© २०२३
आर्थिक विकासकै माध्यमबाट देशको सर्वाङ्गिण विकास हुन्छ भन्दा अत्युक्ति नहोला । प्रति व्यक्ति आय, कूल ग्रार्हस्थ उत्पादनजस्ता आर्थिक सूचकमा हुने वृद्धिले आर्थिक वृद्धि त हुन्छ तर आर्थिक विकास भएको मान्न भने सकिँदैन । आर्थिक वृद्धि आर्थिक विकासको पूर्व शर्त हो । आर्थिक वृद्धिलाई समृद्धिको शुभ संकेतको रुपमा लिन सकिन्छ । आर्थिक विकास भन्नाले कुनैपनि मुलुकको अर्थ व्यवस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया हो । देशमा भएको बिभिन्न भौतिक संरचनाहरूको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, सरसफाई आदीमा भएको गुणात्मक तथा परिमाणात्मक परिवर्तन आर्थिक विकासको परिणाम हो । देशमा ठूला–ठूला महल र भौतिक पूर्वाधार बनेर मात्रै विकास हुँदैन । विकासले तब सार्थकता पाउँदछ, जब गरिव तथा निमुखाको जीवन उकास्ने काम गरिन्छ ।
आर्थिक विकासका सूचकहरूका सम्बन्धमा अर्थशास्त्रीहरूबीच मतभिन्नता पाइन्छ । कतिपय अर्थशास्त्रीले राष्ट्रिय उत्पादनलाई आर्थिक विकासको सूचक मानेका छन् । कतिपय अर्थशास्त्रीले प्रति व्यक्ति आम्दानीलाई आर्थिक विकासको सूचक मानेका छन् । यसैगरी कतिपय अर्थशास्त्रीले आर्थिक कल्याणलाई यसको सूचक मानेका छन् । विभिन्न अर्थशास्त्रीले भौतिक जीवनस्तर सूचकाङ्कलाई विकासको सूचक मानेका छन् । यी अर्थशास्त्रीहरूले आयु, मृत्युदर, साक्षरतालाई आधार बनाएका छन् । यसैगरी संयुक्त राष्ट्र विकास कार्यक्रमले विकासका सूचकका रूपमा मानव विकास सूचक निर्माण गरेको छ । आर्थिक विकासको परिसूचकको आधारमा आर्थिक विकासको मापन गर्न सकिन्छ । विभिन्न अर्थशास्त्रीले आर्थिक विकासको परिसूचकको अलग–अलग ब्याख्या गरेका छन् । विकासको स्वरूप दीर्घकालमा परिवर्तन भइरहने हुनाले परम्परागत व्यापारवादीहरू धन वा सुनलाई विकास भन्थे । यसैगरी अर्थशास्त्री एडम स्मिथले उत्पादनस्तर र कार्लमाक्र्सले पुँजीवादी व्यवस्थाको अन्तरलाई विकास मानेका थिए । पछिल्ला अर्थशास्त्रीहरूले राष्ट्रिय आय, प्रतिव्यक्ति आयस्तर र हालका अर्थशास्त्रीहरू मानवीय मूल्य मान्यता र आधारभूत आवश्यकताका आधारमा विकासलाई मापन गर्छन् ।
वास्तवमा आर्थिक वृद्धि तथा आर्थिक विकासलाई विभिन्न आर्थिक निर्धारक तत्वहरुले मात्र असर गर्ने होइन गैर आर्थिक तत्वहरुले पनि आर्थिक विकासलाई असर गरेका हुन्छन् । समाज तथा देशमा रहेका बिभिन्न सामाजिक मूल्य तथा मान्यताले पनि आर्थिक विकासमा टेवा पुराएका हुन्छन् । मानिसको दृष्टिकोण, संस्कृति, धर्म, जातजाति, शैक्षिक स्तर आदि सामाजिक मूल्यले देशको समग्र आर्थिक विकासलाई असर गरेका हुन्छन् । आर्थिक निर्धारक तत्व र आर्थिक वृद्धि बीचको सम्बन्ध बुझ्न सजिलो छ । देशमा उत्पादन बढ्यो भने प्रति व्यक्ति आय बढ्छ जसले गर्दा आर्थिक वृद्धि पनि बढ्छ । यो प्रत्यक्ष देखिन्छ । यो बुझाउन गाह्रो छैन तर संस्कृतिले, धर्मले आर्थिक वृद्धि तथा विकासमा असर गर्छ र यिनीहरुबीच सम्बन्ध छ भन्दा यसमा प्रश्नचिन्ह खडा हुनपनि सक्छ । यो अस्वाभाभिक होइन । सामाजिक मूल्यले आर्थिक निर्धारकले जस्तो प्रत्यक्ष असर नगरेपनि यसले आर्थिक विकासलाई असर गर्ने हुनाले आर्थिक विकास र सामाजिक मूल्यबीच सम्बन्ध छ र भएको कुरा प्रस्ट हुन्छ ।
समाजमा रहने सवै मानिसको मनोवृत्ति समान हुँदैन । फरक फरक हुन्छ । खासगरी मनोवृत्ति सकारात्मक र नकारात्मक गरी दुई किसिमको हुन्छ । आर्थिक वृद्धि तथा विकासप्रति सकारात्मक भएका मानिसहरु आम्दानी बढाउने तर्फ होसियार हुन्छन । सो कार्यको लागि उनीहरुले उत्पादनमूलक कार्यमा आफ्नो सिप, कला तथा क्षमताको भरपुर उपयोग गर्छन जसले आर्थिकस्तर उकास्न मद्दत गर्दछ । यस्ता मानिसहरु आफूमात्र आम्दानी बढाउने नभई समाजका विभिन्न तह र तप्काका मानिसहरुलाई उत्पादनमूलक कार्यमा लाग्न सल्लाह सुझाव दिने होइन उत्प्रेरित नै गर्छन् भन्दा फरक पर्दैन । सकारात्मक मनोवृत्ति भएका राजनीतिक नेता नेतृत्व तहमा पुगे भने उनीहरुले पुँजी र मानव संसाधनको प्रभावकारी उपयोग गरी देशमा तिब्र आर्थिक वृद्धि गरी देशलाई आर्थिक विकासको गोरेटोमा डो¥याउने काम गर्दछन् । यदि समाजमा नकारात्मक मनोवृत्ति भएका मानिस तथा नेताको बाहुल्यता भयो भने आर्थिक वृद्धि तथा विकास उल्टो गतितिर लम्कन सक्ने कुरामा शंका गर्ने ठाउँ रहँदैन भन्दा अत्युक्ति नहोला ।
अहिले स्वरोजगार संस्कृति रुचाउने मानिसहरुको जमात बढ्दो छ । अहिलेको नयाँ जेनेरेसनमा सरकारी जागिरको मोह घट्दो छ । उनीहरु सानो भएपनि आफ्नै पेशा व्यवसाय गर्नमा उद्यत देखिन्छन् । यसबाट उनीहरु आफ्नो आम्दानी बढाउने मात्र होइन समाजका अन्य मानिसलाई पनि रोजगारीको अवसर प्रदान गर्दछन् जसले समग्र देशको आर्थिक वृद्धि तथा विकासलाई टेवा पु¥याउने देखिन्छ । कुनै समुदायका मानिसको संस्कृति पढ्ने अनि आफ्नो योग्यता अनुसारको सरकारी वा गैर सरकारी जागिर गर्ने हुन्छ । देशले उनीहरुको विद्वताको सदुपयोग गरी आर्थिक विकासलाई टेवा दिने खालका योजना बनाउने, तिनको सफल कार्यान्वयन गराउने हुनाले पढी लेखी जागिर खाने संस्कृति भएका मानिसले पनि आर्थिक विकासमा टेवा पु¥याउने रहेछन् भन्ने प्रस्ट हुन्छ ।
अर्को कुरा हाम्रो देशको सन्दर्भमा कुरा गर्दा युवा वर्ग रोजगारीको लागि विदेश जाने लहर बढ्दो छ । जसबाट देशमा रेमिटेन्समार्फत ठूलो रकम भित्रिन्छ । भनिन्छ– अहिले रोजगारीको सिलसिलामा बिदेशिएका लाखौं युवाले पठाएको रेमिटेन्सबाट देश चलेको छ । हाम्रो देशमा विभिन्न धर्म मान्ने मानिसहरु छन् । धार्मिक मानिसहरु अनुशासित हुनुको साथै विकासप्रेमी हुन्छन् । कसैलाई कुभलो गर्नु धर्मको खिलाप हो । त्यसैले सबैको भलो चाहने उनीहरु देशको भलोको लागि चिन्तन गर्ने मात्र नभई आफ्नो तर्फबाट देशको आर्थिक विकासका लागि कटिबद्ध हुन्छन् । यस्ता मानिसहरु आफू जुन पेशा व्यवसायमा छन् इमान्दारीपूर्वक आफ्नो पेशा व्यवसाय चलाई नियमपूर्वक सरकारलाई कर तिरी रास्ट्रिय आयमा टेवा पु¥याउँछन् ।
समाज भनेको विभिन्न जातजातिको समिश्रण हो । रहन सहन, संस्कार, संस्कृति जातजाति अनुसार फरक फरक हुन्छ । मानिसहरु आफ्नो आफ्नो संस्कार अनुसार बिभिन्न पेशा तथा व्यवसायमा संलग्न हुने गरेको देखिन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा सुरुवाती दिनदेखि विभिन्न जातजातिलाई उनीहरुले अपनाउने पेशा व्यवसायबाट पनि चिनिन्छ । कुमालले माटाका भाँडा बनाउने, दर्जीले कपडा सिलाउने, नेवारले व्यापार, सुनारले सुनको काम गर्ने, क्षेत्री प्रहरी तथा सेनामा आबद्ध हुने आदि । उनीहरुले अंगालेका बिभिन्न पेशाले देशमा उत्पादन तथा आय बढाउने काम गर्दछ । विभिन्न जातका कतिपय व्यक्ति क्रान्तिकारी स्वभावका हुन्छन् । उनीहरुले परापूर्वदेखि चलिआएको आफ्नो जातीय संस्कारलाई तोडेर आफूले चाहेको पेशा व्यवसाय अंगालेको पनि देखिन्छ । जस्तै ब्राह्मण क्षेत्रीले लुगा सिलाउने, सुनको कारोबार गर्ने आदि । यसले पनि आर्थिक विकासमा सकारात्मक भूमिका खेलेको पाइन्छ ।
सबै सामाजिक मूल्यले आर्थिक विकासमा सकारात्मक भूमिका खेल्छ भन्ने छैन । कतिपय अवस्थामा नकारात्मक भूमिका खेलेको पनि देखिन्छ । हालका दिनमा नेपालमा पुजाआजा, चाडबाड, विवाह, बर्तबन्ध, जन्मदिन, बैबाहिक बर्षगाँठ आदिमा व्यापक खर्च गर्ने प्रवृत्ति बढ्दो छ । फजुल खर्च गर्ने प्रतिस्पर्धा नै छ । मानिसले कमाएको पैसा यस्तै कार्यमा सकिन्छ । अझ कतिपय अवस्थामा त नपुगी ऋण लिएर पनि खर्च गर्न पछि नपरेको देखिन्छ । धर्म संस्कृति अनुसार मुस्लिम समुदायमा सन्तानलाई अल्लाहको वरदान मानी परिवारको आकार ठूलो हुने हुनाले बचतलाई न्यूनीकरण गरेको देखिन्छ । यस्ता गतिविधिले आर्थिक वृद्धि र विकासलाई बाधा पु¥याएको प्रस्ट देखिन्छ ।
आर्थिक वृद्धि तथा आर्थिक विकासमा आर्थिक तत्वको जति ठूलो योगदान छ, सामाजिक मूल्यको त्यत्तिकै योगदान भएको तथ्यले आर्थिक विकास र सामाजिक मूल्यबीचको सम्बन्ध नङ् र मासुको जस्तै छ भन्न सजिलै सकिन्छ । हाम्रो संस्कार, आनीबानी, मनोवृत्ति, संस्कृति आदिमा देखिएको विकृतिले देशको आर्थिक विकासलाई उँधो गतितिर धकेलेको छ । यसको अन्त्यका लागि हामी सबै हातेमालो गरेर आर्थिक विकासमा टेवा पुग्ने सुधारिएको संस्कार बसाल्नुपर्ने देखिन्छ । यो अहिलेको आवश्यकता हो । यसो गर्न सकियो भने देशको आर्थिक विकासमा इट्टा थप्ने काम हुनेछ र समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थकता प्रदान गर्न सहयोग हुनेछ ।