© 2026
हरेक बर्षजस्तै यो बर्ष पनि सरकारले उद्योग दिवस मनाएको छ । दिवसको अवसरमा केही उद्यमीलाई जिल्लाहरूमा सम्मान गरिएको छ । उद्योगीहरूले भने सरकारको रवैया उद्योग संरक्षण भन्दा पनि उद्योगीलाई हतोत्साही बनाउने खालको रहेको भन्दै सरकारको कडा आलोचना गरेका छन् । बालेन सरकारले सुरुमा बन्द भएका सरकारी उद्योग पुनः संचालनको पहल गरेपनि अहिले भने बेवास्ता गरेको छ । संरक्षण र प्रोत्साहनको अभाव लगायतका विविध कारणले वन्द भएका उद्योग पुनः सञ्चालनको वातावरण अहिलेसम्म तयार हुन सकेको छैन् । त्यसो त यसअघिका सरकारहरूले पनि वन्द उद्योग सञ्चालनका पहल गरेनन् । त्यसमा यो सरकार पनि अपबाद बन्न सकेन । २०४६ सालयता वनेका सरकारले उद्योगमैत्री वातावरण सिर्जना गरेनन् भन्दा अत्युक्ति हुँदैन । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि नीजिकरणको नाममा सरकारी उद्योग विक्री गर्ने काम सुरु भएको नमिठो विगत छ । त्यसपछि यता धेरै प्रधानमन्त्री बने । तिनले पनि उही कोइरालाकै नीजिकरण पथलाई पछ्याए । जसका कारण सरकारी उद्योग नीजिकरण भए । नीजि उद्योग पनि संरक्षणमा चासो देखाएनन् । बरु चलेका उद्योगलाई पनि कर या अरू कुनै नाममा चर्को दोहन र दुव्र्यवहार गर्ने काम भयो । अहिलेपनि बालेन नेतृत्वको सरकार बनेको सात आठ महिना भयो, अवस्था विगतका सरकारको जस्तै भैरहेको छ । सरकारी संरक्षण नहुँदा बन्द भएका उद्योग पुनः सञ्चालन हुन सकेनन् । भएका उद्योग पनि बन्द हुँदै गर्दा संरक्षणको पहल हुन सकेन । सरकारले उद्योगलाई दुहुनो गाई सम्झियो । करको नाममा दोहन गर्नेसम्म ग¥यो । नीजि उद्योगपनि नेपालका सम्पत्ति हुन, तिनको संरक्षण गर्नुपर्छ भन्ने हेक्का भएन । जसका कारण आज यो अवस्था आएको छ । वन्द भएका सरकारी र नीजि उद्योग चलाउनेतर्फ बालेन सरकारले सुरुमा चासो दिएपनि अहिले भने सरकारको ध्यान उद्योगीलाई हतोत्साही वनाउनेतर्फ केन्द्रित छ । कतिसम्म भने हरेक बर्ष मनाउने राष्ट्रिय उद्योग दिवस यो बर्षपनि मनाइयो तर औपचारिकताकै नाममा । कर दिवसमा सरकारले तामझाम गरि बढी कर बुझाउनेलाई सम्मान गर्छ तर उद्योग दिवसमा ठूला उद्योगलाई पुरस्कृत गर्ने तथा सम्मान गर्ने परम्परा भने शून्य जस्तै छ । घरेलु तथा साना उद्योग कार्यालयहरूले दिवस मनाएको औपचारिकता पूरा गरे तर राष्ट्रियस्तरमा त्यस्तो कुनैपनि कार्यक्रम हुन सकेन् ।
अवको दिनमा मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र नीजि क्षेत्रबीच सहकार्यको आवश्यकता रहेको छ । सरकारले पूर्वाधार निर्माणमा गर्ने लगानी अहिले ठप्पजस्तै भएको बेला नीजि क्षेत्र र सरकारबीच सहकार्य भए निश्चितरूपमा समृद्धि टाढा छैन तर त्यसका लागि सरकारले वातावरण वनाईदिनु आवश्यक छ । पछिल्लोसमय उद्योगीहरूले नेपाली उत्पादन बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै आएका छन् । सरकारले नेपाली उद्योगले उत्पादन गरेको सामानको उपभोग गर्न आह्वान गर्दै आएको छ । त्यो पनि औपचारिकमै सीमित भैरहेको छ ।सरकारी कार्यालयलाई नेपाली समान उपभोग गर्न सरकारले निर्देशन गरेपनि सरकार मातहतका निकायहरूबाट भने सरकारकै निर्देशन वेवास्ता गरेको देखिएको छ । नेपाली उद्योगले उत्पादन गरेको बस्तु वा सामान उपभोग नबढेसम्म बजार चलायमान हुन सक्दैन । बजार चलायमान नभैकन उद्योग फस्टाउन सक्दैन । तर, यो कुरा सरकारले बुझ्दैन । सरकार उद्योगीलाई निमाठ्ने काममा उद्यत भएको छ । यो सरकार बनेदेखिका करिव सात आठ महिनामा उद्योगीहरूमा निरासाबाहेक केही देखिएको छैन् । यसरी कसरी बन्छ देश ? उद्योगमैत्री वातावरण वन्न सकेन भने देशमा रोजगारीको अवसर सिर्जना हुँदैन भन्ने कुरा सरकारको कानमा परोस् ।