© 2026
सल्यान ।
ग्रामीण बस्तीमा सामान्य उपचारका लागि घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता कम हुँदै गएको छ। सल्यानको कुमाख गाउँपालिका–१, टाट्के डाँडागाउँमा ६१ लाख रुपैयाँभन्दा बढी लगानीमा पक्की सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको हो। नयाँ भवनबाट स्थानीयले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउन थालेपछि उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।
भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्मको दूरीका कारण आधारभूत स्वास्थ्य सेवाको पहुँचमा समेत कठिनाइ भोग्दै आएका ग्रामीण बस्तीका नागरिकलाई लक्षित गरी निर्माण गरिएको स्वास्थ्य इकाइ भवनको प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले शुक्रबार उद्घाटन गरेका हुन्।
स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको यस भवनले वडाका नागरिकलाई सामान्य स्वास्थ्य समस्या देखिँदा टाढाका स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने अवस्थालाई सहज बनाउने अपेक्षा गरिएको छ। विशेषगरी बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई स्थानीय स्तरमै स्वास्थ्य सेवा लिन सहज हुनेछ।
नवनिर्मित भवनको कुल लागत ६१ लाख ७३ हजार ७९८ रुपैयाँ रहेको छ। २०८२ फागुन १० गते निर्माण सम्झौता भई २०८३ असोज ३१ गते निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
भवन उद्घाटन कार्यक्रममा कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकी, उपाध्यक्ष लालबहादुर रावतलगायत जनप्रतिनिधि, कर्मचारी, सफल निर्माण सेवाका सञ्चालक अन्जन राई तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
ग्रामीण बस्तीमा लाखौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएका यस्ता स्वास्थ्य पूर्वाधारको वास्तविक उपलब्धि हासिल गर्न नियमित सञ्चालन, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, आवश्यक औषधि तथा उपकरणको व्यवस्था र गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्ने वक्ताहरूको भनाइ थियो।