© २०२३
रामग्राम, १० असार ।
उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले एक वर्ष ढिलो गरी नयाँ नेतृत्व चयन गरेको छ । १५ औं अधिवेशन मार्फत संघको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष रहेका परासीका व्यवसायी ओमप्रकाश अग्रहरी सर्वसम्मत निर्वाचित भएका छन् ।
आईतबार साँझ उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमका बीच अग्रहरी सहित नयाँ नेतृत्वको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता धन शर्माले घोषणा गरे । संघको वरिष्ठ उपाध्यक्षमा नगेन्द्र अग्रहरी निर्वाचित भएका छन् । यसैगरी दुई उपाध्यक्ष उद्योग तर्फ गिरिराज पाण्डे र वाणिज्य तर्फ राजेश कुमार गुप्त चयन हुँदा यसअघि सचिव रहेकी तारा आचार्यले महासचिवको जिम्मेवारी पाएकी छन् ।
यसैगरी कार्यकारीणी सदस्यहरुमा सन्दिप कुमार स्वर्णकार, बालकिसुन गुप्ता, किसुनाथ बँनिया, चन्द्रप्रकाश गुप्ता, गणेश प्रसाद अग्रहरी, सुनिल कसौधन लगायत एसोसिएट र वस्तुगत गरी १९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । संघको लेखा समिति संयोजकमा अर्जुन बहादुर क्षेत्री निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि विवादका कारण निर्वाचन हुन सकेको थिएन । आइतबार निर्वाचन समितिले निर्वाचन प्रक्रिया मिलाउन विधानमा भएको व्यवस्था बमोजिम सर्वसम्मत सहमति जुटेको नामका आधारमा अन्तिम नामावली प्रकाशन गर्दै सबै पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मति भएको आधार प्रस्तुत गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष रहेका केशव भण्डारी उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा चयन भएपछि नयाँ नेतृत्व चयन गर्न संघलाई दबाब बढेको थियो । नवनिर्वाचित नेतृत्वलाई बधाई दिदै लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवारले संघको नेतृत्व सधै उद्योगी व्यवसायीको हित र प्रवद्र्धनमा अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गरे ।
सो क्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधी तिवारी, पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।