© २०२३
नेपालीमा एउटा गजबको उखान छ– “नाङ्लो ठटाएर हात्ती तर्सिदैन” । यो उखान एक स्थान र प्रसंगमा मात्र नभएर विभिन्न स्थानमा र प्रसंगमा प्रयोग हुनसक्छ र प्रयोग गर्न सकिन्छ । अहिलेसम्म विभिन्न स्थानमा प्रयोग हुँदै आएको छ । यो ठेट नेपाली उखान हो । हात्ती एउटा जनावर हो । यसलाई तेस्रो बुद्धिजीविको रुपमा मानिन्छ । पहिलो मानिस, दोस्रो डल्फिन र तेस्रोमा हात्ती पर्दछ । यो अरु जनावर भन्दा जीउडालको हिसावले फरक हुन्छ । बडेमानको शरीर, यस्तै अरु भन्दा फरक चारवटा खुट्टा, नाङलो अर्थात सुपाजत्रा कान । अगाडीबाट लामो सँुड अनि पछाडी लामो पुच्छर । यति ठूलो जनावर भएरपनि साना साना आँखा भएको जनावर हो यो । यो स्तनपाई जनावर हो । प्रायः गरेर जंगलमा पाइने र रताउन सकेको खण्डमा घरमा पनि पाल्न सकिने जनावर हो हात्ती । पहिले केही धनीमानीहरुले हात्तीपाल्ने गर्दथे । आजभोली पनि उनीहरुका सन्तानलाई हात्ती पाल्नेका सन्तान भनेर भन्ने गरिन्छ । हात्तीले निकै गह्रौं ओजन भएको भारी बोक्न सक्दछ । यसैले हात्तीलाई बलवान जनावरको रुपमा चिनिन्छ । हात्तीलाई जंगलमै रताएर घरमा वा कुनै चिडियाखानामा पाल्ने वा कुनै निकुञ्जहरुमा रहेका कार्यालयहरुमा पर्यटकको यात्राका लागि समेत पाल्ने गरिन्छ । चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षण जस्ता स्थानमा हात्ती पाल्ने गरिएको छ । खासगरी चितवनमा पर्यटकहरुलाई हात्तीमार्फत घुमाउने गरिन्छ । यसमा चढ्न पाए भने पर्यटकहरु पनि निकै प्रफुल्लित हुन्छन् ।
घरमा नपालिएका हात्तीहरु जंगलमा बस्छन् र जंगलमै आफ्नो आहारा खोज्ने गर्दछन् । कहिलेकाँही जंगलबाट आहारको खोजिमा वस्तीहरुमा पस्छन् । वस्तीमा पसेर धनजनको ठूलो नोक्सान गर्दछन् । यसरी वस्तीमा पसेका हात्तीका वथानबाट वस्तीलाई र वालीबोट नोक्सान हुनबाट बचाउन वस्तीका वासिन्दाहरु जागा बस्ने र हात्ती तर्साउन विभिन्न उपायहरु अपनाउने गर्दछन् । यसै क्रममा हात्ती तर्साउनका लागि नाङ्लो अर्थात सुपो प्रयोग गरेर हुँदैन भनिन्छ । एकातर्फ यो कहावत मात्र पनि हुन सक्छ र अर्कोतर्फ यो वास्तविक घटना पनि हुनसक्छ । जेहोस् हात्ती नाङ्लोको आवाजबाट तसर्सदैन, यसलाई तर्साउनका लागि अन्य कुनै उपाय अपनाउनु पर्ने हुन्छ भन्ने प्रष्ट छ ।
हात्ती एउटा बलवान जनावर हो । यसलाई कहिलेकाँही उपमा दिएर कुरा पनि गर्ने गरिन्छ । एउटा विज्ञापनमा त “हात्ती बलियो कि हात्तिछाप बलियो ?” भनेर भन्ने गरिन्छ । यस्तै कुनै बलवानको उपमा दिनका लागि अन्य क्षेत्रमा पनि यसको प्रयोग गर्ने गरिन्छ । आफूभन्दा बलवानलाई तर्साउन खोज्नेहरुलाई चेतावनी दिनकालागि पनि नाङ्लो ठटाएर हात्ती तर्सिदैन भन्ने गरिन्छ । बास्तविक हात्ती नभएर उपमाको लागि हात्ती शव्द प्रयोग गर्ने हुनाले सायद यो उखानको रुपमा विकसित भएको हुनुपर्दछ । तर्सन नसक्ने जस्ताले पनि बलवानलाई तर्साउनु खोज्नेहरुलाई व्यंग्य गर्नका लागि पनि नाङ्लो ठटाएर हात्ती तर्सदैन भन्ने उखान प्रयोगमा आउँछ ।
केही समययता राजनीतिमा बलवान बनेको दल जसलाई हात्तीको उपमा दिंदा फरक नपर्ने भएको छ । त्यस्तो हात्तीलाई तर्साउनका लागि केही समूह वा केही दलहरु हातहातमा नाङ्लो लिएर मरिहत्ते गरिरहेका छन् । तर, हात्ती नाङ्लोको आवाजबाट नतर्सने हुनाले हात्ती आफ्नो तालमा अगाडि लम्किरहेको छ । २०४६ सालको आन्दोलनभन्दा पहिले नेपालका वामपन्थीहरु सबै भूमिगत थिए । उनीहरुको दलको उचाई, नेता तथा कार्यकर्ताहरुको मात्रा संख्या थाहा थिएन । २०४८ सालको आमनिर्वाचनमा यो शक्ति एकैपटक दोस्रो शक्तिको रुपमा उदाएको थियो । यसदेखियता नेपाल र नेपालीको भविष्यको ढुकढुकी बन्दै आएको दल नेकपा एमाले हो । यसलाई कमजोर बनाउन र यसमा चिरा पार्न २०५४ सालमा आरा चलाएर दुई फ्याक पार्न उद्यत रहेको देखियो । आखिर केही समयपछि चिरामा विभाजन भएकाहरु पुनः एउटा विन्दुमा आएर मिलेको देखियो । यसबाट तर्सेका र आफ्नो मनसायमा कुठाराघात भएपछि पनि यसमाथि बज्रप्रहार गर्न छोडिएन । बलवान हात्ती तर्साउन नाङ्लो ठटाइरहेका छन् । कहिले हात्तीका खुट्टा समाएर पछार्न खोज्दा कति त आफै पछारिएर रछ्यानमा पुगेको पनि देखियो । यसको चिरा हेरेर रमाउनका लागि बाटो पर्खेर बसेकाहरुका लागि यो पाच्य भईरहेको थिएन । कतिले त देश र जनताको मुक्तिको नारा बोकेर उनै नागरिकलाई तर्साउनु तर्साए । नेपालको ८० प्रतिशत भू–भाग आफ्नो कब्जामा भएको सपनामा समेत देखे अनि त्यही सपनामा बाँटे । अहिले कहिले काफल पाक्यो र कहिले बीउ कोयो भनेर स्वर उरालीरहेका छन् । यसबाट अगाडि बढेर राष्ट्रिय सहमतिको धुनमा तल्लीन छन् ।
आकरमा पनि ठूलो, शक्तिमा पनि ठूलो हात्ती तर्साउन सहज थिएन । तर, गठवन्धनका माध्यमबाट तर्साउन सकिन्छ भनेर हर तरहका उपायहरु अपनाएको सुनियो र केही देखियो पनि । केही क्षणका लागि अपवित्र गठवन्धको तागतले त्यो शक्तिलाई हुत्याएको पनि हो । त्यो हुत्याउनका लागि गरिएको गठवन्धन कति सत्यताको आधारमा थियो यसको मूल्यांकन भोलीमात्र नभएर पर्सी समेत हुँदै जानेछ । यो क्षणभरमा मूल्यांकन हुने कुरा पनि होइन । यसको राम्रो समीक्षा भोलीको पिँढीले अझ व्यापक रुपमा गर्नेछ । एउटा शक्तिलाई गलहत्याउनका लागि के कस्तो दाउपेच प्रयोग भए ती कुराहरु दिन वित्द ैजाने क्रममा आफै प्रकट हुँदै जनसमक्ष आउनेछन् ।
विगतका कुराबाट सामान्य पाठ सिक्ने मात्र हो । त्यसबाट पछुताएर बस्ने होइन । पाठ त हरेक कुराबाट सिक्न सकिन्छ । सिकेको पाठलाई कत्तिको पालना गरियो भन्ने कुरा मुल कुरा हो । हिंजोको दाउपेच र तिगडम एमालेका लागि एउटा राम्रो पाठ थियो । जसले आगामी दिनका लागि पनि एउटा दिशानिर्देश गरेको छ । सम्भावित प्रहारको घटना के र कस्ता हुँदा रहेछन् भनेर सम्झिरहने बनाएको छ । यस प्रकारका कुराबाट केही कुरा सिक्नुपर्दछ र भोलीका दिनकालागि कहाँ कहाँबाट कसरी कसरी प्रहार हुने रहेछन् भनेर विश्लेषण गर्न सहज हुने भएको छ । विश्लेषणले मात्र पनि पुग्दैन । प्रतिकार पनि आवश्यक पर्दछ ।
अहिलेसम्म यस पार्टीले ल्याएका नीति निर्माण र विकास निर्माणको सूचि हेर्दा नेकपा एमालेले २०५१ सालको मध्यावधि निर्वाचन पछि बनेको अल्पमतको सरकार देखि २०७४ सालमा बनेको सरकारको पछिल्लो दिनको कार्यसम्म हेर्दा यो भन्दा उत्कृष्ठ नीति तथा कार्यक्रम अन्य कुनैपनि सरकारको पालामा आएको देखिदैन । विकास निर्माणका कुराले धेरैलाई प्रभाव पारेको छ । यसकारण यसरी चारैतिरबाट प्रहार गर्दा पनि यसमा संलग्न केही नेता कार्यकर्ता बाहेक अरुमा कत्तिपनि विचल्ली आएको देखिदैन । विचल्ली हुनेहरु केही समय अघि किनारा लागेको अवस्था छ । यो समयका लागि सबैभन्दा ठूलो उदाहरण यही हो । एकाध लोभीपापीहरुको कुरा छोडेर अरुको अवस्था हेर्ने हो भने यो एउटा बलवान शक्तिको रुपमा उदाएको छ भन्न सकिन्छ । यसमा भएका हिंजो देखिका प्रहारलाई केलाएर हेर्ने र विश्लेषण गर्ने हो भने धेरै कुरा आफै प्रष्ट हुँदै जानेछन् । जसले यो मुलुकको कायापलट गर्ने सपना देखेको छ । सपना देखेको मात्र होइन खाका नै तयार पारेर कार्यान्वयनमा लागेको छ । धेरैमात्रामा कार्य सम्पन्न गरेर देखाएको छ । त्यसकै शिरमा पटकपटक प्रहार गरेर घाइते बनाउनेहरु अहिलेपनि लामवद्ध भएर उभिएका छन् । हिँजोदेखिको प्रहार अहिले रोकिएको र सित्तिमित्ति रोकिने छाँट पनि देखिदैन । कतिवेला कहाँबाट यसलाई गर्लम्म पल्टाउन सकिन्छ भनेर ढुकेर बसेकाहरुको प्रहार राजनीतिक भन्दापनि अराजनीतिक र अस्वाभाविक खालको देखिन्छन् । हात्ती तर्साउनेहरु पटकपटक मुख मिठाउनुलाई अन्यथा मान्नपनि हुँदैन । किनकी लोकतन्त्रमा जो कसैले जो कसैको पनि विरोध गर्न पाउँछ तर वेमौसममा मुख मिठाउनु भनेको दिवास्वप्न जस्तै हो । यो दिवास्वप्न खाली आफ्नो चित्त बुझाउनका लागि मात्र हो भन्ने प्रष्ट छ । मनको लड्डु जसरी जतिपटक खाएपनि हुन्छ । मनको लड्डु खानलाई कसैले छेक्दैन ।
हात्ती तर्साउन सिपालुहरुलाई पनि राम्रो हेक्का छ कि उनीहरुले हिंजोको दिनमा जतिसुकै बलियो गठवन्धन गरेपनि एउटा चुडकीको भरमा तासको घरजस्तै पल्टियो । हिंजो गरेको गठबन्धन र भोली गर्ने अनेकौ गठवन्धनको सपना देखे पनि त्यो सर्बथा नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको भन्दा अरु केही हुनेछैन । यो कुरा हिंजोको निर्वाचनको समयमा गरिएको गठबन्धन गर्दा आएको मत परिणामले सबै देखाईसकेको छ । भो अव हात्ती तर्साउन नाङ्लो नठटाए पनि हुन्छ । किनकि यो नेपाली नागरिकको मुटुको ढुकढुकी बनिसकेको छ । धन्यवाद ।