Butwal Today

सियारीको जनता आधारभूत विद्यालयमा रोटरीद्वारा प्ले स्टेशन स्थापना

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

भैरहवा ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रूपन्देहीको सियारी गाउँपालिका–१ कैलाशनगरस्थित श्री जनता आधारभूत विद्यालयमा बालमैत्री खेलस्थल (प्ले स्टेशन) स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

क्लबको ‘ह्याप्पी स्कूल’ परियोजनाअन्तर्गत स्थापना गरिएको खेलस्थलमा चिप्लेटी, झुला र मेरी गो राउन्डलगायतका खेल सामग्री राखिएका छन् । खेलस्थलले विद्यार्थीको शारीरिक सक्रियता, सिर्जनात्मकता र सामाजिक अन्तरक्रिया बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर डा. शतदल चौधरीले सामुदायिक विद्यालयको वातावरण बालमैत्री बनाउन र बालबालिकाको सर्वाङ्गीण विकासमा रोटरीले गरेको प्रयासको प्रशंसा गरे ।

क्लबका अध्यक्ष गंगाधर भण्डारीले रोटरीको सेवा तत्कालीन आवश्यकता पूरा गर्नमा मात्र सीमित नभई समुदायमा दीर्घकालीन प्रभाव पार्ने उद्देश्यमा केन्द्रित रहेको बताए । उनले क्लबका सदस्यहरूको सहयोगबाट स्थापना गरिएको ‘ह्याप्पी स्कूल फण्ड’मार्फत चालु रोटरी वर्षमा चारवटा विद्यालयमा सेवामूलक परियोजना सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट रोट्र्याक्ट कमिटी चेयर कृष्णप्रसाद पाण्डेले विद्यालयको आवश्यक शौचालय निर्माणका लागि रोटरी डिस्ट्रिक्ट ग्रान्टमार्फत परियोजना अघि बढाउन पहल गर्ने बताए ।

त्यस्तै, रोटेरियन हीरबहादुर शाहले आगामी महिनामा विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव उपेन्द्र यादवले गरेका थिए । कार्यक्रममा रोटरी क्लबका पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक र स्थानीय समुदायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

विद्यालयकी प्रधानाध्यापक लता गौतमले विद्यालयलाई प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै खेल सामग्रीको संरक्षण र उचित प्रयोग गर्ने प्रतिबद्धता जनाइन् ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले शिक्षा, स्वास्थ्य, बालकल्याण र सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबको ‘ह्याप्पी स्कूल’ अभियानले विद्यालयलाई बालबालिकाले खुसीसाथ सिक्ने, खेल्ने र आफ्नो क्षमता विकास गर्ने सुरक्षित तथा बालमैत्री वातावरणका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

खेलस्थल हस्तान्तरणसँगै विद्यालयमा आँखा परीक्षण र शौचालय निर्माणका लागि पनि पहल अघि बढाइएको क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?