© 2026
बुटवल ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको आयोजनामा यही मंसिर ११ गतेदेखि १५ गतेसम्म बुटवलको देवीनगर रङ्गशालामा बुटवल खाना महोत्सव आयोजना हुँदैछ ।
महोत्सवको तयारीका क्रममा सोमबार महोत्सव स्थलको अवलोकन गरिएको छ ।बुटवल खाना महोत्सवमा स्थानीय, राष्ट्रिय तथा विदेशी खानाका विविध परिकारहरू प्रस्तुत हुनेछ ।
आउनुहोस्, सहभागी बनौँ, आफ्नो स्वाद र व्यवसायलाई चिनाऔँ, बुटवल खाना महोत्सवलाई सफल बनाऔँ भन्ने नाराका साथ हुन लागेको महोत्सवको तयारी तीब्र पारिएको छ ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा हुन लागेको खाना महोत्सवमा थारू समुदायको लोकप्रिय परिकार घोगीदेखि गुरुङ मगर समुदायको बटुक, सेलरोटीदेखि कोदो र फापरका परिकारहरूको स्वाद लिन सकिने छ ।
संघका अध्यक्ष माधवकुमार खनालले खाना महोत्सव बुटवलको देवीनगर रङ्गशालामा हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार बुटवल खाना महोत्सवमा विभिन्न ६० बढी खानाका स्टलहरू राख्ने योजना छ । खासगरी थारु, नेवारी, मगर, थकाली, गुरुङ लगायत जातिका खानाका परिकारहरू स्टलमा राखिने र दर्शकले नयाँ नयाँ परिकारका स्वाद चाख्न पाउनेछन् ।
बुटवल खाना महोत्सवको संरक्षकमा बुटवल उपमहानगरपालिका छ भने प्रवद्र्धकमा पर्यटन विकास परिषद लुम्बिनी प्रदेश रहेको छ ।
संघले हरेक बर्ष यसरी नै खाना महोत्सवको आयोजना गर्दै आएको छ ।