Butwal Today

फोरस्टार सहकारीको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश वितरण

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

मणिग्राम ।

रूपन्देहीको मणिग्रामस्थित फोरस्टार बहुमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभामा पूर्वअध्यक्ष तथा तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिव एवं संस्थाका सल्लाहकार राजकुमार पाण्डेयले फोरस्टार सहकारी जिल्लाकै राम्रो सम्भावना बोकेको संस्था भएको बताए। उनले सहकारीलाई शेयर सदस्यको जीवनस्तर उकास्ने योजनासहित अघि बढाउनुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष शरद भट्टराईले वार्षिक प्रतिवेदन तथा आगामी योजना प्रस्तुत गरेका थिए। सभाले अध्यक्षको प्रतिवेदन, लेखा तथा लेखापरीक्षण प्रतिवेदन र कर्मचारी नियमावली सर्वसम्मतिले पारित गरेको छ। संस्थाले शेयर सदस्यलाई ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णयसमेत गरेको छ।

अध्यक्ष भट्टराईले संस्थाको प्रगतिका लागि शेयर सदस्य संख्या वृद्धि गर्दै अन्य सहकारीसँग मर्जरको नीति अवलम्बन गर्ने बताए।

सभामा उत्कृष्ट विद्यार्थी तथा ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो।

सहकारीका अनुसार संस्थाको शेयर पुँजी तीन करोड, निक्षेप २३ करोड, कर्जा लगानी २५ करोड ७० लाख र जगेडा कोष एक करोड १० लाख रुपैयाँ रहेको छ। संस्थाले ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ भने शेयर सदस्य संख्या एक हजार ६७४ पुगेको व्यवस्थापक अनिता बरालले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?