© 2026
रोल्पा
रोल्पाका दुर्गम बस्तीहरूलाई जोड्ने उदेश्यका साथ जिल्लामा तीन वटा पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । लामो समयदेखि खोलामा पुल नहुँदा वर्षायाममा आवतजावतमा समस्या झेल्दै आएका स्थानीयका लागि यी पुल निर्माण योजनाले विकासको नयाँ आशा जगाएको छ । रोल्पामा विकास नभएको भन्दै आलोचना भइरहेका बेला जिल्लाका विभिन्न स्थानमा सडक तथा पूर्वाधार निर्माणका कामले गति लिइरहेको पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य वर्षमान पुनले बताएका छन् । विगतमा सडक पुगे पनि पुल नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने दुर्गम क्षेत्रहरूमा अहिले क्रमशः पूर्वाधार विस्तार भइरहेको उनको भनाइ छ ।
शहीद मार्गअन्तर्गत दुईखोली–चुनबाङ खण्डको पाछाबाङ खोला, माडी गाउँपालिका–४ र ५ जोड्ने तार्केबाङ खोला तथा लुङ्ग्री गाउँपालिका–१ र ५ जोड्ने लालुबाङ–बुज्याङ खोलामा पक्की मोटरेबल पुल निर्माण हुन लागेको हो । तीनवटै पुलको पुनले मंगलबार, बुधबार र शुक्रबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा उनले विकास निर्माण एकैपटक सम्पन्न हुने विषय नभएको उल्लेख गर्दै योजनाबद्ध रूपमा पूर्वाधार विस्तार गर्दै जानुपर्ने बताए । रोल्पामा विकास नभएको भन्ने धारणा वास्तविकताभन्दा फरक रहेको भन्दै विगतका कठिन भौगोलिक अवस्था र अहिले भइरहेका निर्माण कार्यलाई तुलना गर्नुपर्ने उनको भनाइ थियो ।
पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको र बहुवर्षीय ठेक्का स्वीकृत भइसकेकाले निर्धारित समयभित्र काम सम्पन्न हुने विश्वास उनले व्यक्त गरे । निर्माण कार्यको गुणस्तर र समयसीमाबारे नागरिक, स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलहरूले निरन्तर खबरदारी गर्नुपर्नेमा समेत पुनले जोड दिए ।
तीन पुलका लागि ३० करोड दुई लाख रूपैयाँ बजेट
तीनवटा पुल निर्माणका लागि सरकारले कुल ३० करोड दुई लाख रूपैयाँ बजेट सुनिश्चित गरेको छ । पाछाबाङ खोला मोटरेबल पुल निर्माणका लागि बहुवर्षीय स्रोत सहमतिअनुसार १० करोड रूपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, माडी गाउँपालिका–४ र ५ जोड्ने तार्केबाङ खोला पुल निर्माणका लागि ११ करोड ९७ लाख रूपैयाँ र लुङ्ग्री गाउँपालिका–१ र ५ जोड्ने लालुबाङ–बुज्याङ खोला पुल निर्माणका लागि आठ करोड पाँच लाख रूपैयाँ छुट्याइएको छ । चालु आर्थिक वर्ष २०८३÷८४ मा बजेट सुनिश्चित भएसँगै तीनवटै पुलको निर्माण प्रक्रिया अघि बढेको हो ।
पुनका अनुसार पुल निर्माणले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउनुका साथै कृषि उत्पादनको ढुवानी, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य सेवा र अन्य आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ । विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
रोल्पाका कतिपय गाउँ तथा बस्तीमा विगतमा सडकको पहुँच सीमित थियो । सडक पुगेका स्थानमा पनि पुल नहुँदा यातायात सेवा नियमित हुन सकेको थिएन । विभिन्न गाउँमा आयोजित कार्यक्रमहरूमा सहभागी हुन तथा समुदायसँग भेटघाट गर्नसमेत कठिन हुने अवस्था रहेको पुनले स्मरण गरे । अहिले सडक विस्तारसँगै पुल निर्माणलाई प्राथमिकतामा राखेर दुर्गम बस्तीहरूलाई सहज यातायातको पहुँचमा ल्याउने प्रयास भइरहेको उनले बताए । लुङ्ग्री गाउँपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा पुल निर्माणका योजनाहरू अघि बढाइएको र स्थानीय तह तथा समुदायको सहभागिता पनि आवश्यक रहेको उनको भनाइ छ ।
पुल निर्माणका लागि बजेटको विषयमा कुनै दुविधा नरहेको उल्लेख गर्दै पुनले संघीय तथा प्रदेश सरकारका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी आफूले लिने बताए । विकास निर्माणमा स्थानीय सरकार र समुदायको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भन्दै योजनाको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनले धारणा राखे ।
पुनले विकास निर्माणका योजनामा ठेकेदारहरूको लापरवाही र समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण समस्या उत्पन्न हुने गरेको बताए । निर्माणमा ढिलाइ हुँदा त्यसको आलोचना जनप्रतिनिधिले खेप्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले ठेक्का सम्झौताअनुसार काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने बताए ।
आफू अर्थमन्त्री हुँदा रोल्पामा ३५ वटा पुल निर्माणका योजनाहरू अघि बढाएको स्मरण गर्दै पुनले राजनीतिक अस्थिरताका कारण सरकार परिवर्तन हुँदा कतिपय योजनाले निरन्तरता पाउन नसकेको बताए ।
सरकार परिवर्तन र बजेट कटौतीका कारण विकासका योजनाहरू प्रभावित हुने गरेको उनको भनाइ थियो । यद्यपि, रोल्पाको विकासका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै पुनले जिल्लालाई अन्य क्षेत्रको तुलनामा फरक प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताए । आफ्नो गृहजिल्लालाई रोजगारीमुखी, उत्पादनमुखी र विकासमुखी बनाउने लक्ष्यसहित पूर्वाधार निर्माण, आर्थिक गतिविधि विस्तार तथा स्थानीय आवश्यकतामा आधारित योजनाहरूलाई प्राथमिकता दिने उनले बताए । रोल्पामा विकासको गति बढाउन सडक, पुल तथा अन्य पूर्वाधार निर्माणसँगै योजनाको प्रभावकारी कार्यान्वयन आवश्यक देखिन्छ । बजेट सुनिश्चित भएका तीन पुल समयमै निर्माण सम्पन्न भए दुर्गम बस्तीका नागरिकको आवागमन सहज हुनुका साथै जिल्लाको समग्र विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।