© 2026
काठमाडौँ ।
सरकारले विद्युत् उत्पादन बढाउने लक्ष्यसहित सरकारी स्वामित्वका करिब एक हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) अघि बढाएको छ । तर, साढे १६ हजार मेगावाटभन्दा बढी क्षमताका निजी क्षेत्रका आयोजना वर्षौँदेखि पीपीएको प्रतीक्षामा रहेका बेला सरकारी आयोजनालाई प्राथमिकता दिइएपछि ऊर्जा क्षेत्रमा नीतिगत विभेद र लगानी सुरक्षाको बहस चर्किएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा सरकारी स्वामित्वका जलविद्युत् तथा सौर्य आयोजनासँग पीपीए गर्ने प्रक्रिया अघि बढाएको हो । ऊर्जा मन्त्रालयका अनुसार करिब एक हजार मेगावाट क्षमताका सरकारी आयोजनाको पीपीए गर्ने तयारी गरिएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार यससम्बन्धी तयारी पूरा भइसकेको छ । आगामी साता बस्ने सञ्चालक समितिको बैठकबाट औपचारिक निर्णय गर्ने तयारी छ ।
सरकारी आयोजनाको पीपीए अघि बढिरहँदा निजी क्षेत्रका २८१ आयोजना भने सम्झौताको प्रतीक्षामा छन् । ती आयोजनाको कुल क्षमता साढे १६ हजार मेगावाटभन्दा बढी छ । लामो समयदेखि प्रक्रिया पूरा गरेर बसेका निजी उत्पादकलाई पन्छाउँदै सरकारी आयोजनालाई प्राथमिकता दिइएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले असन्तुष्टि जनाएको छ ।
निजी ऊर्जा उत्पादकहरूको मुख्य आपत्ति सरकारी आयोजनासँग पीपीए गर्नुमा मात्र नभई बीच प्रक्रियामा नयाँ मापदण्ड ल्याएर पुराना आयोजनालाई अन्योलमा पारिएको विषयमा छ । उनीहरूले सर्वेक्षण अनुमति, वातावरणीय अध्ययन, उत्पादन अनुमतिपत्र र प्रसारण प्रणालीमा जोडिने सम्झौतासम्मका प्रक्रियामा ठूलो लगानी गरिसकेको अवस्थामा नियम परिवर्तन गर्न नहुने बताएका छन् ।
इप्पानका उपाध्यक्ष प्रकाश दुलालले निजी क्षेत्रले राज्यका विभिन्न निकायबाट अनुमति लिन र आयोजना विकास गर्न अर्बौँ रूपैयाँ खर्च गरिसकेको बताए । “निजी क्षेत्रले यति धेरै प्रक्रिया पूरा गरेर राज्यलाई रोयल्टी तिर्ने अवस्थामा पुगिसकेको छ,” उनले भने, “ती सबै मेहनत र लगानीलाई शून्य बनाउने गरी फलानोलाई प्राथमिकता दिन्छु र फलानोलाई दिन्नँ भन्न पाइँदैन । यो सरासर विभेदकारी नीति हो ।”