© 2026
अर्घाखाँची ।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफूलाई खरानी बनाउने उद्देश्यले भट्टीमा हाले पनि आफू झन् खारिएर निस्किएको बताएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षभन्दा बढी समय जेल जीवन बिताएर गत कात्तिक २६ गते रिहा भएका रायमाझी शुक्रबार आफ्नो गृह जिल्ला अर्घाखाँची आइपुगेका हुन्। गृह जिल्ला आगमनका क्रममा सन्धिखर्क नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा संक्षिप्त कुराकानी गर्दै उनले आफूविरुद्ध विभिन्न बहानामा षड्यन्त्र गरिएको र त्यसकै कारण लामो समय जेल बस्नुपरेको आरोप लगाए।
लामो समयपछि गृह जिल्लामा फर्किएका रायमाझीलाई जिल्लाका विभिन्न स्थानमा समर्थक तथा शुभेच्छुकले स्वागत गर्दै भेटघाट गरेका थिए। जिल्लाको राजनीतिक वृत्तमा समेत उनको आगमनलाई चासोका साथ हेरिएको छ।
सन्धिखर्कस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालय रहेको मदन–आश्रित स्मृति भवनमा एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसाललगायत नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए। पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको उपस्थितिमा स्वागत तथा भेटघाट गरिएको थियो।
त्यसपछि सन्धिखर्क नगरपालिकामा पनि रायमाझीको भव्य स्वागत गरिएको थियो। नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र, निर्माण व्यवसायी संघ अर्घाखाँचीका सहअध्यक्ष कवि खनाल, वरिष्ठ निर्माण व्यवसायी नारायण बन्जाडे लगायतले उनलाई स्वागत गरेका थिए।
गृह जिल्ला फर्किएका रायमाझीले अर्घाखाँचीको विकास निर्माणमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्। आफू सक्रिय राजनीतिमा रहँदा जिल्लाको समग्र विकासका लागि अघि बढाउन खोजिएका विभिन्न योजना अधुरै रहेको उनको भनाइ छ।
आफ्नो पहलमा सुरु भएका र निरन्तरता दिनुपर्ने विकास आयोजनामा पछिल्लो समय पर्याप्त बजेट विनियोजन हुन नसकेको उनले बताए। कतिपय योजनामा सुरुमा विनियोजन भएको भन्दा निकै कम रकम आएको, कतिपय योजनामा काम नै हुन नसकेको र केही योजनाका ठेक्का तोडिएका कारण जिल्लाका महत्त्वपूर्ण आयोजना अपेक्षाअनुसार अगाडि बढ्न नसकेको उनको भनाइ छ।
रायमाझीले विशेषगरी अर्घा भगवती विमानस्थल, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, मदन भण्डारी मार्ग र अर्घाखाँची अस्पतालको विकास तथा भवन निर्माणका कामले अपेक्षित गति लिन नसकेको विषय उठाएका छन्।
अर्घा भगवती विमानस्थल निर्माणको काम आफू जेल परेपछि अगाडि बढ्न नसकेको उनको दाबी छ। जिल्लाको पर्यटन प्रवद्र्धन र आर्थिक विकाससँग जोडिएको विमानस्थल निर्माणको योजना समयमै अघि बढ्न नसक्दा जिल्लावासीको अपेक्षा पूरा हुन नसकेको उनले बताए।
त्यस्तै, जिल्लाको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम पनि आफूले सोचेअनुसार अगाडि बढ्न नसकेको उनको भनाइ छ। यो सडकलाई अर्घाखाँचीको मात्र नभई लुम्बिनी प्रदेश र समग्र पहाडी क्षेत्रको आर्थिक तथा पर्यटकीय विकाससँग जोडिएको महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ।
अर्घाखाँची अस्पतालको विकास तथा नयाँ भवन निर्माणको कामले समेत अपेक्षित गति लिन नसकेको उनले बताए। यद्यपि, आफू जेलमा रहँदा पनि अस्पतालको भवन निर्माणलाई अगाडि बढाउन पहल गरेको उनले जानकारी दिए। जेलबाटै विभिन्न माध्यमबाट समन्वय र पहल गरेपछि सन्धिखर्कस्थित अर्घाखाँची अस्पतालको भवन निर्माणको काम अघि बढेको उनको दाबी छ।
तीन वर्षभन्दा बढी समय जेल जीवन बिताएर रिहा भएपछि गृह जिल्ला आएका रायमाझीको स्वागतमा देखिएको सहभागिताले जिल्लाको राजनीतिक वातावरणमा नयाँ चासो थपेको छ। एमालेका नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको स्वागत कार्यक्रमले उनको राजनीतिक यात्रालाई फेरि कसरी अगाडि बढाउँछन् भन्ने विषयमा पनि चर्चा सुरु भएको छ।
अर्घाखाँचीको विकास निर्माणमा आफ्नो चासो र प्रतिबद्धता अझै कायम रहेको बताउँदै उनले आफूले अघि बढाउन खोजेका योजनालाई पूरा गर्ने आवश्यकता औँल्याएका छन्।
जिल्लामा सुरु भएका ठूला विकास आयोजनालाई बजेट अभाव, ठेक्का व्यवस्थापन र राजनीतिक नेतृत्वको निरन्तरताजस्ता कारणले अलपत्र पर्न नदिन सबै पक्षको ध्यान जानुपर्ने देखिन्छ। अर्घा भगवती विमानस्थल, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक र अर्घाखाँची अस्पतालको भवन निर्माणजस्ता आयोजना जिल्लावासीका दीर्घकालीन अपेक्षासँग जोडिएका छन्।
लामो जेल जीवनपछि गृह जिल्ला फर्किएका रायमाझीले एकातिर आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाएका छन् भने अर्कोतिर जिल्लाका अधुरा विकास आयोजनाको विषय उठाएर विकास निर्माणप्रतिको आफ्नो चासो सार्वजनिक गरेका छन्। उनको आगमनसँगै अर्घाखाँचीको राजनीतिक गतिविधि र विकासका अधुरा योजनाले आगामी दिनमा कस्तो गति लिन्छन् भन्ने चासो बढेको छ।