© २०२३
नेपाली शब्द भण्डार अनुसार सँस्कृति भन्नाले समाजमा धेरै समयदेखि चल्दै आएको चलन, रीतिरिवाज, सभ्यता, जातीय धर्म वा परम्परा भन्ने बुझिन्छ । हाम्रो देश नेपाल विविध सँस्कृतिले भरिपूर्ण छ । साँस्कृतिक विविधता हाम्रो देशको विशिष्ठ पहिचान हो । त्यसैले हाम्रो सँस्कृतिको विकास र प्रवद्र्धन गर्न अपरिहार्य भएको छ ।
पछिल्लो समयमा मुलुकमा पर्यटकीय गतिविधि बढ्दो रुपमा छ । आन्तरिक पर्यटन पनि बढ्दो छ । मानिसहरु मुलुक भित्रका साँस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण र आकर्षक पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने क्रम बढ्दो छ । बाह्य मुलुकका पर्यटकहरु त नेपाल देशको भ्रमण गर्न अत्यन्त लालायित हुन्छन् नै । किनकी नेपाल आफैमा विविध सँस्कृति र प्रकृतिको बरदान हो । यहाँ हिन्दू धर्माबलम्वीहरुको अन्तर्राष्ट्रिय तीर्थस्थल पशुपतिनाथ र बौद्ध धर्माबलम्वीहरुको अन्तर्राष्ट्रिय तीर्थस्थल लुम्विनी अवस्थित छ । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा र आकर्षक हिमश्रृंखला यहीँ छन् । हिन्दूहरुको स्नानका लागि सबैभन्दा पवित्र नदी तीर्थस्थल कालीगण्डकी समेत नेपालमा अवस्थित छ । संसारकै मनोरममध्ये मानिने तालहरु रारा र तिलिचो नेपालमै छन् । यस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरु नेपालमा प्रशस्त छन् । यिनको समुचित विकास र प्रवद्र्धन एवं प्रचारप्रसार हुन नसकेको मात्र हो । जसबाट हामीले मनग्य विदेशी मुद्रा आर्जन गर्न सक्छौं । हामीले यो विविधतापूर्ण सँस्कृति र प्राकृतिक सौन्दर्यप्रति पर्यटकहरु आकर्षित गरी प्रशस्त मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्छौं । यसतर्फ हामी सबैको समयमै ध्यान पुग्न जरुरी छ । सरकार र निजी क्षेत्र मिलेर यस सम्बन्धी ठोस नीति, कार्यक्रम र योजना बनाउनु आवश्यक भएको छ । हामीकहाँ पर्यटकहरु आगमनको कमी छैन तर यसबाट हामीले अपेक्षित लाभ लिन भने सकिरहेका छैनौं । पर्यटकहरुको बसाई अवधि छोटो छ । पर्यटकहरुले मन पराउने खालका आकर्षक र उपयोगी सामग्रीहरुको उत्पादन पनि हामीसंँग छैन । न त पर्यटकहरुको लागि मुख रसाउने खालका खानेकुरा उत्पादन तर्फ हाम्रो ध्यान पुगेको छ ।
केही बर्ष यता रुपन्देहीको भैरहवा र बुटवलमा यस्ता उत्पादन तर्फ फाटफुट रुपमा व्यवसायीहरु संलग्न हुन थालेका छन् । भैरहवामा पवन मिष्ठान्न भण्डारको पेडा प्रसिद्ध भएको छ । स्वदेशको बिभिन्न भाग र विदेशमा समेत यसको माग छ । भैरहवाको ब्राण्ड बनेको छ पवनको पेडा । अहिले यसको सिको धेरैले गरेका छन् । यस क्षेत्रमा सबैलाई पेडाको स्वाद चखाउने र त्यसको प्रचारप्रसार गर्ने काम भैरहवाको पवन मिष्ठान्न भण्डारले गरेको हो । शाक्यमुनी बुद्धको जन्मस्थल लुम्विनी घुम्न आउने पर्यटकहरु एकपटक पेडाको स्वाद लिन भैरहवास्थित पवन मिष्ठान्न भण्डार पुग्ने गर्दछन् । पवनले मिठाईको व्यापारलाई विकास र विस्तार गर्न महत्वपूर्ण योगदान गरेको छ । यसबाट मनग्य मुद्रा आर्जन गर्न सकिन्छ भन्ने सन्देश पनि पवनले दिएको छ । पवनले अहिले पाँचतारे होटलको परियोजना समेत अघि बढाएको छ, बुद्धको जन्मस्थल लुम्विनी निकटमा । यस्तै एकसमय पर्यटकीय नगर कपिलवस्तुको तौलिहवामा भगेलुको सेकुवा नामुद् थियो । यसको स्वाद लिन मानिसहरु टाढा टाढाबाट पुग्ने गर्दथे । सेकुवाको पारखीहरुको लागि ब्राण्ड बनेको थियो, भगेलुको सेकुवा । सेकुवालाई ब्राण्ड बनाएर भगेलुले पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेका थिए ।
यसैगरी अहिले बुटवल नगरमा दुईवटा साँस्कृतिक घरले बजार बनाउन संघर्ष गरिरहेका छन् । मगर सँस्कृतिको साँस्कृतिक घर मगर्स किचनले र नेवार सँस्कृतिको साँस्कृतिक घर नेवा लहनाले । मगर्स किचन बुटवलको मिलनचोकमा सञ्चालित छ भने नेवा लहना बुटवलको राजमार्ग चौराहमा सञ्चालित छ । नेवा लहनाको नेपालीमा अर्थ नेवारी सभ्यता भन्ने बुझिन्छ । नेवारी सँस्कृतिका खाजा घरहरु पारी बुटवल (बटौली)मा पनि तीनवटा सामान्य रुपमा सञ्चालित छन् । मगर्स किचन र नेवा लहनाले विशुद्ध रुपले साँस्कृतिक खानेकुराहरु उत्पादन र बजारीकरणतर्फ ध्यान केन्द्रित गरेका छन् । मगर्स किचनले कोदोको ढिडो, फापरको ढिडो, मकैको आटो, सेलरोटी, बारा (बटुक), बिरम्ला (पहाडिया बोडी र झिल्टुङ्गको दालबाट निर्मित), चुकौनी, मगरी अचार, गुन्द्रुक, फापरको तावा रोटी, कोदोको तावा रोटी, मकै भट्ट, सिलौटामा पिसेको गोलभेडको चटनी, कोदोको ममः र सिस्नोको ममःका परिकार बनाई विक्रि वितरण गर्दै आईरहेको छ । त्यस्तै मासुतर्फ– बंगुरको फ्राई, ग्रेभी, छोयला, ममः, भुटुवा, साँधेको र कुखुराको मासुको चिकन फ्राई, साँधेको आदि परिकार बनाउँछ । लोकल चिकन र खाना पनि बनाउँछ । मासुका अतिरिक्त शाकाहारीहरुका लागि स्थानिय रुपमा उत्पादित मौसमी तरकारीका परिकार पनि पस्कन्छ । विशेष गरी मगर जातीको खाना पस्कनमा मगर्स किचनको प्राथमिकता रहेको सञ्चालक सञ्जय काउछाको भनाई छ । मगर जातीको खानाको स्वाद लिन पारखीहरु मगर्स किचनमा पुग्ने गर्दछन् । सञ्जयले यो साँस्कृतिक घर सञ्चलान गर्न थालेको पाँच बर्ष भयो । ठिकै चलेको छ । यसलाई ब्राण्डिङ्ग गर्न सञ्जयले संघर्ष गरिरहेका छन् । उनले मगर्स किचनको घरलाई मगर जातीको विशेषताले भरिपूर्ण बनाएर सजावट समेत गरेका छन् । मगर्स किचनको प्रवेशद्धारमा छिर्दै गर्दा बाँसको तगारो छ । ढुङ्गाको सुरक्षा पर्खाल बनाएका छन् । ढुङ्गेधारा बनाएका छन् । ढिकी, जाँतो (झाँतो), सिलौटो, आगोको चुलो, आँगनमा डोको, कौसीमा मकैका झोता, भोटे ताल्चा, सिउँ, लालटिन, मयन्टोल आदि सजाएर राखेका छन् । घरको भित्तामा पदमका फूल कुँदिएका छन् । ढुङ्गा बिछ्याएको आँगन छ । मदानी, मधुस, भरुवा बन्दुक, टेपरिकर्ड, ठेकी, मादल, डम्फु, धनुकाँड, चौंठी, छालाको चाल्नो, टुकी, माहुरीको घार आदी पहाडी इलाकामा मगर समुदायका घरमा हुने सबै सामग्रीले मगर्स किचनलाई सञ्जयले श्रृंगार गरेका छन् ।
त्यसैगरी नेवारी साँस्कृतिक घर नेवा लहनाले नेवारी सँस्कृति अनुसारका खानाका परिकारहरु पस्कने गरेको छ । नेवारी पिज्जा, बारा, छोयला, सुकुटी, कचिला, खागो, जिब्रोको परिकार, द्याकुला, भुटन, न्यापु, झुपु, सपुनिचा, योमरी, खुवा, समयबजी, खाजा सेट, हाँसको छोयला, छ्याङ्ग, अयला आदी परिकार बनाई पस्कने गर्दछ । बुटवलमा यसले सेवा दिन थालेको चार बर्ष पुगेको सञ्चालक निरज श्रेष्ठले बताए । काठमाण्डौंको कीर्तिपुरमा यो साँस्कृतिक घरले सेवा दिन थालेको पन्ध्र बर्ष पुग्यो । बुटवलमा त्यसैको शाखाको रुपमा सञ्चालनमा ल्याईएको हो ।
नेपालको पर्यटन उद्योगमा यस्ता साँस्कृतिक घरको ठूलो महत्व छ । यस्ता घरहरुलाई सरकार, उद्योगी व्यवसायीका संघसंस्थाहरु र सञ्चारमाध्यमले संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ । सरकारले यस्ता साँस्कृतिक घरहरुलाई कर मिनाह दिएर प्रोत्साहित गर्नुपर्छ भने उद्योगी व्यवसायीका संघसंस्थाले प्रवद्र्धनमा टेवा पु¥याएर प्रोत्साहित गर्न जरुरी छ । बुटवलको मगर्स किचनलाई बुटवल उपमहानगरपालिकाले साँस्कृतिक घरको रुपमा प्रशंसा पत्र प्रदान गरेको छ । अब कर मिनाह पनि गरिदिनु पर्छ । मगर्स किचनलाई मात्रै होइन, अरु साँस्कृतिक घरहरुलाई पनि खोजीखोजी प्रोत्साहित गर्नुपर्छ । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल र बुटवलमा दुईवटा केवुलकार सञ्चालनमा आएपछि यसक्षेत्रमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको छ । त्यसबेला पर्यटकहरुको बसाई अवधि लम्ब्याउन र भुलाई राख्न यस्ता साँस्कृतिक घरहरुले योगदान दिन सक्छन् । मगर र नेवारको साँस्कृतिक घरको सिको गर्दै थारु, थकाली, गुरुङ्ग, तराई मधेसका बिभिन्न जातीहरुले पनि यस्ता घरहरु सञ्चालनमा ल्याउनु पर्दछ । तब मात्र पर्यटकको बसाई अवधि लम्ब्याउन सकिन्छ । समयमै सबैको ध्यानाकर्षण होओेस् । अस्तु