© 2026
सिद्धार्थनगर ।
स्वदेशी उत्पादन, स्थानीय कला–संस्कृति र उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको १०औँ लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १७ देखि २८ गतेसम्म भैरहवास्थित अञ्चलपुरममा सञ्चालन हुने महोत्सवको करिब ९० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको अधिकांश तयारी सकिएको जानकारी दिएको हो । संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले स्टल निर्माण, सचिवालय व्यवस्थापन तथा सुरक्षा प्रबन्धलगायतका काम सम्पन्न भइसकेको र मञ्च निर्माणको काम पनि अन्तिम चरणमा रहेको बताए ।
उनका अनुसार महोत्सवमा कुल २५० स्टल रहनेछन् । जसमध्ये शुक्रबारसम्म २४० स्टल बुकिङ भइसकेका छन् । बाँकी स्टल पनि छिट्टै बुकिङ हुने आयोजकको अपेक्षा छ । विभिन्न समिति गठन गरी महोत्सवलाई व्यवस्थित र सफल बनाउन काम भइरहेको आचार्यले बताए ।
यसपटकको महोत्सवले नयाँ उद्यमशीलताको विकास र स्वदेशी उत्पादनको बजारीकरणलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले लुम्बिनी राष्ट्रिय महोत्सव रुपन्देहीको गौरवका रूपमा स्थापित भएको बताए । २०६१ सालदेखि भैरहवामा सुरु भएको महोत्सवले स्वदेशी वस्तुको प्रवद्र्धनसँगै स्थानीय कला, संस्कृति र उत्पादनलाई बजारसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्दै आएको उनले उल्लेख गरे ।
महोत्सवमा तराईदेखि हिमालसम्मका विभिन्न जिल्लाका उत्पादन प्रदर्शन गरिने श्रेष्ठले जानकारी दिए । मुस्ताङको स्याउ, दोलखाको किवीदेखि हुम्ला–जुम्लाका स्थानीय उत्पादन तथा रुपन्देहीका उद्योग प्रतिष्ठानबाट उत्पादित सामग्रीसमेत प्रदर्शनीमा राखिने उनले बताए ।
महोत्सव अवधिभर विभिन्न विषयमा छलफल तथा गोष्ठी आयोजना गरिनुका साथै रचनात्मक र मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
मेला प्रचारप्रसार समितिका संयोजक एवं संघका सदस्य कमल ज्ञवालीले महोत्सवले स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै तिनको व्यवसायीकरण र बजार विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले महोत्सवलाई सफल बनाउन रुपन्देहीवासीको साथ र सहयोग आवश्यक रहेको बताए ।
संघका उपाध्यक्ष रोहितकुमार अग्रवालले महोत्सव सबैको साझा कार्यक्रम भएको उल्लेख गर्दै यसले साना तथा ठूला व्यवसायीका उत्पादनलाई बजारसम्म पु¥याउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।