© 2026
काठमाडौँ ।
पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को घरठेगाना सोधिनन्। सिलाइको काम जान्ने युवकले परिवार पाल्न सक्ने ठानेर उनका आमाबुबाले विवाह गरिदिएका थिए। तर श्रीमान्को मृत्यु भएपछि पम्फाको जीवनमा नागरिकताको समस्या खडा भयो। अहिले उनी मात्र होइन, उनका छोराछोरी र नातिनातिनासमेत नागरिकताविहीन हुने अवस्थामा पुगेका छन्।
नेपालमै जन्मिएकी पम्फाले आफ्नै देशको नागरिकता पाउन सकेकी छैनन्। श्रीमान्को थातथलो थाहा नहुँदा नागरिकता बनाउने प्रक्रिया अघि बढाउन सकेकी छैनन्। उनी भन्छिन्, “हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ।”
१० सन्तानमध्ये जेठी पम्फाको परिवार गरिबीमा थियो। माइती गाउँमा घुम्दै आएका एक युवक सिलाइको काम जान्ने भएकाले आमाबुबाले विवाह गरिदिएका थिए। विवाहअघि युवकको घर कहाँ हो भन्ने विषयमा न माइतीले सोधखोज गरे, न पम्फाले नै चासो राखिन्।
“केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो। न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ,” उनले भनिन्।
विवाहपछि सिलाइ र मजदुरी गर्दै जीवन बिताएकी पम्फा ३५ वर्षअघि रोजगारीका लागि श्रीमान्सँगै काठमाडौँ आएकी थिइन्। श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ। त्यसपछि नागरिकता बनाउने समस्या झन् बढ्यो।
आफ्नो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता र नागरिकता बनाउन सकिएन। अहिले नातिनातिनाको जन्मदर्तासमेत नहुँदा उनीहरू विद्यालय जानबाट वञ्चित छन्।
“आखिर म पनि यही देशको नागरिक हुँ। मेरो जन्मथलो यही देश हो। मेरो नागरिकता किन बन्दैन ? बुझ्नै सकिनँ,” उनले भनिन्।
पम्फाका दुई छोराले नागरिकता नपाउँदा रोजगारी र शिक्षाको अवसर गुमाएका छन्। बैंक खाता खोल्नसमेत पाएका छैनन्। ज्यामी काम गरेर परिवार पाल्दै आएका छोराहरूले नागरिकता नभएकै कारण कामसमेत गुमाउनुपरेको पम्फाले बताइन्।
नागरिकता नहुँदा परिवारको आम्दानी रोकिएको छ भने राज्यबाट प्राप्त हुने विभिन्न सुविधासमेत लिन पाएका छैनन्।
पम्फाले माइतीबाट नागरिकता बनाउने प्रयास पनि गरिन्। तर विवाह गरेर गएकी छोरीको नागरिकता माइतीबाट नबन्ने भन्दै स्थानीय निकायले उनलाई फर्काइदियो। श्रीमान्को घरठेगाना थाहा नभएकाले उनी नागरिकता बनाउने बाटो खोज्न सकेकी छैनन्।
“श्रीमान् बितेपछि नागरिकता बनाउनुपर्छ भनेर माइती गएँ। तर, त्यहाँ श्रीमान्तिरैबाट बनाऊ भन्दै फिर्ता पठाए। श्रीमान्को थातथलो थाहा छैन। अब कहाँ जाऊँ ?” उनले भनिन्।
नागरिकता नहुँदा आफ्नै कमाइसमेत प्रयोग गर्न पाएनन्
सडक बालबालिकाका रूपमा जीवन बिताएका सञ्जय राई किशोरावस्थामै नागरिकताविहीन छन्। आफन्त र पारिवारिक पहिचान नभएकाले उनले नागरिकता बनाउन सकेका छैनन्।
तेक्वान्दो खेलाडी बनेका सञ्जयले विद्यालयमा प्रशिक्षण दिने कामसमेत पाएका छन्। तर नागरिकता नहुँदा काम गरेबापतको पारिश्रमिक लिन समस्या भएको छ।
उनले सञ्चालन गर्दै आएको टिकटक खाता पनि अरूकै नाममा छ। उक्त खाताबाट आएको पाँच लाख रुपैयाँसमेत अरूले राखेको उनको गुनासो छ। मोबाइलको सिमकार्डसमेत अरूकै नाममा लिनुपर्ने बाध्यता छ।
“नागरिकता नहुँदा बैंक खाता खोल्नसमेत नसक्नुजस्तो विडम्बना अरू के हुन्छ ?” उनले प्रश्न गरे।
साथसाथ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँग आफ्नो समस्या राख्दै सञ्जयले प्रश्न गरे, “सांसदज्यू, हाम्रो नागरिकता कहिले बन्छ ?”
सञ्जयजस्तै नागरिकताविहीन छिन् अञ्जु गुरु। उनले बाल्यकाल पशुपति क्षेत्रमा सडकमा बिताइन्। किशोरावस्थामै विवाह गरेकी अञ्जुका श्रीमान् पनि सडक मानव हुन्। दुवैसँग नागरिकता छैन।
“नागरिकता भए रोजगारी पाउने थिएँ। भविष्य उज्ज्वल हुन्थ्यो। अहिले अँध्यारोमा बाँचिरहेका छौँ। न पहिचान छ, न सम्मान नै,” उनले भनिन्।
१५० बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी छैन
साथसाथ संस्थाले हालै सडक बालबालिकाका विषयमा गरेको सर्वेक्षणले जन्मदर्ता र नागरिकताको समस्या गम्भीर रहेको देखाएको छ।
सर्वेक्षणमा सहभागी १५० जना सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी छैन। अधिकांशले जन्मदर्तालाई मौलिक अधिकारभन्दा पनि नागरिकता र रोजगारी पाउने माध्यमका रूपमा बुझ्ने गरेको सर्वेक्षणको निष्कर्ष छ।
सर्वेक्षणअनुसार ६५ प्रतिशत बालबालिकाका अभिभावकसँग आवश्यक कागजात छैनन्। बाबुको पहिचान नखुलेका, बेपत्ता भएका तथा वैवाहिक अवस्थासँग सम्बन्धित घटना ३५ प्रतिशत छन्। त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा कागजात छैन। यसकै कारण उनीहरू औपचारिक रोजगारी र सरकारी सुविधाबाट वञ्चित छन्।
संस्थाले जन्मदर्ता हुन नसकेका घटनालाई विभिन्न समूहमा वर्गीकरण गरेको छ। जसअनुसार सँगै बसोबास गर्ने जोडीका तीन, बहुविवाहका २५, बाबुआमा दुवैको कागजात नभएका ४५, बाबुको कागजात नभएका ६५ र आमाको कागजात नभएका २७ घटना छन्। त्यस्तै, बाबु बेपत्ता भएका ४५ र विदेशी नागरिक बाबुको पहिचानसँग सम्बन्धित पाँच घटना छन्।
नागरिकता वितरण प्रक्रिया सहज बनाउन सांसदको प्रतिबद्धता
कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाईंले नागरिकता पाउनु मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताए।
अभिभावकको पहिचान नखुलेको वा आवश्यक कागजात प्रमाणित हुन नसकेको अवस्थामा नागरिकलाई दैनिक जीवनयापन गर्न सहज हुने गरी अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
नागरिकता वितरण प्रक्रिया सहज बनाउन समितिमा छलफल गरी आवश्यक कार्यविधि तयार गर्न पहल गर्ने उनले बताए।
“नागरिकता जस्तो नैसर्गिक अधिकार पाउनुपर्छ। कानुन छ। यसलाई अझ सरल बनाउन समितिमा पहल गर्नेछौँ,” चौलागाईंले भने।
अधिकारकर्मी तथा साथसाथ संस्थाकी स्रोत कार्यकारी कविता शाहले नागरिकता र जन्मदर्ताका लागि कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताइन्।
कानुनमा व्यवस्था भए पनि व्यावहारिक प्रक्रिया झन्झटिलो हुँदा धेरै नागरिकले सहज रूपमा सेवा पाउन नसकेको उनको भनाइ छ।
“कानुन राम्रो बनेको छ, यद्यपि व्यावहारिक पक्ष कमजोर हुँदा धेरै युवा पुस्ता अनागरिक बन्न बाध्य छन्,” शाहले भनिन्।
नागरिकता र जन्मदर्ता नहुँदा पम्फाका छोराछोरीले रोजगारी र शिक्षाको अवसर गुमाएका छन्। नातिनातिना विद्यालय जान पाएका छैनन्। सञ्जय र अञ्जुजस्ता युवा आफ्नै नाममा बैंक खाता खोल्न र कमाएको पैसा प्रयोग गर्नसमेत असमर्थ छन्।
कानुनमा नागरिकताको अधिकार सुनिश्चित भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा उनीहरू तीन पुस्तासम्म पहिचानविहीन बन्ने जोखिममा छन्।