© 2026
लमही ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले राजनीतिक जीवनमा पाउनुपर्ने सबै कुरा प्राप्त गरिसकेको भन्दै अब जीवनभर देशको सेवा गर्ने बताएका छन्।
नेपाली कांग्रेसको देउवा पक्षको नियमित १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनको भालुवाङमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू पाँचपटक प्रधानमन्त्री भइसकेको उल्लेख गरे।
‘मैले पाउने सबै पाइसकेँ। पाँचपटक प्रधानमन्त्री भइसकेँ। त्योभन्दा बढी पाउने के हो? अब मैले देशलाई दिने हो,’ उनले भने, ‘त्यसकारण मेरो जीवनपर्यन्त, बाँचुन्जेल देशको सेवा गर्ने हो। लोकतन्त्रको विकासका लागि लाग्ने हो। देशमा कसैले खोस्न नसक्ने लोकतन्त्रका लागि काम गर्ने हो।’
देउवाले लोकतन्त्रका आधारभूत सिद्धान्त र मूल्य–मान्यतालाई कसैले कमजोर बनाउन नसक्ने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिए। लोकतन्त्रलाई अझ सुदृढ र अगाडि बढाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
सम्बोधनका क्रममा देउवाले जेनजी आन्दोलनका क्रममा आफू जोगिएको प्रसङ्गसमेत उल्लेख गरे। ‘मलाई जेनजीहरूले बचाएको कुरा सत्य हो। झन्डै मारिसकेका थिए। सुरक्षा निकाय नभएको भए हामी बाँच्ने पनि थिएनौँ,’ उनले भने।
अधिवेशनमा कांग्रेस नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायत नेताहरूले सम्बोधन गरेका थिए।
अधिवेशनमा जिल्लास्तरीय नेताहरूले आ–आफ्नो जिल्लाको राजनीतिक अवस्था, सङ्गठन र आगामी रणनीतिबारे मन्तव्यसहित प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रदेश अधिवेशन समिति संयोजक गेहेन्द्र गिरीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो।