Butwal Today

बुटवल योगीकुटीको इतिहास र नामकरण

१३ मंसिर २०८३, आइतबार
अ
अ+
अ-

बुटवलको इतिहास सम्बन्धी अध्ययन गर्न खोज्ने हो भने कुनै पुस्तक वा साहित्य प्रकाशन भएको ३० वर्ष लामो अवधीदेखि बुटवलमा बसेर पत्रकारीता गरिरहँदा मैले पाउन सकेको छैन । कुनै भरपर्दो स्रोत सामग्री पनि भेट्टयाउन सकेको छैन । तर स्थानीय बुढापाका, साहित्य–सँस्कृति सम्बन्धी लेखक र अग्रज समाजसेवी तथा राजनीतिकर्मिहरूसँगको संवादको क्रममा सुन्दा बुझ्दा बुटवल नगरको इतिहास निकै लामो र गौरवशाली छ । नेपालको प्राचिन इतिहासका लेखक तथा इतिहासकार एवं सन्त योगी नरहरीनाथले बुटवलको इतिहास बुद्धकालसँग जोडेको पाइन्छ । योगी नरहरीनाथले बुटवल ट्राफिकचोकको दुर्गा मन्दिरको शिलालेखमा बुटवललाई बुद्धवल्ली भनी उल्लेख गर्नुभएको छ । जुन शिलालेख जो सुकैले भेट्टयाउन र पढ्न सक्छ । बुद्धवल्लीको अपभ्रम्स रूप बुटवल हो भन्ने भनाई उहाँको हो । बुद्धवल्ली भनेको बुद्धको विचरणस्थल । यस आधारमा भन्ने हो भने यसको इतिहास बुद्धकालसँग जोडिन्छ । तर योगी नरहरीनाथले यो कुरा शाक्यमुनि बुद्धको जीवनकालसँग मात्र नजोडेको हुन सक्छ । बुद्ध पुरुष भनेको ज्ञानी पुरुष भनेको हो । ठूल्ठूला साधु सन्त र ऋषीहरू ज्ञानी पुरुष हुन् । बुद्ध पुरुष हुन् । यसकारण बुद्धवल्ली भनेको ज्ञानी पुरुषहरूको विचरण स्थल भनेको हो । त्यसकारण बुटवलको इतिहास बुद्धकाल भन्दा अघि परापूर्वकालदेखि नै जोडिनुपर्छ । खोजिनुपर्छ । अनुसन्धान गरिनुपर्छ । यसमा मेरा दुईवटा तर्क र आधार छन् ः बुटवल समिपको पाल्पातर्फको दोभानस्थित पहरामा आदी मानव रामपिथेकसको १ करोड १० लाख वर्ष पुरानो दाँतको बङ्गाराको अवशेष भेटिएको स्थल छ । यस आधारमा भन्ने हो भने यो बुटवल क्षेत्रको पुरानो घना जङ्गल आदी मानवको विचरण स्थल हो । यो प्रमाणले बुटवल एक करोड वर्ष अघि देखि नै मानव पूर्खाको विचरण स्थल हो । यस्तै बुटवल नगरको माझबाट बग्ने तिनाउ नदीको अर्को नाम तिलोत्तमा हो । तिलोत्तमा अप्सराको नाम हो । देव अप्सराका प्रसङ्ग पुराणहरूमा पाइन्छन् । अप्सरा सत्य, त्रेता युगका देवलोकका सुन्दरी हुन । यसकारण बुटवल सत्य त्रेतायुग देखिकै देव अप्सराहरूको क्रिडाभूमि भएको देखिन्छ । यसकारण यो क्षेत्र परापूर्वकालदेखि कै ज्ञानी (बुद्ध) पुरुषहरूको विचरण भूमि हो । अतः बुटवलको इतिहास परापूर्वकालसँग जोड्न सकिन्छ । यो ठाउँ ऋषी मुनी साधु सन्त देवताहरूको तपस्चर्या र साधना स्थल हो । बुटवल समिपको दोभानको कुहिरे भिरस्थित सिद्ध गुफा सिद्धबाबाहरूको निवास स्थल हो । तपस्चर्या स्थल हो । साधना स्थल हो । बुटवल क्षेत्रमा दुईवटा स्थल साधु सन्तहरूका निवास स्थल मानिन्छन् । एउटा सिद्धबाबा क्षेत्रको कुहिरे भिर र अर्को जोगीकुटी क्षेत्र ।
पश्चिम नेपालको प्रमुख व्यापारिक तथा प्रशासनिक शहर बुटवल आफ्नै किसिमको ऐतिहासिक भौगोलिक र साँस्कृतिक महत्वले भरीपूर्ण छ । चुरे पहाडको काखमा तिलोत्तमा नदीका किनारमा बसेको यो शहर पहाड र तराईको सङ्गमस्थलमा पर्ने हुनाले शताब्दीयौँदेखि व्यापार, धर्म र सँस्कृतिको मिलन थलो बनेको छ । बुटवल भित्र रहेका विभिन्न टोल र चोकहरूको आ–आफ्नै कथा र नामकरणको पृष्टभूमि छ । जसमध्ये एक चर्चित नाम हो – जोगीकुटी (योगीकुटी) । शान्तीचोक देखि उत्तरतर्फ देवसिद्ध चोकतिर जाने बाटोमा पर्ने यो क्षेत्र आज बुटवलको एक चिनिएको बस्ती र सामाजिक चिनारीको रूपमा स्थापित छ । बुटवल जस्तै जोगीकुटीको पनि कुनै एकल प्रमाणित र लिखित ऐतिहासिक अभिलेख सार्वजनिक रूपमा उपलब्ध छैन । जोगीकुटीका बारेमा प्रचलित बुझाईहरू प्रायः स्थानीय जनश्रुति, मौखिक परम्परा र बुटवलको सामान्य इतिहाससँग जोडिएका अनुमानहरूमा आधारीत छन् । त्यसैले यो लेखलाई ऐतिहासीक तथ्यको प्रमाणको रूपमा नभई उपलब्ध जानकारी र भाषिक–साँस्कृतिक विश्लेषणको संश्लेषणको रूपमा हेरिनुपर्छ । जोगीकुटी शब्द जोगी र कुटी दुई शब्द मिलेर बनेको छ । जोगी शब्द सँस्कृतको योगी शब्दबाट अपभ्रम्स भई बनेको हो । जसले तपस्या, साधना र बैराग्यको जीवन विताउने साधु सन्यासीलाई जनाउँछ । नेपाली तथा भारतीय उपमहाद्विपको परम्परामा योगी वा जोगीहरू प्रायः नाथ सम्प्रदाय, दशनामी सम्प्रदाय वा अन्य साधु परम्पराका अनुयायी हुन्थे, जो एकान्त स्थलमा बसेर साधना गर्थे । कुटी शब्दले साना, साधारण झुपडी वा आश्रमलाई बुझाउँछ । घाँस वा फुसले छाएको साधारण बाससस्थान– जहाँ साधु सन्तहरू बस्थे । यसरी जोगीकुटी शब्दको शाब्दीक अर्थ नै जोगीको बासस्थान वा साधु सन्त बस्ने कुटी हुन आउँछ । नेपाल र भारतमा यस प्रकारका नामहरू असामान्य होइनन् । उदाहरणकालागी उत्तराखण्डको जोगी मठमा रहेको “जोगी झरना” पनि त्यहाँ जोगी साधुहरू स्नान गर्न बस्ने गरेकाले नामकरण भएको हो । यसैगरी पाकिस्थानको पन्जाव क्षेत्रमा रहेको “तिल्ला जोगीयाँ” पहाड पनि त्यहाँ बसेका जोगीहरूकै नामबाट प्रख्यात भएको हो । यसरी हेर्दा कुनै ठाउँमा साधु सन्तहरूको बसोबास वा तिनका आश्रम रहेकै कारण त्यस ठाउँको नाम योगी शब्दसँग जोडिनु दक्षिण एसिया भरी नै प्रचलित एउटा साझा नामकरण प्रवृत्ति हो । बुटवलको जोगीकुटी पनि यही परम्पराको एउटा स्थानीय उदाहरणको रूपमा बुझ्न सकिन्छ । अर्थात कुनै समयमा यस ठाउँमा कुनै जोगी वा साधुको कुटी (आश्रम) रहेको र त्यही आश्रमको नामबाटै सम्पूर्ण बस्तीको नामकरण हुँदै गएको अनुमान गर्न सकिन्छ । बुटवल क्षेत्र ऐतिहासिक कालदेखि नै धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिदैँ आएको छ । बुटवलमा रहेको सिद्धबाबा धाम आज सम्म पनि स्थानीय बासीकालागी आस्थाको प्रमुख केन्द्र हो, जहाँ वर्षभरी भक्तजनको भिड लाग्छ । चुरे पहाडको काखमा रहेको भौगोलिक बनावट वनजङ्गल र नदी किनारको एकान्त वातावरणले प्राचिन कालदेखि नै साधु सन्तहरूलाई तपस्याका लागी आकर्षित गर्दै आईरहेको हुनुपर्छ । पहाडबाट तराईतर्फ ओर्लने र तराईबाट पहाडतर्फ जाने यात्रु व्यापारीहरूको बाटोमा पर्ने हुनाले बुटवल क्षेत्र सन्त महात्माहरूको लागी विश्राम र साधनाको उपयुक्त थलो बनेको हुन सक्छ । म प्रष्ट शब्दमा भन्न सक्छु – बुटवल दक्षिणी क्षेत्रबाट उत्तर हिमालयतर्फ साधना वा तपस्याका लागि जाने साधु सन्त र राजर्षी, देवर्षी, महर्षीहरूको आवत जावतको मुख्यद्वार बुटवल हो । त्यसैले यो पहाड र तराईको ढोका हो । जुन मार्गबाट देवर्षी, राजर्षी, महर्षी वा राजा, महाराजा, साधु सन्तहरू उत्तर दक्षिण ओहोर दोहोर गर्थे, गरिरहेका छन् । उनीहरूको मुख्य विश्रामस्थल यहाँ जोगीकुटी र सिद्धबाबा क्षेत्र हुन् । सिद्धबाबा क्षेत्रको दोभान त तराई सकिएर पहाड वा हिमालतिर उक्लने द्वार हो, यसकारण बुटवलमा जोगीकुटीको महिमा र महत्व सिद्धबाबा क्षेत्रको जत्तिकै छ । जोगीकुटी क्षेत्रलाई केलाउँदा यो ठाउँ शान्तिचोक र देवसिद्ध चोकजस्ता धार्मिक–साँस्कृतिक महत्वका नामसँग जोडिएका ठाउँहरूको विचमा पर्दछ । जसले यस समग्र क्षेत्रको धार्मिक चरित्रलाई थप पुष्टि गर्दछ । देवसिद्ध शब्दले पनि सिद्ध पुरुष वा सिद्ध साधनाको सन्दर्भ बोकेको देखिन्छ, जसबाट यस क्षेत्रमा प्राचिन कालदेखि नै साधु सन्त परम्पराको जरो गाडीएको अनुमान गर्न सकिन्छ । आज जोगीकुटी बुटवलको एउटा चिनिएको बस्ती क्षेत्रको रूपमा रहेको छ । जुन शान्तिचोकदेखि उत्तरतर्फ देवसिद्ध चोकसम्म जाने बाटोमा पर्छ । यो क्षेत्र आवासीय बस्तीको रूपमा विकसित भई सामान्य नागरिक जीवनको धड्कन बनेको छ । तर, यसको नामले भने आफ्नो पुरानो धार्मिक–आध्यात्मिक चिनारीलाई अझै बोकि रहेको छ । बुटवल शहरीकरणको बेगले पुरानो बटौली बजार क्षेत्र, गगनचुम्बी भवन, फराकीलो सडक र व्यवस्थित बजार सहितको आधुनिक स्वरूपमा फेरिदै गएतापनि जोगीकुटी जस्ता पुराना टोलका नामले भने बुटवलको मूल इतिहास र साँस्कृतिक जरालाई सजिव राखीरहेका छन् । बुटवल जस्तो द्रुत गतिमा शहरीकरण भईरहेको शहरमा जोगीकुटी, कदमचोक, निमचोक, देवसिद्ध चोक जस्ता पुराना नामहरूको संरक्षण र यिनको ऐतिहासिक अनुसन्धान अत्यन्त आवश्यक देखिन्छ । बुटवलको जोगीकुटी नामले एउटा गहिरो साँस्कृतिक र आध्यात्मिक कथा बोकेको प्रतित हुन्छ । जुन जोगी (साधु सन्त) र कुटी (आश्रम) शब्दको संयोजनबाट स्पष्ट हुन्छ । बुटवल, जुन कुनै समय पहाड र तराईको सङ्गमस्थल र सेन वंशिय राजाहरूको प्रशासनिक केन्द्र थियो । त्यसको दक्षिण तर्फको एउटा कुनामा कुनै समय साधु वा योगीको आश्रम रहेको र त्यसैको सम्झना स्वरूप यस ठाउँको नाम जोगीकुटी रहेको हुनुपर्छ । निसन्देह, जोगीकुटी एउटा महिमाशाली धार्मिक–आध्यात्मिक स्थल हो । बुटवलको एउटा महत्वपूर्ण साँस्कृतिक सम्पदा हो । जोगीकुटी देवस्थल (मन्दिर) क्षेत्रलाई संरक्षण र प्रबर्धन गरी एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउनु पर्छ । यस देवस्थल परिसरभित्र एउटा जोगीको कुटी वा आश्रम निर्माण गरी यसको पुरानो पहिचानलाई पनि कायम राख्नुपर्छ ।
सन्दर्भ सामग्री: जनश्रुति र एआई

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?