© 2026
बुटवल ।
महिलाहरूले घरबाहिर निस्केर काम गर्न, आफ्नो पहिचान स्थापित गर्न र सार्वजनिक जीवनमा सक्रिय हुन अझै पनि विभिन्न सामाजिक अवरोध, विभेद र चुनौतीको सामना गर्नुपरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपाल पिक्चर लाइब्रेरी काठमाडौंले बुटवलमा आयोजना गरेको फोटो प्रदर्शनी कार्यक्रममा सहभागी महिलाहरूले सार्वजनिक जीवनमा स्थापित हुन र आफ्नो पहिचान बनाउन गरेको संघर्ष सुनाउँदै महिलाका लागि समाज अझै सहज बन्न नसकेको बताएका हुन् । ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ अन्तर्गत लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा तीनदिने फोटो प्रदर्शनी आयोजना गरिएको छ । ३, ४ र ५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न क्षेत्रमा महिलाले पु¥याएको योगदान, उनीहरूको संघर्ष र सार्वजनिक जीवनमा निर्वाह गरेको भूमिकालाई तस्बिरमार्फत प्रस्तुत गरिएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले महिलाको सीप विकास, रोजगारी र आर्थिक उन्नतिका लागि नगरपालिकाले देशभरिमै सबैभन्दा बढी महिला लक्षित कार्यक्रम सञ्चालन गरेको दाबी गरे । भौतिक विकाससँगै सामाजिक र मानसिक विकास पनि आवश्यक रहेको उल्लेख गर्दै उनले महिलालाई सक्षम, आत्मनिर्भर र सार्वजनिक जीवनमा सहज रूपमा सक्रिय बनाउन नगरपालिकाले निरन्तर काम गरिरहेको बताए । नगर प्रमुख पाण्डेले भने, “महिलालाई सीप, रोजगारी र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक जीवनमा सहज सहभागिता गराउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले महिला लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । महिलाको आर्थिक उन्नति र आत्मनिर्भरताका लागि नगरपालिकाले देशभरिमै सबैभन्दा बढी महिला लक्षित कार्यक्रम सञ्चालन गरेको दाबी गर्न सक्छौँ ।”
कार्यक्रममा महिला फोटोग्राफर कमला तिवारी, सामाजिक अभियन्ता धनेश्वरी चौधरी, रङ्गकर्मी कृष्ण थापा तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी रेशम न्यौपानेले आफ्ना अनुभव सुनाएका थिए । उनीहरूले सामाजिक तथा सांस्कृतिक अवरोधका कारण सार्वजनिक जीवनमा अघि बढ्न र आफ्नो पहिचान स्थापित गर्न विभिन्न कठिनाइ भोग्नुपरेको बताए ।