Butwal Today

अस्पतालमा पार्टीको भेला, अतिथि सभामुख

रास्वपाका नेता–कार्यकर्ताको भेलामा सहभागी भएर क्षेत्रीय समस्या सुने, पार्टीको कार्यक्रम नभएको सभामुखको स्पष्टीकरण
१३ मंसिर २०८३, आइतबार
अ
अ+
अ-

बुटवल ।
प्रतिनिधिसभाको सभामुख पद राजनीतिक दलभन्दा माथि र निष्पक्ष भूमिकामा रहनुपर्ने संवैधानिक जिम्मेवारी हो । सभामुखले संसद्को नेतृत्व गर्दा मात्र होइन, सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि आफ्नो पदको गरिमा र निष्पक्षता कायम राख्नुपर्ने हुन्छ । तर शुक्रबार बुटवलस्थित लायन्स आँखा अस्पतालमा भएको एउटा कार्यक्रमले सभामुखको राजनीतिक निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा आयोजित भेलामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल सहभागी भए । पार्टीका नगर, प्रदेश र संघीय तहका नेता तथा कार्यकर्ताले आफ्ना क्षेत्रका समस्या राखे भने सभामुख अर्यालले तिनको सम्बोधनका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन रास्वपाका नगर सचिव बाबुराम अर्यालले गरेका थिए भने नगर अध्यक्ष राजेश्वर पाण्डेले सभामुखलाई स्वागत गर्दै क्षेत्रीय समस्या प्रस्तुत गरेका थिए ।
पार्टीको ब्यानर नराखिएको भए पनि कार्यक्रमको स्वरूप र सहभागीको पहिचानले त्यसलाई रास्वपाको राजनीतिक भेला भएको स्पष्ट पाथ्र्यो । सभामुख अर्यालले भने आफू साझा भूमिकामा रहेकाले जनताका समस्या र सुझाव राख्न आग्रह गर्दै आफू पार्टीको मात्र नभई सबैको प्रतिनिधि भएको सन्देश दिन खोजे ।
तर सभामुखको पदको मर्यादा र निष्पक्षताको प्रश्न उनको भनाइमा मात्र सीमित रहेन । पार्टीका नेताले अध्यक्षता गरेको, पार्टीकै नेताले सञ्चालन गरेको र पार्टीका नेता–कार्यकर्ताले राजनीतिक तथा क्षेत्रीय समस्या राखेको कार्यक्रममा सभामुखको सहभागिताले उनको संवैधानिक भूमिकामाथि स्वाभाविक प्रश्न उठाएको छ ।
अस्पताल परिसरमा एउटै समयमा दुईवटा कार्यक्रम आयोजना गरिएका थिए । लायन्स क्लबको अगुवाइमा करिब ३० वर्षदेखि सञ्चालन हुँदै आएको लायन्स आँखा अस्पतालले आफ्नै संस्थाका सदस्यसमेत रहेका सभामुख अर्याललाई सम्मान गर्ने कार्यक्रम छुट्टै सानो हलमा राखेको थियो । त्यसै परिसरको अर्को ठूलो हलमा रास्वपाका नेता–कार्यकर्ताको भेला आयोजना गरिएको थियो । अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीको भीडसमेत रहेको अवस्थामा ठूलो हल भने पार्टीका नेता–कार्यकर्ताले भरिएको थियो ।
रास्वपा प्रदेश सदस्य तथा उद्योग विभाग प्रमुख माया खनालले अस्पतालको कार्यक्रम र पार्टीका नेता–कार्यकर्ताको भेला अलग–अलग रहेको बताइन् । पार्टीका वडा, नगर र प्रदेश तहमा जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई आफ्नो क्षेत्रका समस्या राख्ने उद्देश्यले भेला गरिएको उनको भनाइ थियो ।
सभामुख अर्यालले स्थानीय तहलाई सहज रूपमा काम गर्न सक्ने र जनतालाई प्रभावकारी सेवा दिन सक्ने खालका कानुन निर्माणमा आफूले भूमिका खेल्ने बताए । भूगोलअनुकूल र प्रविधिमैत्री कानुन निर्माणमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउँदै उनले विकासका काममा समय लाग्ने भएकाले तत्काल सबै समस्या समाधान हुने अपेक्षा नगर्न पनि आग्रह गरे ।
उनले जनप्रतिनिधिलाई जिम्मेवार बनाउन नागरिक स्वयं जागरुक हुनुपर्ने बताए । सांसदहरूलाई तीन–तीन महिनामा उनीहरूले गरेका कामबारे प्रश्न गर्न र जनताका समस्या संसद्मा उठाउन खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।
‘सांसद भनेका तपाईंहरूले जिम्मेवारी दिएर काम गर्न पठाएका व्यक्ति हुन् । उनीहरूलाई जिम्मेवार बनाउने काम पनि तपाईंहरूकै हो,’ उनले भने, ‘एक–एक महिना, तीन–तीन महिना वा छ–छ महिनामा के काम गर्नुभयो भनेर सोध्नुपर्छ । निर्वाचनको चार वर्षपछि मात्र हिसाब खोजेर हुँदैन ।’
सभामुख अर्यालले वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि उपलब्ध स्रोतसाधन र संरचनागत समस्याका कारण सबै काम तत्काल सम्भव नहुने बताए । आफ्नै सरकारी निवासमा खानेपानीको समस्या रहेको उदाहरण दिँदै उनले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको कामसमेत पटक–पटक म्याद थप्दा पनि सम्पन्न हुन नसकेको उल्लेख गरे । ‘मेरै सरकारी क्वार्टरमा पानी जोड्न नसकेर ट्यांकरको पानी खाइरहेको छु । सरकार युवाहरूको हो, जोडिन्छ कि भन्ने आशा गरेको छु, तर अहिलेसम्म जोडिएको छैन,’ उनले भने, ‘सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद् भवनको म्याद सातौँ पटक थपिएको छ । दशौँ पटक निरीक्षण गर्दा पनि काम सम्पन्न भएको छैन । यसले हाम्रो अवस्था देखाउँछ ।’
उनले नयाँ जनमत प्राप्त गरेको सरकारले सबै समस्या तत्काल समाधान गर्न नसक्ने भन्दै जनतामाझ वास्तविक अवस्था स्पष्ट पार्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । सरकारप्रति नागरिकको अपेक्षा र उपलब्ध स्रोतसाधनबिचको अन्तर बुझाउनुपर्ने उनको भनाइ थियो ।
वर्तमान राजनीतिक परिवर्तनले नागरिकमा ठूलो आशा जगाएको उल्लेख गर्दै उनले जनप्रतिनिधि, मन्त्री, कानुन निर्माण गर्ने निकाय र न्यायालय सबै इमानदार भए मुलुकलाई समृद्ध बनाउन धेरै समय नलाग्ने दाबी गरे । विकास निर्माणका काममा न्यायिक प्रक्रियाले अनावश्यक अवरोध सिर्जना गर्न नहुने उनको भनाइ थियो ।
कार्यक्रममा रास्वपा बुटवल नगर अध्यक्ष राजेश्वर पाण्डेले बुटवल क्षेत्रमा रहेका अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या, स्वास्थ्य, शिक्षा तथा खानेपानीका विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । बुटवल क्षेत्रमा झन्डै १९ हजार अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासी रहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि नीतिगत पहल गर्न आग्रह गरे ।
सभामुख अर्यालले स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधिलाई नागरिकका समस्या निरन्तर राख्न पनि आग्रह गरे । रूपन्देही मात्र नभई देशका ७५३ स्थानीय तह र ७७ जिल्लाका विकास, स्वास्थ्य, शिक्षा, रोजगारी तथा सुशासनका समस्या समाधान गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको उनले बताए ।


अस्पतालको कार्यक्रममा छुट्टै सम्बोधन
अस्पतालले आयोजना गरेको सम्मान कार्यक्रममा भने सभामुख अर्यालले लायन्स क्लब र अस्पतालको योगदानको प्रशंसा गरे । अस्पतालका पूर्वअध्यक्ष जीवन वझाले सभामुखको उपस्थितिले संस्थाको प्रतिष्ठा बढेको भन्दै प्रशंसा गरेका थिए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक उपाध्याय, अध्यक्ष महेश श्रेष्ठ तथा व्यवस्थापन समिति सदस्य दिनेशप्रसाद प्रधानलगायतले अस्पतालका योजना र समस्याबारे जानकारी गराएका थिए ।
सभामुख अर्यालले आफू लायन्सको सदस्यसमेत भएकाले अस्पतालको प्रगतिप्रति खुसी लागेको बताए । उनले अस्पतालका समस्या समाधानका लागि आवश्यक कानुनी सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै सँगै रहेका सांसदहरूलाई समन्वय गर्न आग्रह गरे ।
शनिबार पाल्पामा हुने कार्यक्रममा सहभागी हुन आएको समयमा लायन्स क्लबकै अगुवाइमा सञ्चालित अस्पतालमा पुग्ने अवसर मिलेको भन्दै उनले खुसी व्यक्त गरे । अस्पतालका पूर्वसभामुख सुवास नेम्वाङबाट उद्घाटन भएको प्रसंग स्मरण गर्दै उनले लायन्स र स्थानीय अगुवाहरूको योगदानको प्रशंसा गरे । अस्पताल पुगेपछि उनले आफ्नै आँखासमेत जाँच गराएका थिए ।
तर अस्पतालको सम्मान कार्यक्रमसँगै त्यही परिसरमा भएको पार्टीको भेलामा सभामुखको सहभागिता नै शुक्रबारको घटनाको सबैभन्दा पेचिलो पक्ष बनेको छ । सभामुख कुनै राजनीतिक दलको सदस्य वा नेता भएर नभई प्रतिनिधिसभाको नेतृत्व गर्ने संवैधानिक पदमा रहेर सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् । पार्टीको ब्यानर नराख्दैमा पार्टीका नेता–कार्यकर्ताको भेलाको प्रकृति बदलिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?