Butwal Today

संरक्षणदेखि विकाससम्मको सोच, लुम्बिनी विकासका लागि अर्जुन कुर्मीका १० संकल्प

४ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

भैरहवा ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षणमा सक्रिय अर्जुन कुर्मी अब लुम्बिनीको विकास र व्यवस्थापनसँग जोडिएको महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । नेपाल सरकारको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई लुम्बिनी विकास कोषको सदस्यमा मनोनयन गरेको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१, रुपन्देहीकै बासिन्दा कुर्मीको नियुक्तिलाई लुम्बिनीको विकासमा स्थानीय सरोकार र वातावरण संरक्षणका विषयलाई थप प्रभावकारी ढंगले उठाउने अवसरका रुपमा हेरिएको छ ।
कुर्मीको प्राथमिकता केवल भौतिक पूर्वाधार निर्माणमा सीमित छैन । लुम्बिनीको प्राकृतिक वातावरण, जैविक विविधता, स्थानीय समुदायको जीवनस्तर र पर्यटन विकासलाई एकअर्कासँग जोडेर अघि बढाउनुपर्ने उनको दृष्टिकोण छ । विशेषगरी सरसफाइ, हरियाली प्रवद्र्धन, चराचुरुङ्गी संरक्षण र स्थानीय समस्याको समाधानलाई उनले प्राथमिकतामा राखेका छन् ।

संरक्षणसँग जोडिएको विकासको अवधारणा
लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमी पर्यटकको आस्थाको केन्द्र हो । तर यसको महत्व मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्र सीमित छैन । यहाँका पोखरी, तालतलैया, सिमसार क्षेत्र, वनस्पति र चराचुरुङ्गी पनि लुम्बिनीको प्राकृतिक पहिचानका महत्वपूर्ण आधार हुन् ।
कुर्मीले लुम्बिनीलाई धार्मिक पर्यटनको गन्तव्यसँगै स्वच्छ, हरित र चराचुरुङ्गीमैत्री पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै आएका छन् । सारस लगायतका दुर्लभ चराचुरुङ्गीको बासस्थान संरक्षण, सिमसार क्षेत्रको व्यवस्थापन र प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय समुदाय तथा युवालाई सहभागी गराउनु उनको सोचको महत्वपूर्ण पक्ष हो ।
“प्रकृतिको संरक्षणबिनाको विकास दिगो हुन सक्दैन ।” उनले भने “त्यसैले पर्यटकीय पूर्वाधार विस्तार गर्दा लुम्बिनीको मौलिकता, वातावरणीय संवेदनशीलता र विश्व सम्पदा क्षेत्रको महत्वलाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।”स्थानीयलाई लाभ पुग्ने पर्यटन विकासको चाहनालुम्बिनीमा प्रत्येक वर्ष स्वदेशी तथा विदेशी पर्यटक आउने गरे पनि त्यसबाट आसपासका स्थानीय बासिन्दाले अपेक्षित आर्थिक लाभ लिन नसकेको विषय लामो समयदेखि उठ्दै आएको छ । पर्यटक आउने तर छोटो समयमै फर्किने प्रवृत्तिले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला तथा अन्य व्यवसायले पर्याप्त लाभ लिन नसकेको सरोकारवालाको रहदै आएको छ ।
यस अवस्थालाई परिवर्तन गर्न लुम्बिनी आउने पर्यटकको बसाइ अवधि बढाउने र पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष आम्दानी गर्ने वातावरण बनाउनुपर्ने आफ्नो प्राथमिकता रहेको कुर्मीको प्रतिवद्धता रहेको छ ।
स्थानीय युवालाई पर्यटनसम्बन्धी सीप, टुर गाइड, होटल व्यवस्थापन, आतिथ्य सेवा तथा विदेशी भाषाको तालिम उपलब्ध गराउने, स्थानीय उत्पादन र परिकारलाई पर्यटकीय बजारसँग जोड्ने तथा स्थानीय व्यवसायीलाई पर्यटन अर्थतन्त्रको हिस्सा बनाउने विषयमा पहल गर्ने कुर्मीले योजना सुनाए ।
लुम्बिनीको पर्यटनलाई आसपासका बुद्धस्थलसँग जोड्नु पनि अर्को महत्वपूर्ण आवश्यकता हो । कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह, कुदान, गोटिहवा र निग्लिहवा तथा नवलपरासीको रामग्रामलाई एकीकृत पर्यटन सर्किटका रुपमा विकास गर्न सके पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिने सम्भावना रहेको उनि बताउछन् ।

विमानस्थल र अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्ने चुनौतीलुम्बिनीको पर्यटन विकासमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन अर्को महत्वपूर्ण पक्ष हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभावले लुम्बिनीमा अन्तर्राष्ट्रिय पर्यटक आगमन अपेक्षाअनुसार बढ्न सकेको छैन ।
विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण निर्माण, विमानस्थलदेखि लुम्बिनीसम्म सहज यातायात र अन्तर्राष्ट्रिय बजारमा लुम्बिनीको प्रभावकारी प्रचारप्रसार पर्यटन विकासका महत्वपूर्ण आधार हुन् ।
भारत, चीन, श्रीलंका, थाइल्यान्ड, म्यानमारलगायत बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका मुलुकमा लुम्बिनीको प्रचारप्रसार विस्तार गर्ने, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा पर्यटन कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा पनि विकास कोषले सक्रिय भूमिका खेल्नुपर्ने बताउदै कुर्मीले यसको लागि आफ्नो प्रयास सधै रहने जिकिर गरे ।

स्थानीय समस्या र पूर्वाधारमा चासोलुम्बिनीको विकाससँगै आसपासका बस्तीका समस्या समाधान गर्नु पनि उत्तिकै आवश्यक छ । सडक, खानेपानी, ढल निकास, सार्वजनिक शौचालय, फोहोर व्यवस्थापन र सार्वजनिक स्थलको उचित व्यवस्थापन स्थानीयका प्रमुख सरोकार हुन् ।
कुर्मीले यी विषयलाई विकास कोषका योजना तथा सम्बन्धित सरकारी निकायसँगको समन्वयमा उठाउने प्रतिवद्धता जनाए । स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, किसान, युवा तथा सामाजिक संघसंस्थासँग नियमित संवाद गरी आवश्यकता पहिचान गर्ने र योजनामा उनीहरुको सहभागिता सुनिश्चित गर्न आफ्नो भूमिका रहने उनले औल्याउ ।

नयाँ जिम्मेवारीसँगै अवसर र अपेक्षालुम्बिनी विकास कोषको सदस्यका रुपमा कुर्मीका लागि स्थानीयका समस्या र अपेक्षालाई नीतिगत तहसम्म पु¥याउने अवसर प्राप्त भएको छ । तर यो जिम्मेवारीसँग चुनौती पनि उत्तिकै छन् । लुम्बिनीको विकासका नाममा हुने योजना र कार्यक्रमलाई स्थानीय आवश्यकता, वातावरणीय संरक्षण तथा दीर्घकालीन पर्यटन विकाससँग जोड्नु सहज छैन ।
विकास कोषका योजना पारदर्शी बनाउने, स्थानीय सरोकारवालासँग नियमित छलफल गर्ने, युवाको सहभागिता बढाउने र विकासका प्रतिफल स्थानीयसम्म पु¥याउने विषयमा उनको सक्रियता परीक्षण हुनेछ ।
लुम्बिनीको पहिचान बुद्धको जन्मस्थल हुनुमा मात्र सीमित छैन । यो शान्ति, करुणा, सहअस्तित्व र प्रकृतिसँगको सम्बन्धको सन्देश दिने विश्व सम्पदा क्षेत्र पनि हो । त्यसैले यहाँको विकास भौतिक संरचनाको विस्तारसँगै प्राकृतिक सम्पदा र स्थानीय जीवनशैलीको संरक्षणमा आधारित हुनुपर्ने आवश्यकता छ ।
संरक्षणको क्षेत्रमा सक्रिय व्यक्तिका रुपमा चिनिएका कुर्मीले अब विकास कोषको सदस्यका रूपमा आफ्ना अवधारणालाई व्यवहारमा कति उतार्न सक्छन् भन्ने चासो छ । स्थानीय सहभागिता, वातावरण संरक्षण र पर्यटनबाट आर्थिक लाभको सुनिश्चितता उनका प्राथमिकतामा प्रभावकारी रुपमा कार्यान्वयन हुन सके लुम्बिनीको विकासमा नयाँ आयाम थपिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?