© 2026
चन्द्रौटा।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बालबालिकालाई प्रविधिसँगै कला र साहित्यमा पनि जोड्नुपर्ने बताएका छन्। कपिलवस्तुमा शुक्रबारदेखि सुरु भएको ३१औँ राष्ट्रिय बाल साहित्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
बालबालिकामा पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको उनले बताए। पछिल्लो समय बालबालिका पुस्तक पढ्नुभन्दा मोबाइल प्रयोगमा बढी रमाउन थालेको उनको भनाइ छ। प्रविधिको प्रयोग बढ्नु सकारात्मक भए पनि पुस्तक पढ्ने बानी हराउँदै जानु चिन्ताको विषय भएको उनले बताए।
बालबालिकाको विकास पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित हुन नहुने मन्त्री घिमिरेले उल्लेख गरे। उनीहरूलाई साहित्य, कला, संस्कृति लगायतका गतिविधिमा सहभागी गराउनुपर्नेमा उनले जोड दिए।
नेपाल बाल साहित्य समाज, काठमाडौँ र भृकुटी सामुदायिक अध्ययन केन्द्र, कपिलवस्तुको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भारत र दक्षिण कोरियाका साहित्यकार सहभागी छन्।
सम्मेलनमा बालकथा, कविता, निबन्ध, समीक्षा लेखन, चित्रकला र हस्तलेखनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ। देवनागरी हस्तलेखनको प्रशिक्षणसमेत दिइएको छ। विभिन्न विधाका प्रशिक्षणमा ६ सय विद्यार्थी सहभागी भएको स्थानीय मूल आयोजक समितिका संयोजक मिनराज बेल्वासेले जानकारी दिए।
नेपाल बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्यले बाल साहित्यले बालबालिकामा नैतिक चेतना र मानवीय मूल्यको विकास गर्ने बताए। बालबालिकामा पठन संस्कृतिको विकास गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे। उनीहरूभित्र रहेको कल्पना, विचार र सिर्जनात्मक क्षमतालाई उजागर गर्न सम्मेलनले सहयोग पुर्याउने विश्वाससमेत उनले व्यक्त गरे।