Butwal Today

दस बोट सुन्तलाबाट बदलिएको पहिचान

१३ मंसिर २०८३, आइतबार
अ
अ+
अ-

पाल्पा ।
पाल्पाको बगनासकाली गाउँपालिका–यम्घा थामडाँडाका तारा प्रसाद बस्यालको परिचय कुनै समय सामान्य किसानका रूपमा मात्र सीमित थियो । परम्परागत खेती गर्दै आएका उनको पहिचान अहिले सुन्तला उत्पादक किसानका रूपमा स्थापित भएको छ । गाउँमै पहिलोपटक व्यावसायिक रूपमा सुन्तला खेती सुरु गरेका बस्यालले यसैबाट राम्रो आम्दानी मात्र गरेका छैनन्, आफ्नो परिवारको आर्थिक अवस्था बदल्दै गाउँका अरू किसानलाई समेत व्यावसायिक खेतीतर्फ प्रेरित गरेका छन् ।
बस्यालले २०४९ सालमा कृषि प्राविधिकबाट प्राप्त १० वटा सुन्तलाका बिरुवा रोपेर खेती सुरु गरेका थिए । गाउँको विद्यालयमा कृषि तालिम दिन आएका प्राविधिकले उपलब्ध गराएका बिरुवा नै उनको व्यावसायिक यात्राको आधार बने । ती बिरुवालाई हुर्काउन गरेको मेहनतले फल दिन थालेपछि उनले सुन्तला खेती विस्तार गर्ने सोच बनाए । अहिले उनको बगैँचामा सात रोपनी क्षेत्रफलमा सुन्तला उत्पादन भइरहेको छ ।
सुरुका दिन भने सहज थिएनन् । गाउँ सडक सञ्जालले जोडिएको थिएन । उत्पादन भएको सुन्तला बजारसम्म पु¥याउन यातायातको सुविधा थिएन । त्यसैले बस्याल डोकोमा सुन्तला बोकेर गाउँका घरघरमा पुग्थे र बिक्री गर्थे । त्यसरी बिक्री गर्दा पनि राम्रो आम्दानी हुन थालेपछि उनलाई खेती विस्तार गर्ने हौसला मिल्यो ।
“१० वटा बिरुवा रोपेर सुरु गरेको खेतीले फल दिन थालेपछि मेहनत खेर जाँदैन भन्ने लाग्यो । डोकोमा बोकेर बस्तीका घरघरमा पुगेर सुन्तला बेच्दा पनि राम्रै पैसा हात पथ्र्यो । त्यसैले खेती विस्तार गर्ने प्रेरणा मिल्यो,” बस्यालले भने । सुन्तला खेती विस्तार गर्ने उनको निर्णयलाई सुरुमा गाउँलेले सहज रूपमा स्वीकार गरेनन् ।
मकै लगाउने बारीमा सुन्तलाका बिरुवा रोप्न थालेपछि छिमेकीले आलोचना गरे । तर, बस्यालले आफ्नो योजनाबाट पछि हटेनन् । खेतीप्रतिको लगाव र निरन्तर मेहनतकै कारण बगैँचामा सुन्तला लटरम्म फल्न थाले । उनको सफलता देखेपछि पहिले आलोचना गर्नेहरू पनि सुन्तला खेतीतर्फ आकर्षित भए । अहिले गाउँ नै सुन्तलामय बन्दै गएको छ ।
बस्यालको जीवनमा सुन्तला खेतीले आर्थिक मात्र होइन, पारिवारिक परिवर्तनसमेत ल्याएको छ । यही खेतीबाट भएको आम्दानीले उनले घरखर्च चलाए र तीनै छोरालाई स्नातक तहसम्मको अध्ययन पूरा गराए । उनका जेठा छोरा कृषि विकास बैंकमा अधिकृत छन् । माहिला छोरा तानसेन नगरपालिकामा स्वास्थ्य अधिकृतका रूपमा कार्यरत छन् भने कान्छा छोरा विद्युत् इन्जिनियर बनेका छन् ।
“सुन्तला खेतीबाट भएको आम्दानीले छोराहरूलाई पढाउन र घरपरिवार चलाउन सकेँ । यही खेतीले मेरो परिवारको जीवनस्तर बदल्यो,” उनले भने ।
व्यापार व्यवसाय र वैदेशिक रोजगारीको अनुभवसमेत बटुलेका बस्यालको मन भने सधैँ आफ्नै बारीमा लगाएका सुन्तलाका बिरुवामै थियो । तानसेन बजारमा पसल सञ्चालन गर्दा घरखर्च धान्न कठिन भएपछि उनी वैदेशिक रोजगारीमा समेत पुगे । विदेशमा रहँदा पनि बारीमा लगाएका बिरुवाको अवस्थाबारे चासो राखिरहन्थे । विदेशको कमाइभन्दा आफ्नै माटोमा गरेको मेहनतबाट भविष्य बनाउन सकिन्छ भन्ने विश्वासले उनलाई पुनः खेतीमै केन्द्रित गरायो ।
अहिले गाउँमा सडक पुगेपछि उनको व्यवसाय थप सहज भएको छ । पहिले डोकोमा बोकेर बजार पु¥याउनुपर्ने सुन्तला अहिले व्यापारी घरआँगनमै सवारीसाधन लिएर लिन आउँछन् । बोटबाट टिप्नासाथ बुटवल, पोखरा हुँदै झापासम्मका बजारमा सुन्तला पठाउने गरिएको बस्याल बताउँछन् ।

यस वर्ष ठूलो एकादशीलाई लक्षित गरी उनले एक लाख रूपैयाँ बराबरको सुन्तला बिक्री गरिसकेका छन् । अझै करिब तीन लाख रूपैयाँ बराबरको सुन्तला बिक्री हुने उनको अनुमान छ । फल बिक्रीमा मात्र सीमित नभई उनले आफैँ बिरुवा उत्पादन गरेर पनि आम्दानी गर्दै आएका छन् । घरमै फल लागेको बोटबाट छनोट गरी तयार पारिएका बिरुवा विभिन्न जिल्लामा बिक्री हुन्छन् । बिरुवा बिक्रीबाट मात्रै पाँच लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।
बस्यालको सफलतामा कृषि प्राविधिक सहयोगको पनि महत्वपूर्ण भूमिका छ । सुन्तला जात फलफूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाबाट प्राप्त प्राविधिक ज्ञान तथा सहयोगले खेतीलाई व्यावसायिक बनाउन सहज भएको उनको भनाइ छ ।
“खेती हो भनेर मात्र हुँदैन, मलजलदेखि उत्पादन र उत्पादकत्व वृद्धि गर्न मेहनत र लगाव चाहिन्छ,” बस्याल भन्छन्, “प्राविधिक ज्ञान र सहयोग पाएपछि खेतीलाई व्यवस्थित बनाउन सकियो ।”
सुन्तला जात फलफूल विकास केन्द्रका सूचना अधिकारी सुदीप देवकोटा पनि बस्याललाई सफल व्यावसायिक किसान बनाउन कार्यालयका प्राविधिकको सहयोगसँगै उनको आफ्नै मेहनत र सक्रियता महत्वपूर्ण रहेको बताउँछन् ।
“कार्यालयका प्राविधिकले गरेको मेहनतअनुसार किसान बस्यालले पनि काम गर्नुभयो । त्यसैले उहाँ सफल हुनुभयो । अहिले उहाँको सफलताले गाउँका अरू किसानलाई पनि व्यावसायिक सुन्तला खेतीमा आकर्षित गरेको छ,” देवकोटाले भने ।
उनका अनुसार यम्घा क्षेत्रको माटो सुन्तला खेतीका लागि उपयुक्त छ । सुन्तला खेतीलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तरमा परिवर्तन ल्याउन सकिने उनको भनाइ छ ।
आर्थिक सफलताको यो यात्रासँगै बस्यालको जीवनमा एउटा गहिरो वियोग पनि जोडिएको छ । २०७८ साल असोजमा कोभिड–१९ का कारण उनले जीवनसंगिनी कमला देवीलाई गुमाए । श्रीमतीको सम्झनालाई जीवन्त राख्न उनले आफ्नै फलफूल बगैँचाको नाम ‘कमला देवी फलफूल बगैँचा’ राखेका छन् । बगैँचामा फल्ने प्रत्येक सुन्तलासँगै श्रीमतीको सम्झना जोडिएको उनी बताउँछन् ।
अब सुन्तलासँगै कागती खेतीलाई पनि व्यावसायिक बनाउने उनको योजना छ । बुढेसकालमा अरूको भर पर्नु नपरोस् भन्ने उद्देश्यले फलफूल खेतीलाई निरन्तरता दिने उनको सोच छ । यही खेतीलाई उनी बुढेसकालको पेन्सनका रूपमा लिन्छन् ।
“विदेशमा रोजगारी गरेर पैसा कमाउन सकिएला, तर विदेशी रोजगारीले पेन्सन दिँदैन । आफ्नै माटोमा मेहनत गरेर खेती गर्न सकियो भने यही माटोले बुढेसकालमा पनि आम्दानी दिन्छ,” बस्याल भन्छन् ।
दस वटा बिरुवाबाट सुरु भएको उनको यात्रा अहिले सात रोपनीको बगैँचा, लाखौँको कारोबार र गाउँकै कृषि पहिचानसँग जोडिएको छ । बस्यालका लागि सुन्तला खेती आम्दानीको माध्यम मात्र बनेको छैन, जीवनको परिचय बदल्ने आधारसमेत बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?