© 2026
बुटवल ।
औषधी व्यवसायीहरूको साझा संस्था नेपाल औषधी व्यवसायी सङ्घको १५औँ राष्ट्रिय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने अधिवेशनमा देशका सातै प्रदेश र ७७ जिल्लाबाट ३०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । अधिवेशनले सङ्घको नयाँ नेतृत्व चयन गर्नुका साथै औषधी व्यवसायसँग सम्बन्धित नीतिगत, कानुनी तथा व्यावसायिक समस्याका विषयमा छलफल गरी आगामी कार्यदिशा तय गर्नेछ ।
आगामी मङ्सिर ५ र ६ गते आयोजना हुने अधिवेशनले सङ्घको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । त्यसैगरी पछिल्लो तीन वर्षमा सङ्घले गरेका कामकारबाहीको समीक्षा तथा अनुमोदन गर्ने, संस्थागत उपलब्धि र चुनौतीको मूल्याङ्कन गर्ने र आगामी कार्यकालका लागि नीति तथा कार्ययोजना निर्माण गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा वार्षिक करिब ७० अर्ब रुपैयाँ बराबरको औषधी कारोबार हुँदै आएको अवस्थामा औषधी व्यवसायलाई व्यवस्थित, मर्यादित र नागरिकमैत्री बनाउने विषय अधिवेशनको प्रमुख एजेन्डाका रूपमा रहने देखिएको छ । औषधीको उत्पादन, आयात, वितरण तथा बिक्रीवितरणसँग जोडिएका नीतिगत र व्यावहारिक समस्यालाई सम्बोधन गर्न राज्यसँग प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ ।
विशेषगरी औषधी ऐन, २०३५ लाई वर्तमान समयको आवश्यकता र औषधी व्यवसायको बदलिँदो स्वरूपअनुसार परिमार्जन गर्नुपर्ने विषयलाई व्यवसायीहरूले प्राथमिकताका साथ उठाउँदै आएका छन् । औषधीको गुणस्तर र सुरक्षामा कुनै सम्झौता नगरी व्यवसायीमैत्री, नागरिकमैत्री र औषधीको सहज उपलब्धता सुनिश्चित गर्ने कानुनी व्यवस्था आवश्यक रहेको उनीहरूको धारणा छ ।
औषधी व्यवसाय स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यसको नियमन, व्यवस्थापन र सञ्चालनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । औषधी व्यवस्था विभागले नियमनकारी निकायका रूपमा काम गर्दै आएको छ भने औषधीको उत्पादन तथा व्यवसाय सञ्चालनमा सम्बन्धित व्यवसायीहरूको समेत प्रत्यक्ष संलग्नता र निगरानी रहँदै आएको सङ्घको भनाइ छ । त्यसैले नीति निर्माण गर्दा नियमनकारी निकाय र व्यवसायीबीच सहकार्य तथा समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसले औषधी व्यवसायीबिचको एकता, साझा मुद्दाको पहिचान र आगामी रणनीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले अधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने औपचारिक कार्यक्रम मात्र नभई देशभरका औषधी व्यवसायीका समस्या, चुनौती र सम्भावनाबारे साझा धारणा निर्माण गर्ने अवसरसमेत भएको बताए । उनका अनुसार अधिवेशनबाट व्यवसायीका साझा सरोकारलाई संस्थागत रूपमा अघि बढाउँदै औषधी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने रणनीति तय गरिनेछ ।
सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले नेपाल औषधी व्यवसायी सङ्घ देशभरका औषधी व्यवसायीको साझा थलोका रूपमा स्थापित हुन सफल भएको बताए । उनले व्यवसायीबिचको एकता र सहकार्य अहिलेको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रिय अधिवेशनले संस्थागत एकतालाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।
उनका अनुसार औषधी व्यवसायसँग सम्बन्धित समस्या कुनै एक क्षेत्र वा जिल्लामा मात्र सीमित छैनन् । देशभरका व्यवसायीले भोगिरहेका साझा समस्याको पहिचान र समाधानका लागि सङ्घको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले अधिवेशनले व्यवसायीका साझा सवाललाई प्राथमिकतामा राखेर आगामी कार्यदिशा तय गर्नुपर्ने उनले बताए ।
कर्णाली प्रदेशमा आयोजना हुन लागेको राष्ट्रिय अधिवेशनको व्यवस्थापनको जिम्मेवारी प्रदेश अध्यक्ष प्रेमबहादुर भण्डारीको नेतृत्वमा अघि बढाइएको छ । प्रदेश महासचिव दानबहादुर रोकाया, सुर्खेत जिल्ला अध्यक्ष रणबहादुर खड्कालगायत प्रदेशका औषधी व्यवसायीहरू अधिवेशनको तयारी तथा व्यवस्थापनमा सक्रिय छन् ।
कर्णाली प्रदेश अध्यक्ष भण्डारीले अधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी भइरहेको बताए । औषधी व्यवसाय क्षेत्रमा विभिन्न नीतिगत तथा व्यावहारिक समस्या रहेको उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि सङ्घको नेतृत्वले राज्यसँग समन्वय र सहजीकरण गर्दै आएको जानकारी दिए ।
उनले औषधी व्यवसायसँग सम्बन्धित नीति तथा कानुन निर्माण गर्दा राज्यले सम्बन्धित व्यवसायीहरूसँग आवश्यक परामर्श र सहकार्य गर्नुपर्नेमा जोड दिए । व्यवसायको वास्तविक अवस्था, बजारको आवश्यकता र नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर समयसापेक्ष नीति निर्माण हुन सके औषधीको सहज उपलब्धता र व्यवसायको दिगोपन दुवै सुनिश्चित गर्न सकिने उनको भनाइ छ ।
औषधी व्यवसायमा देखिएका समस्याको समाधान, औषधीको गुणस्तर कायम, बजार व्यवस्थापन, सहज आपूर्ति र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनजस्ता विषयमा अधिवेशनमा छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी औषधी ऐन परिमार्जन, व्यवसाय सञ्चालनका क्रममा देखिने प्रशासनिक जटिलता तथा नियमनकारी निकायसँगको समन्वयलाई प्रभावकारी बनाउने विषयमा व्यवसायीहरूले साझा धारणा निर्माण गर्नेछन् ।
करिब ७० अर्ब रुपैयाँको वार्षिक कारोबार रहेको औषधी बजार नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ठूलो आर्थिक क्षेत्रसमेत हो । यस क्षेत्रमा हुने कारोबारको पारदर्शिता, औषधीको गुणस्तर, मूल्य तथा उपलब्धताको सुनिश्चितताले आम नागरिकको स्वास्थ्य सेवामा पहुँचलाई समेत प्रभावित पार्ने भएकाले व्यवसायीको जिम्मेवारी र राज्यको नियमन दुवै उत्तिकै महत्वपूर्ण मानिन्छन् ।
यस सन्दर्भमा सुर्खेतमा हुन लागेको १५औँ राष्ट्रिय अधिवेशनले व्यवसायीका व्यावसायिक हितसँगै नागरिकको स्वास्थ्य सुरक्षा र औषधीमा सहज पहुँचका विषयलाई कसरी सम्बोधन गर्छ भन्ने चासोसमेत बढाएको छ । नयाँ नेतृत्व चयनसँगै नीतिगत सुधारका लागि स्पष्ट कार्ययोजना निर्माण गर्न सके अधिवेशन औषधी व्यवसायको संस्थागत विकासका लागि महत्वपूर्ण उपलब्धि बन्न सक्ने अपेक्षा गरिएको छ ।