© २०२३
दाङ, २० चैत ।
आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि सहकारीको भुमिका अहम रहेको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले बताएकी छन् । ६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ र घोराही उपमहानगरपालिकाले संयुक्त आयोजना गरेको कार्यक्रममा उपप्रमुख डिसीले सहकारीको तीन खम्बे अर्थ नीतिलाई सहकारी संचालक, व्यवस्थापक र शेयरसदस्यले गम्भीरतापूर्वक जिम्मेवारीवहन गरेमा सहकारी क्षेत्रमा देखा परिरहेका समस्या समाधान हुने बताइन् ।
उनका अनुसार, लामो समय विधि प्रकृया विपरित लेखा परिक्षक नराख्ने, आफु अनुकलको सहकारी संचालक समिति बनाउने, सहकारीको नीति, सिद्धान्त विपरित काम गर्दा सहकारी डुबेका छन् । सहकारीका शेयर सदस्यले आफ्नो गास काटेर बचत गर्ने गरेका छन् । उनीहरुकै कारण सहकारी चलेको छ भन्ने बुझ्नुपर्ने उनको आग्रह थियो । उनले कुनै पनि सहकारी संस्थाहरु कसैका झोलामा नहोऊन्, शेयर सदस्यको रकम दुरुपयोग नहोऊन् भन्नेमा सहकारी संचालक गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन् । थोपा थोपा गरेर बचत गरेको पैसालाई उत्पादनमा जोड्ने काममा लाग्न अपिल गरिन् । विश्वासका साथ शेयर सदस्यले गरेको वचतलाई सम्मान गर्न नसक्दा अहिले कतिपय सहकारी खराब अवस्थामा पुगेको बताइन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले सहकारी संस्थाहरु लक्ष्य र उद्देश्य विपरित संचालन हुँदा समस्यामा परेको बताए । आफ्नो विधि र पद्धती अनुसार चलेका सहकारीमा कुनै समस्या नरहेको हुँदा सहकारी शिक्षा, वित्तीय साक्षरतालगायतका कार्यक्रम, अभिमुखीकरणमा पालिकाले अभियान चलाएको बताए । सहकारीमा सुशासन ल्याउन जरुरी रहेको बताउँदै सहकारीलाई विश्वासिलो बनाउन, गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्नेमा जोड दिए । सहकारीको ऐन, नियम, कार्यविधिका बारेमा अध्ययन नगर्दा थुप्रै सहकारी धरापमा परेको अवस्था हुँदा जिम्मेवार पदमा बसेकाहरुबाट कम्तिमा आफ्नो कार्य क्षेत्राधिकारका बारेमा अध्ययनशील हुन आवश्यक रहेकोमा जोड दिएका थिए । सहकारीका कारण अहिले धेरैको जीवन परिवर्तन भएका असल अभ्यास उदाहरणका रुपमा रहेकाले त्यस्ता प्रयासलाई प्रोत्साहन गर्ने गरी स्थानीय पालिकासँगको समन्वयमा सहकारी अभियान चलाउनुपर्ने बताए ।
सो अवसरमा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष विमल अधिकारी, जिल्ला कृषि संघका अध्यक्ष पद्म आचार्य, जिल्ला बहुद्देश्यीय सहकारी संघका कृष्णप्रसाद गौतम, राष्ट्रिय सहकारी बैंकका प्रमुख डिल्लीराज दाहाल, पत्रकार सविन प्रियासन, वचत तथा ऋण सहकारी बैंकका घोराही प्रमुख विष्णु जोशी, सौभाग्य सहकारीका उपादक्ष्य पार्वती धिताल, अन्नपूर्ण सहकारीका उपाध्यक्ष धनबहादुर केसीलगायतले बोलेका थिए ।
“सहकारीको दिगोपना, स्वनियमन र सुशासन” भन्ने मुल नाराका साथ जिल्लाका पालिका स्तरमा, सहकारी संस्थाहरुले आफ्नो संस्थाहरुमा र घोराही उपमहानगरपालिकामा साताव्यापी कार्यक्रम सहित मूल समारोहका रुपमा राष्ट्रिय सहकारी दिवस मनाईएको हो । दिवसका अवसरमा साता व्यापी कार्यक्रम आयोजना गरिएको थियो ।
जिल्लामा हाल ६ सय ३० सहकारी संस्थाहरु मध्ये संघमा १५३ बचत तथा ऋण, १८९ कृषि, १३ उपभोक्ता, २७ बहुद्देश्यीय, ५ बिद्युत, १३ सामाजिक उद्यमी र अन्य प्रकृतिका १८, विषयगत संघ ४ गरी ४२२ सहकारी संघसंस्थाहरु आवद्ध छन् ।
सहकारी मार्फत सहकारीले रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्दै गरिवी न्यूनिकरण, सदस्यहरुको सिप, क्षमता तथा नेतृत्व विकास, महिलाहरुद्वारा मात्र संचालित सहकारी संस्थाहरुको नेतृत्व विकास तथा आर्थिक, सामाजिक क्षेत्रमा पहुँच वृद्धि लगायतका विविध क्षेत्रमा उलेख्य योगदान योगदान गर्दै आएको जिल्ला सहकारी संघको भनाई छ ।
कार्यक्रममा सहकारी अभियन्ता होमलाल भुसालले सहकारीको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख प्रेम केसीले गरेका थिए ।