© 2026
सल्यान ।
सल्यानको कालिमाटी गाउँपालिकाले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न साझेदारी र सरकारी लगानीमा विभिन्न योजना अघि बढाएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर ७ मा मात्रै सञ्चालनको तयारी गरिएका चारवटा सिँचाइ योजनाबाट करिब २५० घरधुरी किसान लाभान्वित हुने भएका छन् ।
गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बाँकेको कोहलपुरस्थित वातावरण तथा ग्रामीण विकास केन्द्र (एनरुडेक) को कार्यालयमा संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालासँग भेटघाट गरी गाउँपालिकाको वडा नं. ७ मा साझेदारी सिँचाइ योजना सञ्चालन गर्ने विषयमा छलफल समेत गरेका छन् ।
उनका अनुसार संस्था सँगको सहकार्यमा वडा नं. ७ मा सिँचाइ योजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो । यसका लागि पालिकाले समेत अपुग रकम साझेदारी स्वरुप तीन लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष केसीले जानकारी दिए ।
उक्त योजना अन्तर्गत वडा नं. ७ को र्याङमा ३० लाख रुपैयाँ भन्दा बढी लागतको सिँचाइ योजना सञ्चालन हुने छ । खप्परे खोलाको पानी उपयोग गरी सञ्चालन हुने योजनाबाट ८० देखि ९० घरधुरी किसान लाभान्वित हुने वडा अध्यक्ष मित्रलाल रिजालले जानकारी दिए । यस योजनामा उपभोक्ताहरुको समेत लागत सहभागिता रहनेछ ।
योजना अन्तर्गत सिँचाइ नहरको मुहान सुधार गर्नुका साथै पुरानो नहरको मर्मतसम्भार गरिनेछ । हालको सिँचाइ संरचनालाई सुधार गरेर किसानका खेतबारीसम्म पानी पु¥याउने लक्ष्य राखिएको वडा अध्यक्ष रिजालले बताए ।
यस बर्ष वडा नं ७ को र्याङबाहेक अन्य क्षेत्रमा पनि सिँचाइ योजना सञ्चालन गर्ने तयारी रहेको छ । घुइयाबारीमा गाउँपालिकाको जलवायु परिवर्तन स्थानिय अनुकूलन (लक) परियोजना मार्फत योजना सञ्चालन हुने भएको छ । उक्त योजनाबाट करिब ४० घरधुरी किसान लाभान्वित हुनेछन् ।
त्यस्तै प्रदेश सरकारको लगानीमा गंगटेखोली सिँचाइ योजनाबाट करिब ४० घरधुरी र बाघमारे सिँचाइ योजनाबाट करिब ८० घरधुरी किसान लाभान्वित हुने वडा अध्यक्ष रिजालले बताए ।
चारवटै योजना कार्यान्वयनमा आएपछि यस बर्ष वडा नं ७ का करिब २५० घरधुरी किसानले सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ । सिँचाइ सुविधा विस्तार भएपछि वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यता कम हुनुका साथै खेतीयोग्य जमिनको उपयोग, बाली विविधीकरण र कृषि उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।