© 2026
नवलपरासी ।
भगवान् गौतम बुद्धसँग प्रत्यक्ष ऐतिहासिक तथा धार्मिक सम्बन्ध जोडिएको जिल्लाको सरावल–२ जावा स्थित प्राचीन ककरपत्ता नगर क्षेत्र पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । कोलवृक्ष रहेको प्राचीन ककरपत्ता नगर सरावल गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक भए पनि त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण हुन नसक्दा पर्यटक तथा दर्शनार्थीलाई समस्या भएको स्थानीयले बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका १०० पर्यटकीय गन्तव्यमा समावेश गरेको यस ऐतिहासिक स्थलको विकास र संरक्षणमा गाउँपालिकाले पर्याप्त ध्यान नदिएको स्थानीयको आरोप छ । पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण बुद्धस्थलसम्म पुग्ने बाटोसमेत व्यवस्थित हुन नसक्नु दुःखद भएको उनीहरूको भनाइ छ । स्थानीयका अनुसार विगतका जनप्रतिनिधिले ककरपत्ता नगरको विकास, प्रचारप्रसार र संरक्षणमा जति चासो दिएका थिए, अहिलेका जनप्रतिनिधिले त्यति प्राथमिकता दिएको अनुभूति हुन सकेको छैन । सामान्य पूर्वाधारसमेत निर्माण हुन नसक्दा ऐतिहासिक महत्वको स्थल विस्तारै ओझेलमा पर्दै गएको स्थानीय नरेन्द्र चौधरीले बताएका थिए ।
उनका अनुसार ककरपत्ता नगर केवल एउटा पुरानो बस्ती वा पर्यटकीय क्षेत्र मात्र होइन, भगवान् बुद्धको जीवनदर्शन र उपदेशसँग जोडिएको महत्वपूर्ण ऐतिहासिक स्थल हो । यस्तो महत्वको क्षेत्रलाई गाउँपालिकाले विकासको प्राथमिकतामा राख्नुपर्ने भए पनि अपेक्षित काम हुन नसकेको उनको गुनासो छ । “बुद्धले गृहस्थ सुखको उपदेश दिएको ऐतिहासिक स्थल हो”, उनले भने, “बौद्ध साहित्यमा उल्लेख भएअनुसार भगवान् गौतम बुद्ध आफ्नो धर्मयात्राका क्रममा तत्कालीन कोलीय गणराज्यअन्तर्गत पर्ने ककरपत्त नगर पुगेका थिए ।” त्यहाँका प्रमुख दीर्घजानु (व्यग्घपज्ज) ले बुद्धसमक्ष गृहस्थ जीवन बिताउने मानिसले कसरी सुखी जीवनयापन गर्न सक्छन् र मुक्ति अर्थात् आध्यात्मिक कल्याणको मार्गमा कसरी अघि बढ्न सक्छन् भन्ने विषयमा प्रश्न गरेका थिए ।
दीर्घजानुको प्रश्नको उत्तरमा भगवान् बुद्धले गृहस्थ जीवन बिताउने व्यक्तिका लागि आवश्यक व्यवहारिक तथा आध्यात्मिक शिक्षासहितको धर्मदेशना दिनुभएको बौद्ध साहित्यमा उल्लेख छ । उक्त उपदेशलाई त्रिपिटकको सुत्तपिटक अन्तर्गत अंगुत्तर निकायमा ’दीघजानु सुत्त’ अर्थात् ’व्यग्घपज्ज सुत्त’ का रूपमा उल्लेख गरिएको छ । यस सुत्तमा भगवान् बुद्धले गृहस्थ जीवनमा इहलौकिक सुख प्राप्त गर्न चार आधार र पारलौकिक सुख प्राप्त गर्न चार आधारबारे शिक्षा दिएका थिए । इहलौकिक सुखका लागि उद्योग सम्पदा अर्थात् परिश्रम र सीप, आरक्ष सम्पदा अर्थात् आर्जित सम्पत्तिको संरक्षण, कल्याणमित्रता अर्थात् असल मित्रको संगत र समजीविकता अर्थात् आम्दानीअनुसार सन्तुलित जीवनयापन गर्नुपर्ने शिक्षा बुद्धले दिएका थिए ।
त्यसैगरी पारलौकिक सुखका लागि श्रद्धा, शील, त्याग अर्थात् उदारता र प्रज्ञालाई महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका थिए । यसले गृहस्थ जीवनमा आर्थिक समृद्धि, नैतिक आचरण, सामाजिक सम्बन्ध र आध्यात्मिक विकासलाई सँगसँगै अघि बढाउनुपर्ने बुद्धको सन्देश दिन्छ । ऐतिहासिक महत्वअनुसार विकास हुन सकेन, स्थानीय चौधरीले भने, यति महत्वपूर्ण बुद्धस्थल भए पनि यसको संरक्षण, प्रचार प्रसार र पर्यटकीय पूर्वाधार निर्माणमा अपेक्षित काम हुन सकेको छैन । “भगवान् बुद्धले गृहस्थ जीवन बिताउने मानिसलाई सुखी जीवन कसरी बिताउने र इहलौकिक तथा पारलौकिक सुख कसरी प्राप्त गर्ने भन्ने शिक्षा दिनुभएको स्थल हो । यस्तो ऐतिहासिक महत्वको क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राख्नुपर्ने हो, उनले थपे, तर अहिले यो क्षेत्र ओझेलमा पर्दै गएको छ ।” उनका अनुसार सबैभन्दा पहिले ककरपत्ता नगरसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्न आवश्यक छ । त्यसपछि स्थलको पहिचान, ऐतिहासिक महत्व झल्किने संरचना, सूचना पाटी, पर्यटकका लागि आवश्यक सुविधा र व्यवस्थित संरक्षणको काम अघि बढाउनुपर्ने देखिन्छ । ककरपत्ता नगरको ऐतिहासिक तथा धार्मिक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके बौद्ध धर्मावलम्बी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले ककरपत्ता नगरको विकासका लागि आवश्यकताअनुसार काम गर्न नसकिएको स्वीकार गरेका छन् । उनले आगामी दिनमा ककरपत्ता नगरको संरक्षण तथा विकासलाई प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाउने प्रतिबद्धता जनाए । ककरपत्त नगरको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै त्यहाँ आवश्यक पूर्वाधार निर्माण र संरक्षणका कामलाई अघि बढाइने अध्यक्ष चौधरीको भनाइ छ ।
बुद्धकालीन इतिहास, कोलीय सभ्यता र बौद्ध दर्शनसँग जोडिएको ककरपत्ता नगरको विकास हुन सके सरावल गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्छ । लुम्बिनी प्रदेशको पर्यटकीय गन्तव्यमा सूचीकृत यस क्षेत्रलाई व्यवहारमै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहुँचमार्ग निर्माण, ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार र आधारभूत पर्यटकीय सुविधा विस्तारमा स्थानीय सरकारको ध्यान जान आवश्यक देखिन्छ । भगवान् बुद्धले गृहस्थ जीवनका मानिसलाई सुखी र समृद्ध जीवन जिउने मार्ग सिकाएको ऐतिहासिक स्थल आज आफैँ विकास र संरक्षणको पर्खाइमा छ । यसको ऐतिहासिक महत्वलाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्न सके ककरपत्ता नगर सरावलको मात्र नभई समग्र लुम्बिनी क्षेत्रकै महत्वपूर्ण बौद्ध पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना छ ।