© 2026
हरेक दिन चिसो बढिरहेको छ । त्यसमाथि भोटेकोशी बाढी प्रभावितहरू पहाडकै लेकमा खुला आकासमुनी बस्न बाध्य छन् । उनीहरू चिसोबाट प्रभावित हुने अवस्था आएको छ । सरकारले टेण्टको सहारामा खुला आकासमुनी जबरजस्ती बस्न बाध्य वनाएको छ । बदलामा उनीहरूलाई आश्वासनको ललिपप मात्रै देखाउने काम भएको छ । सरकार संरक्षित अल्गोरिदमले सवैकुरा ठिकठाक रहेको दावी गरिरेको छ । तर, भोटेकोसी बाढीबाट प्रभावित भएकाहरूको अवस्था हेर्दा लाग्छ– उनीहरूले आफन्त गुमाए, सहारा गुमाए अव उनीहरू आफै गुम्ने अवस्था चिसोबाटै आउन सक्छ । हो अहिले उनीहरू कठ्यागिँ्रदा चिसोमा रात कटाउन विवस छन् । सरकारले विहान र साँझ भात बाहेक केही व्यवस्था गर्न सकेको छैन् । यो अवस्थाले तीन बर्षअघिको जाजरकोट भुकम्प प्रभावितहरू भुकम्प गएको करिब तीनसाता हुँदापनि त्रिपाल र टहरामै बस्न बाध्य भएको घटना सम्झाएको छ । सरकारको फितलो समन्वयका कारण १० जना भुकम्प पीडितको चिसोकै कारण ज्यान गएको थियो । प्रभावितहरूले जाडोको बेलामा पनि टहरा र त्रिपालमै दिनरात बिताउनु परेको भन्दै सरकारप्रति तीब्र असन्तुष्टी जनाएको थिए । अहिले पनि अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन् । सरकारले एकद्वार प्रणालीमार्फत राहत संकलन र बितरणको काम गर्ने भनेपनि राहत वितरणमा ठूलो अन्याय भएको बाढी प्रभावितहरूले गुनासो गरेका छन् । सरकारको ढिलासुस्ती र गैरजिम्मेवारीले बाढी पीडितहरूले सास्ती पाएका छन् । अझैपनि धेरै बाढी प्रभावितहरू टहरामै बस्न बाध्य छन् । जाडो मौसम शुरू भैसकेको छ । यो वर्ष अति प्रभावित क्षेत्रका बाढी पीडितहरू जाडोमा कठ्याग्रिनु पर्ने निश्चितजस्तै छ । सरकारबाट दिने भनिएको अनुदान रकम समयमै उपलब्ध हुन सकेको छैन् । सरकार बाढी प्रभावितहरूको पुनस्र्थापनाको आश्वासन र सपना बाँड्दै छ । यो जाडोमा पनि बाढी पीडितहरूले जाडोमै टहरामा कठ्याङ्ग्रिनुपर्ने निश्चित छ । त्यहाँ अहिले पुनर्निर्माणको भन्दा पनि चिसोबाट बचाउन नागरिकलाई न्यानोका आवश्यकता छ । त्यसतर्फ बालेन नेतृत्वको सरकारले बढी चिन्ता गर्नुपर्ने छ । अर्कोतर्फ देश तथा विदेशबाट बाढी पीडितका लागि आएको सहायता सामाग्री र नगद सरकारी ढुकुटीमा थुप्रिएको अवस्था छ । सरकार यति रकम उठ्यो भन्दैमा जिम्मेवारीबाट उम्किने प्रयासमा छ । उठेको त्यो रकम सरकारले कसरी खर्च गर्छ ? हेर्न बाँकी छ । सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न सकेको छैन् । कतै बाढी पीडितका नाममा आएको सहयोग र सहायता सामाग्री दुरूपयोग हुने चिन्ता बढेको छ ।
बाढी प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम भनेको स्थानीयलाई चिसोबाट बचाउनु हो । त्यहाँ अहिलेपनि सयौं स्थानीय बाढी प्रभावित विरामी परेका छन् । सुत्केरीले पोषण पाएका छैनन, उनीहरूको नाबालक बालबालिकाहरूका लागि औषधीको समेत ब्यवस्था छैन । चिसोले हुने दम, निमोनिया लगायतका रोगका कारण थला परेको अवस्था छ । त्यसतर्फ सरकारको ध्यान जानु जरुरी छ । विशेषज्ञ चिकित्सकको खाँचो देखिएको छ । अर्कोतर्फ सरकारले राहत सामाग्री उपलब्ध गराएपनि साँझ विहानको छाक टार्न र पकाउने सामाग्रीको अभाव भएको भन्दै पीडितहरूले गुनासो गरेका छन् । त्यसतर्फ सरकारको ध्यान पुगेको छैन । तत्कालका लागि त्यहाँ अझैपनि राहतलाई प्रभावकारी बनाउनु जरुरी छ । त्यसपछि बल्ल पुनर्निर्माणको कामलाई गति दिनुपर्दछ । तसर्थ सरकारले बाढी पीडितहरूलाई त्रिपाल र टहरामा बसिरहेकाहरूलाई सुरक्षित बनाउनु जरुरी छ । अधिकांशको घर बगेकोले घर बनिसक्ने अवस्था नभएको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्डका सामूहिक बासस्थानको व्यवस्था गर्नु जरुरी छ । त्यसतर्फ सरकारको ध्यान जाओस् । चिसो बढ्दै गएकोले बाढी पीडितहरूलाई चिसोबाट बचाउने र उपचार सेवा प्रभावकारी बनाउनेतर्फ कमी नहोस् ।