Butwal Today

बालविवाह अन्त्यका लागि हातेमालो गर्नुपर्ने

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

दाङ ।
नेपालमा बालविवाह, कम उमेरमा हुने विवाह तथा जबर्जस्ती विवाह अन्त्य गर्ने उद्देश्यले मंङसिर ११ गते अर्थात नोभेम्बर २७ मा पहिलोपटक अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ सेप्टेम्बर ४ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष नोभेम्बर २७ लाई ‘बाल, कम उमेर तथा जबर्जस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’का रूपमा मनाउने निर्णय गरेको हो ।
बालविवाह र जबर्जस्ती विवाहलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा लिइन्छ । यस्ता विवाहले विशेषगरी बालिका तथा किशोरीको शिक्षा, स्वास्थ्य, आत्मनिर्णय, आर्थिक अवसर र सुरक्षित जीवनमा प्रत्यक्ष असर पार्ने गरेको छ । कानुनी प्रतिबन्ध र जनचेतनामूलक अभियान सञ्चालन भइरहे पनि विश्वका विभिन्न देशमा बालविवाहको समस्या अझै कायम छ ।
नेपालमा पनि बालविवाह सामाजिक चुनौतीका रूपमा रहेको छ । कानुनले विवाहका लागि २० वर्ष उमेर पूरा हुनुपर्ने व्यवस्था गरे पनि विभिन्न समुदायमा बालविवाह र कम उमेरमा विवाह हुने गरेको छ । सोही कुराको रोकथामका लागि दाङको गढवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बिभिन्न कार्यक्रम संचालन गरिएका छन् । कतिपय अवस्थामा प्रेम सम्बन्ध, पारिवारिक दबाब, सामाजिक प्रतिष्ठा र आर्थिक अवस्थाका कारण किशोरकिशोरी विवाह गर्ने गरेको पाइन्छ ।
बालविवाह रोक्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने सरोकारवालाहरूको धारणा छ । विद्यालय तहदेखि नै बालविवाहका असरबारे शिक्षा दिनु, किशोरीलाई आत्मनिर्भर बनाउनु, परिवार तथा समुदायमा जनचेतना फैलाउनु र बालविवाहका घटनामा प्रभावकारी कानुनी कारबाही गर्नु आवश्यक छ । क्लबमा २५ जना सदस्य आबद्ध थिए । गढवा गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय चैनपुरमा २०७९ साउन २४ गते बाल क्लब गठन गरिएको थियो । विद्यालयका ८ देखि १० कक्षामा अध्ययनरत २५ जना बालबालिका आबद्ध भएका छन् । बाल क्लबमा बालबालिकालाई बालअधिकार, बालविवाहका असर र लैङ्गिक समानताबारे जानकारी गराउँदै आएका छन् ।
विद्यालय तथा समुदायमा बालविवाहले शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने असरबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । किशोरकिशोरीलाई बालविवाहको कानुनी व्यवस्था र यसबाट हुने समस्याबारे जानकारी दिने गरिएको बालक्लबकी अध्यक्ष सरस्वती परियारले बताइन् ।
मञ्चले किशोरकिशोरीलाई तालिम तथा अभिमुखीकरणमार्फत नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि र आफ्ना समस्या खुलेर राख्न सक्ने क्षमता विकासमा सहयोग गरेको छ । बाल क्लबका सदस्यले विद्यालय र समुदायमा सिकेका कुरा अरूलाई पनि सिकाउने गरेको अध्यक्ष परियारले बताइन् ।
विद्यालयमा अध्ययनरत किशोरकिशोरीमध्ये बालविवाहको जोखिममा रहेका बालबालिकालाई पहिचान गर्न र रोकथामका लागि बाल क्लबमार्फत निगरानी बढाउने काम गरिएको उनको भनाइ छ । यसले विद्यालय छाड्ने र नियमित उपस्थित नहुने विद्यार्थीको समस्या न्यूनीकरणमा पनि सहयोग पुगेको विद्यालयका प्रअ हिमालप्रकाश अभिकारीले बताए ।
दाङमा पनि बालविवाह सामाजिक चुनौतीका रूपमा रहेको छ । कानुनले विवाहका लागि २० वर्ष उमेर पूरा हुनुपर्ने व्यवस्था गरे पनि विभिन्न समुदायमा बालविवाह र कम उमेरमा विवाह हुने अभ्यास पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । कतिपय अवस्थामा प्रेम सम्बन्ध, पारिवारिक दबाब, सामाजिक प्रतिष्ठा र आर्थिक अवस्थाका कारण किशोरकिशोरी विवाहमा पुग्ने गरेका छन् । बालविवाह रोक्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने मुक्त कमलरी बिकास मंचका कार्यक्रम संयोजक ज्ञानु थापाको धारणा छ ।
विद्यालयमा अध्ययनरत किशोरकिशोरीमध्ये बालविवाहको जोखिममा रहेका बालबालिकालाई पहिचान गर्न र रोकथामका लागि बाल क्लबमार्फत निगरानी बढाउने काम गरिएको उनले बताइन् । यसले विद्यालय छाड्ने र नियमित उपस्थित नहुने विद्यार्थीको समस्या न्यूनीकरणमा पनि सहयोग पुगेको छ ।
मञ्चले स्थानीय सरकार, विद्यालय, सामुदायिक पुस्तकालय तथा अन्य सामाजिक संघसंस्थासँग समन्वय गरी बालविवाह न्यूनीकरणका कार्यक्रम सञ्चालन गरेको छ। गढवा गाउँपालिकामा बालविवाह नियन्त्रणका लागि स्थानीय तहसँगको सहकार्यमा अभियान अघि बढाइएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिका १८ वर्ष उमेर नपुग्दै विवाह गर्न बाध्य हुने गरेका छन् । सन् २०२६ सम्ममा विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिका बालविवाहको अनुभवबाट प्रभावित भएको अनुमान छ ।
संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने दिगो विकास लक्ष्य पूरा गर्न सरकार, नागरिक समाज, समुदाय र अन्तर्राष्ट्रिय निकायबीच सहकार्य आवश्यक रहेको जनाएको छ । दिवसका अवसरमा बालबालिकाको अधिकार संरक्षण, गुणस्तरीय शिक्षामा पहुँच, सामाजिक सुरक्षा र प्रभावित बालिका तथा महिलाको पुनःस्थापनामा जोड दिइएको छ । बालविवाह अन्त्य गर्नु केवल विवाह रोक्नु मात्र नभई बालबालिकालाई शिक्षा, सुरक्षा, सम्मान र आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अवसर सुनिश्चित गर्नु हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?