© २०२३
बैशाख २८ देखि ३० सम्म लुम्बिनी नजिक पवन होटेलमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट २०२३ चल्यो । लुम्बिनीमा मार्टको तयारी भैरहँदा रुपन्देहीका पर्यटन व्यवसायीहरुले भने स्थानीयलाई बेवास्ता गरेको भनेर पत्रकार सम्मेलन गरेरै विरोध जनाए । नाट्टा केन्द्रीय समितिको व्यवस्थापनमा नेपाल पर्यटन बोर्डले गरेको कार्यक्रममा स्थानीय बासिन्दाको त कुरै छोडौं स्थानीय पर्यटन व्यवसायी, संचारकर्मीको समेत न्यून सहभागिता थियो । पर्यटनसंग जोडिएको स्थानीय सरकारको उपस्थिति थिएन भने पुर्व निर्धारित कार्यक्रम अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथि बन्ने तय भएपनि स्थानीयको विरोध भएको कार्यक्रममा जाँदा आफु विवादित भइन्छ भन्ने डरले मुख्यमन्त्री कार्यक्रममा उपस्थिति भएनन् । पहिलो दिनको उदघाटन सत्रमा हल भरिने मान्छेहरु भएपनि दोश्रो दिनमा छलफलमा भाग लिनेहरुको संख्या दयनीय थियो । सुनिए अनुसार कार्यक्रमको लागि २ करोड छुट्याईएको थियो रे ! तर यो कार्यक्रमबाट बौद्ध पर्यटनको प्रवद्र्धन सम्बन्धमा आशा गरिहाल्न सकिदैन । लुम्बिनीमा इन्टरनेशनल मार्ट चलिरहँदा मुख्य बौद्धस्थलका पर्यटन व्यवसायी र जनताहरु बेखबर जस्तै थिए अनि हलभित्र स्थानीय आवश्यकता र सम्भावनाको बोली बोलिदिने र मनन गरिदिनेहरु थिएनन् । ठुलो होटेलमा भएको तामझामयुक्त कार्यक्रम स्थानीयको लागि “लंकाको सुन” जस्तै भयो । पर्यटनसंग स्थानीय जनता र व्यवसायी किन जोडिन सक्दैनन् र किन लाभ लिन सक्दैनन् भन्ने कुराको यो सानो उदाहरण मात्र हो ।
नेपालमा वयवसायिक रुपमा पर्यटन शुरु भएको सात दशक पुगिसकेको छ । कोरोना कहर शुरु हुनुअघि नेपालमा वार्षिक १० लाख भन्दा बढी विदेशीहरु नेपाल आएका थिए । नेपालकै नागरिकहरु पनि एक करोड भन्दा बढी नेपालका पर्यटकीय स्थानहरुमा प्रवेश गरेको अनौपचारिक तथ्यांकहरुले देखाउँछन् । पर्यटन व्यवसायमा राज्य र निजी क्षेत्रले ठुलो लगानी गरिसकेका छन् । संघीय सरकारले मात्र नभई नेपालका सबै प्रदेश सरकार र स्थानीय सरकारहरुले पर्यटनलाई समृद्धिको आधार बनाउने कुरा गरिरहेका छन् । नेपालका सबै प्रदेश र सबै जिल्लाहरुमा पर्यटकहरुलाई आकर्षित गर्न सक्ने सम्पदाहरु छन् । यति हुँदाहँुदै पनि पर्यटकीय क्षेत्रबाट प्राप्त हुने लाभ नगन्य छ । अधिकांश पर्यटकहरु पोखरा, काठमाडौं, चितवन र लुक्लातिर घुमेर र खर्च गरेर फर्कन्छन् । यसबाट ठुला व्यवसायीहरुले केही लाभ लिन सकेपनि स्थानीय सरकार, स्थानीय वासिन्दा र साना व्यवसायीहरुले लाभ लिने अवसर पाईरहेका छैनन् । पर्यटन उद्योग र अतिथि सत्कारमा प्रयोग हुने वस्तुहरु विदेशबाट आईरहेका छन्, जसले गर्दा पर्यटन व्यवसायबाट प्राप्त लाभको ठुलो हिस्सा विदेशतिरै गएको छ । यी सबै कुराहरु पर्यटनलाई स्थानीयकरण गर्न नसक्दाका परिणामहरु हुन् । यो अवस्थाको अन्त्य गर्न स्थानीयलाई पर्यटनसंग जोड्ने र पर्यटनलाई स्थानीयकरण गर्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।
स्थानीय सम्पदामा आधारीत पर्यटन
हाम्रा नदी, ताल, कुण्ड, वनजंगल, जीवजन्तु, हिमाल–पहाडका टाकुरा, मठमन्दिर, गुम्बा चैत्य, मजारदेखि सस्कार र सभ्यता हाम्रा मौलिक पर्यटकीय सम्पदाहरु हुन् । अहिले पर्यटन विकासका नाममा यस्ता मौलिक सम्पदालाई आधुनिकीकरण गर्दै विकासे रंग दिन थालिएको छ । मन्दिरमा सेल्फी जोन, डाँडामा भ्यु टावर, तालमा पर्खाल, पैदल हिड्ने ठाउँमा पक्की बाटो र केवलकार जस्ता कुराहरुले हाम्रो स्थानीयता अनि मौलिकता मासिरहेको छ । मेलापर्व र लोक गित संगीत, नाचगानमा विदेशी र आधुनिकता बढिरहेको छ । यस्ता काममा ठुला पर्यटन व्यवसायीहरु संलग्न छन् र स्थानीय बासिन्दाहरु यस्ता कामले पर्यटन विकास हुन्छ भन्दै त्यसैको पछि दगुरिरहेका छन् । बनाईएको वा लादिएको पर्यटकीय सम्पदाले फोटो खिचेर फर्कने पर्यटकलाई मात्र ल्याउन सक्छन् । मौलिकता पर्यटनको मुख्य आधार हो यथास्वरुपमै पर्यटन पस्कन सकेमा मात्र स्थानीय सम्पदाले पर्यटकलाई आकर्षित गर्न सक्छन् ।
स्थानीय उत्पादनको उपयोग
पर्वतारोहण, राफ्टिंग, ट्रेकिंगमा मात्र हैन अतिथि सत्कार, उद्यममा पनि विदेशी उत्पादनकै बोलवाला छ । पर्यटकको लागि आवश्यक पर्ने नेपाली ब्राण्डका सामग्रीहरु नेपालका उद्योगीहरुले नगन्य मात्रामा मात्र उत्पादन गरिरहेका छन् र उत्पादित सामग्रीलाई समेत पर्यटन व्यवसायीले प्रयोग गर्न मानिरहेका छैनन् । नेपालमा आएर पर्यटकले प्रयोग गर्ने धागोदेखि पिउने पानीसम्म विदेशी प्रयोग गरिरहने हो भने नेपालीले पर्यटनबाट कहिले लाभ लिन पाउँछन् ? साहसिक पर्यटनको लागि आवश्यक पर्ने सामग्रीहरु स्थानीय उद्योगीहरुले उत्पादन गर्ने र पर्यटन व्यवसायीहरुले त्यसलाई प्रयोग गराउने हो भने विदेश पैसा जान रोकिन्छ । पर्यटकलाई दिने कोशेलीमा स्थानीय उत्पादन नै राख्ने, पर्यटकले गर्ने खानपिनमा स्थानीय वासिन्दाहरुले उत्पादन गर्ने तरकारी, फलफुल, माछामासु, अण्डा तथा गेडागुडी, पेय पदार्थ प्रयोग गर्ने हो भने स्थानीय वासिन्दालाई त्यस्ता सामग्री उत्पादनमा लाग्न र लाभ लिन प्रोत्साहित गर्न सकिन्छ । पर्यटन व्यवसायी र सरकारले पर्यटन क्षेत्रको लागि आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्न स्थानीय वासिन्दालाई सघाउने र उत्पादन खरिदको ग्यारेन्टी गरिदिने हो भने स्थानीय उत्पादनको विविधिकरण र वृद्धि गर्न सकिन्छ । यसले स्थानीयहरुलाई आय आर्जनको अवसर प्रदान गर्छ नै स्थानीय बासिन्दाहरुले पर्यटनप्रति अपनत्व महसुस गर्न सक्छन, जसले गर्दा दिगो पर्यटन सम्भव हुन्छ ।
स्थानीय सहभागिता
स्थानीय सहभागिता दिगो पर्यटनको बलियो आधार हो । पर्यटनमा स्थानीय अपनत्व जगाउनको लागि पर्यटक सम्बन्धी नीति निर्माण, कार्यक्रम, अन्तत्र्रिmया, योजना कार्यान्वयन जस्ता कुरामा स्थानीयलाई सहभागी गराउनै पर्छ । अहिले बाहिरबाट ठुला पर्यटन व्यवसायी आएर पर्यटनका गतिविधिहरु गर्न तर स्थानीयलाई वास्ता नगर्ने प्रवृत्तिले गर्दा ठुला पर्यटन व्यवसायीहरुले स्थानीयहरुको विरोधको सामना गर्नु परिरहेको छ । स्थानीय वासिन्दाहरुले पनि आफ्नो ठाउँमा पर्यटनको लागि कुनै काम भैरहेको छ भने त्यसको बारेमा चासो राख्ने, समन्वय गर्ने र त्यसबाट लाभ लिनको लागि क्षमता विकास गर्ने जस्ता कुराहरुमा ध्यान दिनुपर्छ । पर्यटक गाईड, सहयोगी, टुर अपरेटर, कुक, वेटर, उद्धारकर्ता जस्ता कार्यमा स्थानीयहरुले दक्षता विकास गरेर सहभागी हुने हो भने पर्यटकले बढी लाभ लिन सक्छन नै, स्थानीयले पनि आय आर्जनका अवसरहरु प्राप्त गर्न सक्नेछन् ।
स्थानीय स्वाद
हाम्रा पर्यटन तथा होटेल ब्यवसायीहरुले बारम्बार भन्ने गर्नुहुन्छ –“हामीले युरोप अमेरिकाको जस्तै सेवा दिन्छौ ।” समस्याको शुरुवात यहींबाट हुन्छ । हामीले स्थानीयतामा आधारित पर्यटकीय सेवाभन्दा पनि आधुनिक कंक्रिटको शहरमा उपलब्ध हुने सेवा पस्कन मरिहत्ते गरिरहेका छौ । पर्यटकीय स्थलको बसाईदेखि खानपिनसम्ममा स्थानीयता भेट्न मुस्किल हुन्छ । स्थानीय सामान प्रयोग गरी निर्माण गरिएका मौलिक होटेल, होटेलमा मौलिक स्वादका परिकारले पर्यटकलाई बाँधेर राख्न सक्छन् । तर उच्चस्तरीय सेवा दिने नाममा अनि पर्यटकले रुचाउँदैनन भन्ने नाममा स्थानीय वस्तु र प्रविधिलाई पर्यटन व्यवसायीले बेवास्ता गरिरहेका छन् । पर्यटकले आफ्नो देशमा पाईरहेको सुविधा र खाईरहेको खाना भन्दा पनि हाम्रो मौलिकतामा उनीहरुलाई रम्न सक्ने बनाउने क्षमताको कमीले गर्दा पर्यटकको घुमाई, बसाई र खवाईमा स्थानीय स्वाद पस्कन सकिएको छैन । होटेल निर्माण गर्दा स्वदेशी वस्तुहरु प्रयोग गरी नेपाली शैलीमा निर्माण गर्ने, होटेलको भित्रि सजावटमा स्थानीय वस्तुहरुको प्रयोग गर्ने, पार्क र पर्यटकीय क्षेत्रको सौन्दर्यीकरणमा स्थानीय वनस्पति, सामग्री र शैलीको प्रयोग गर्ने हो भने पक्कै पनि स्थानीयलाई पर्यटनसंग जोड्दै पर्यटन व्यवसाय संचालन गरी सबै पक्षले लाभ लिन सकिनेछ ।