सात वटा पालिकाले ल्याउन सकेका छैनन्, तोकिएको समयभन्दापछि बजेट ल्याइए गैरकानुनी मानिन्छ ।” कर्णाली प्रदेशअन्तर्गतका ७९ पालिकामध्ये ६२ पालिका अर्थात् ७८.५ प्रतिशत स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । प्रदेशअन्तर्गतका १७ स्थानीय तहले बजेट ल्याउन बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गण्डकी प्रदेशबाट ७५ दशमलव तीन प्रतिशत पालिकाले बजेट ल्याएका छन् । कूल ८५ स्थानीय तह रहेको यस प्रदेशमा असार १७ गते सम्ममा ६४ पालिकाले बजेट ल्याएका छन् भने २१ पालिकाले ल्याएका छैनन् । लुम्बिनी प्रदेशबाट कूल एक सय नौ पालिकामध्ये ८० पालिकाले बजेट ल्याएका छन् र २९ पालिकाले ल्याउन बाँकी छ । उक्त प्रदेशमा ७३.४ प्रतिशतले बजेट ल्याएका छन् । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ५० वटा (५६.८ प्रतिशत) ले बजेट ल्याएका छन् । बागमती प्रदेशका एक सय १९ पालिकामध्ये ६३ वटा (५२.९ प्रतिशत), कोशी प्रदेशबाट एक सय ३७ मध्ये ६९ वटा (५०.४ प्रतिशत) र मधेस प्रदेशबाट एक सय ३६ पालिकामध्ये जम्मा ५८ वटा (४२.६ प्रतिशत) स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । केही पालिकाले भने बजेट ल्याए पनि मन्त्रालयको वेबसाइट (सिस्टम) मा प्रविष्ट नगरेकाले तथ्याङ्कमा नदेखिएको हुनसक्ने मन्त्रालयले जनाएको छ ।