© २०२३
दाङ, १० असार ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटको आकार घटाएर सार्वजनिक गरेको छ । तुलसीपुरले १ अर्व ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५० रुपैयाँको बजेट आज नगरसभामार्फत सार्वजनिक गरेको हो ।
जसमा चालु तर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय संचालनतर्फ कुल खर्च ४७ करोड ७ लाख १८ हजार ४ सय ९१ अर्थात कुल बजेट खर्चको २६ दशमलव २३ प्रतिशत रहेको छ ।
पूँजीगततर्फ विकास र सशक्तिकरणका कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरुतर्फ कुल खर्च १ अर्व ३० करोड ८८ लाख ५१ हजार २ सय ५९ कुल बजेट खर्चको ७२ दशमलव ९३ प्रतिशत रहेको बजेट सार्वजनिक गरिएको हो ।
संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान २९ करोड ८ लाख, सशर्त अनुदान ६५ करोड १३ लाख, समपुरक अनुदान ७५ लाख, विशेष अनुदान १ करोड र राजश्व बाँडफाँड संघ २३ करोड २ लाख ७१ हजार, खानी र वन रोयल्टी १५ लाख गरी कुल १ अर्ब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने पालिकाले अपेक्षा गरेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान २ करोड २३ लाख, ४१ हजार सशर्त अनुदान २ करोड ३६ लाख, ५० हजार समपुरक अनुदान २ करोड, राजश्व बाँडफाड प्रदेश २ करोड ११ लाख ३० हजार ७ सय ५० कुल ८ करोड ७१ लाख २१ हजार ७ सय ५० मात्र र अन्य संघ संस्था अनुदानमा नगर विकास कोष ऋण ११ करोड, युनिसेफ अनुदान ४५ लाख र सडक वोर्ड नेपाल १ करोड, युएसआइडी ३ करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान गरिएको बजेट आइतबार नगरसभामा नगरप्रमुख टीकाराम खड्काले सार्वजनिक गरे ।
बजेटले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि, वित्तीय क्षेत्र सुधार रोजगारी सिर्जना र गरिबी निवारण, कृषि, पशु र पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने प्राथमिकता दिएको छ । यसैगरी, सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण, डिजिटल र हरित अर्थतन्त्रको प्रवद्र्धन,वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन, संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधारका लागि बजेटले प्राथमिकता पाएको नगरप्रमुख खड्काले बताए ।
सार्वजनिक वित्त प्रणालीमा सुधार,लैङ्गिक तथा सामाजिक समावेशीकरणमा जोड, लागत सहभागितामा बढवालगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै तुलसीपुरले बजेट ल्याएको जनाएको छ । तर यो पटक बजेटको आकार अझ घटेको छ । बजेटको आकार उल्लेख्य रुपमा घटाएर १ अर्ब ८६ करोड ४७ लाख ७९ हजारको सार्वजनिक भएकोमा यो पटक बजेटको आकार अझ खुम्चिएको छ ।