© 2026
बुटवल।
तिलोत्तमा नगरपालिकाको सडकमा विद्युतीय रेल गुडेको हेर्ने सपना बोकेर खिमलाल पाण्डेयले दुई लाख रुपियाँ लगानी गरे । नगरभित्रै रेल चढेर एउटा ठाउँबाट अर्को ठाउँ पुग्न सकिने र रोहिणी नदीको जलाशयसम्म पुगेर पर्यटकीय गतिविधिमा रमाउन पाइने उनको अपेक्षा थियो । तर वर्षौं बितिसक्दा पनि उनको सपना साकार भएको छैन । रेल गुड्ने बाटोमा अहिले पनि गाडी र मोटरसाइकल नै दौडिरहेका छन् ।
पाण्डेय एक्ला होइनन् । तिलोत्तमामा ट्राम रेल सञ्चालन हुने विश्वासमा आकास पन्थले पनि ५० हजार रुपियाँ लगानी गरेका थिए । नगरको पर्यटन प्रवद्र्धन र यातायात सुविधामा नयाँ आयाम थपिने अपेक्षासहित लगानी गरेका उनी अहिले निराश छन् । न रेल सञ्चालनमा आयो, न आफ्नो लगानीको प्रतिफल देख्न पाए ।
तिलोत्तमाको गौरवको योजनाका रूपमा घोषणा गरिएको ट्राम रेल अहिले स्थानीयवासीको मनमा मात्रै गुडिरहेको छ । लगानी सम्मेलनबाट उत्साहका साथ अघि सारिएको योजना राजनीतिक खिचातानी, स्थानीयस्तरको विरोध, बजेट अभाव र लगानीको स्रोत सुनिश्चित नहुँदा अलपत्र परेको हो ।
पाण्डेयका अनुसार योजना सफल बनाउनुभन्दा कसले जस लिने भन्ने प्रतिस्पर्धाले यसको गति रोकिएको हो । स्थानीयवासी र राजनीतिक दलबिच सहमति जुटाउन नसक्दा सम्भावना बोकेको योजना अघि बढ्न नसकेको उनको बुझाइ छ ।
“ट्राम रेल बनेको भए धेरै पर्यटक रेल चढेर रोहिणी नदीसम्म पुग्न सक्ने अवस्था हुन्थ्यो । यसले तिलोत्तमाको पर्यटन र नगरको विकासमा ठूलो योगदान दिन सक्थ्यो,” पाण्डेय भन्छन्, “अहिले पनि बनाउन सकिन्छ भन्ने आशा मरेको छैन ।”
आकास पन्थले पनि रेल सञ्चालन हुने आशामा लगानी गरेको बताए । तर लामो समयसम्म कुनै प्रगति नदेखिएपछि आफ्नो लगानी अन्योलमा परेको उनको गुनासो छ । “नगरभित्र रेल चल्ने कुरा पर्यटन प्रवद्र्धनका हिसाबले सकारात्मक लागेर लगानी गरेको थिएँ । तर यति लामो समय बितिसक्दा पनि रेल आउने कुनै सङ्केत छैन । अहिले न रेल छ, न आफ्नो लगानीको प्रतिफल,” उनले भने ।
तिलोत्तमा नगरपालिकाको पहिलो लगानी सम्मेलनमा गौरवको योजनाका रूपमा अघि सारिएको ट्राम रेल सञ्चालनका लागि तिलोत्तमा पब्लिक रेल्वे कम्पनी स्थापना गरिएको थियो । कम्पनीमार्फत स्थानीयवासीलाई समेत लगानीमा सहभागी गराउने योजना बनाइएको थियो ।
कम्पनीका अध्यक्ष हरि तिवारीका अनुसार योजनामा करिब ५०१ जनाको लगानी छ । अहिलेसम्म करिब पाँच करोड रुपियाँ सङ्कलन भएको उनको भनाइ छ । योजना पूरा गर्न आठ अर्ब रुपियाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । तर यति ठूलो रकम जुटाउने आधार र स्रोत भने अझै सुनिश्चित हुन सकेको छैन ।

प्रस्तावित योजनाअनुसार तिलोत्तमाको योगीकुटीबाट तिलोत्तमा क्याम्पस रोड हुँदै कोटिहवासम्म ट्राम रेल सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । दीर्घकालीन रूपमा नगरपालिकाभित्रको करिब ५० किलोमिटर रिङरोडमा रेल सञ्चालन गर्ने अवधारणा अघि सारिएको थियो । यसबाट नगरका विभिन्न बस्ती र पर्यटकीय क्षेत्रलाई यातायात सञ्जालसँग जोड्ने अपेक्षा गरिएको थियो ।
ट्राम रेललाई रोहिणी नदीमा जलाशय निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजनासँग समेत जोडिएको थियो । नगरको सुन्दरता बढाउने, पर्यटन गतिविधि विस्तार गर्ने र स्थानीयलाई सहज यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले योजना अघि बढाइएको कम्पनीको भनाइ छ ।
तर घोषणा र योजनाअनुसार काम अघि बढ्न सकेन । कम्पनीका अध्यक्ष तिवारी स्थानीयवासीमा योजनाबारे सकारात्मक बुझाइ विकास हुन नसक्नु पनि समस्या बनेको बताउँछन् ।
“म काम सुरु गरेर देश बाहिर गएँ, केही समय नेपाल भइन, यहाँ काम अगाडि बढ्न सकेको रहेनछ्, स्थानीयको अवरोधले आयोजना अलपत्र परेको जानकारी पाएको छु”–उनले भने ।
उनका अनुसार कम्पनीले दुईवर्षअघि वर्ष जसरी पनि दुई किलोमिटर रेलमार्ग निर्माण गर्ने भन्दै काम सुरु गर्न खोजेको थियो । तर स्थानीय केही व्यक्तिको विरोधपछि काम रोकिएको थियो । त्यसका लागि नगरपालिका, स्थानीय प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालयसम्म पुगे पनि अपेक्षित सहयोग नपाएको उनको गुनासो छ ।
“हामीले दुई किलोमिटर भए पनि निर्माण सुरु गरेर देखाउन खोजेका थियौँ । तर स्थानीयको विरोधका कारण काम अघि बढाउन सकेनौँ,” तिवारीले भने ।
ट्राम रेल सञ्चालनका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । तर आठ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको योजनाका लागि आवश्यक लगानी जुटाउने भरपर्दो आधार तयार हुन सकेको छैन । स्थानीयवासीबाट सङ्कलित रकमले मात्रै आयोजना सम्पन्न गर्न सम्भव देखिँदैन । कम्पनीका प्रबन्ध सञ्चालक भोला शर्मा आर्थिक स्रोत जुटाउन नसक्नु पनि आयोजना अघि बढ्न नसक्नुको प्रमुख कारण भएको बताउँछन् । “केही समयअघि काम सुरु गरेका थियौँ । स्थानीयको विरोधका कारण रोकियो । अब आर्थिक स्रोत जुटाएर कामलाई निरन्तरता दिने हाम्रो योजना छ,” शर्माले भने ।
उनले स्थानीयवासीले ट्राम रेलको आवश्यकता र सम्भावनाबारे स्पष्ट बुझ्न नसकेको बताए । रेल सञ्चालन हुँदा स्थानीयको यातायात सहज हुने र पर्यटकीय गतिविधि बढ्ने कम्पनीको विश्वास रहेको उनको भनाइ छ ।
शर्माका अनुसार प्रस्तावित ट्राम रेल विद्युतीय प्रणालीमा सञ्चालन हुनेछ । सडकको बिच भागमा रेलमार्ग निर्माण गरी सवारीसाधनसँगै सञ्चालन गर्ने अवधारणा अघि सारिएको थियो । कम्पनीले नेपालमा प्रचलित सडक संरचनालाई उपयोग गर्दै करिब चार फिट आठ इञ्चको ट्रयाकमा आठ फिट चौडाइको ट्राम रेल सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।
एउटा डिब्बामा करिब ७० जना यात्रु अटाउने र सुरुमा तीनवटा डिब्बा सञ्चालन गर्ने योजना रहेको कम्पनीको भनाइ छ । यसअनुसार एकपटकमा करिब २१० जनाले यात्रा गर्न सक्नेछन् । यात्रुको चापअनुसार डिब्बा थप्दै लैजान सकिने अवधारणा बनाइएको छ ।
कम्पनीले ट्राम रेललाई नगरको पर्यटन र यातायात विकासको सम्भावनाका रूपमा व्याख्या गरिरहँदा स्थानीयवासीको एउटा समूहले भने यसको औचित्यमाथि नै प्रश्न उठाएको छ । ट्राम रेल निर्माण गर्नुअघि यात्रुको सम्भावित संख्या, सञ्चालन खर्च, आम्दानी र दीर्घकालीन उपयोगिताबारे पर्याप्त अध्ययन हुनुपर्ने उनीहरूको तर्क छ । स्थानीय लक्ष्मण गौतम तिलोत्तमामा ट्राम रेल सञ्चालन व्यावहारिक नहुने बताउँछन् । उनका अनुसार रेल चलाउने घोषणा गर्नु र त्यसलाई नियमित रूपमा सञ्चालन गर्न सक्नु फरक विषय हुन् ।
“ट्राम रेल चलाउने मात्रै भनेर हुँदैन । यसको भविष्य, यात्रुको संख्या र सञ्चालनको सम्भावनाबारे सुरुमै मूल्याङ्कन गर्नुपथ्र्यो । यहाँ यसको आवश्यकता र सम्भावना मैले सुरुदेखि नै देखेको थिइनँ,” गौतम भन्छन्, “तामझामका साथ घोषणा गरिए पनि योजना सार्थक हुन सकेन । अहिलेको अवस्था हेर्दा भविष्यमा पनि सञ्चालन होला भन्ने विश्वास छैन ।”
तिलोत्तमा नगरपालिकाले पनि आयोजना अघि बढाउने विषयलाई नीति तथा कार्यक्रममा समेटेको भए पनि आवश्यक बजेट विनियोजन नगरेको कम्पनीको गुनासो छ । अर्कोतर्फ स्थानीयवासीको विरोध र लगानीको सुनिश्चितता नहुँदा निर्माणको कामले गति लिन सकेको छैन ।
चार वर्षअघि नगरप्रमुख रामकृष्ण खाँणले ट्राम रेल योजनाको शिलान्यास गरेका थिए । शिलान्यासपछि आयोजना अघि बढ्ने अपेक्षा गरिए पनि त्यसअनुसार निर्माणले गति लिन सकेन । नगरप्रमुख रामकृष्ण खाणले यो आयोजनामा नगरपालिकाले समन्वय र सहजीकरण मात्रै गरिदिएको भन्दै तर पछिल्लो समय भने कम्पनीका अधिकारीहरू समन्वय र सहजीकरणका लागि पालिकामा नआएको बताए । “नगरपालिकाको यसमा लगानी छैन, हामीले सहजीकरण मात्र गरिदिएका हौं, अहिले भने कम्पनीबाट समन्वय र सहजीकरणका लागि कोही पनि आउनुभएको छैन”–उनले भने । कम्पनीले अहिलेसम्म करिब दुई करोड रुपियाँ खर्च भइसकेको दाबी गरेको छ । तर खर्चको विवरण, सङ्कलित लगानी र आयोजनाको वास्तविक भौतिक प्रगतिबारे सार्वजनिक रूपमा स्पष्ट जानकारी आउन सकेको छैन ।
तिलोत्तमाको विकास र पर्यटनसँग जोडिएको महत्वाकाँक्षी योजनाका रूपमा अघि सारिएको ट्राम रेल अहिले विस्तृत परियोजना प्रतिवेदनमै सीमित छ । एकातिर लगानीकर्ताहरू आफ्नो लगानी र योजनाको भविष्यबारे अन्योलमा छन् भने अर्कोतिर कम्पनीले आर्थिक स्रोत जुटाएर निर्माणलाई निरन्तरता दिने बताउँदै आएको छ । तर तिलोत्तमावासीको मनमा गुडिरहेको ट्राम रेलको सपना कागज र प्रतिबद्धतामै सीमित हुने जोखिम कायमै छ ।
