Butwal Today

देउसी–भैलोबाट संस्कृति संरक्षण र स्वरोजगार

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

रोल्पा ।
तिहारमा खेलिने देउसी–भैलो पछिल्लो समय मनोरञ्जन र परम्परा निर्वाहमा मात्र सीमित छैन । रोल्पाका विभिन्न स्थानमा देउसी–भैलोबाट संकलित रकम विद्यालयको शैक्षिक तथा भौतिक विकास, मौलिक संस्कृतिको संरक्षण र सामुदायिक आर्थिक गतिविधिमा परिचालन गर्न थालिएको छ । सामूहिक सहभागिताबाट संकलित सहयोगलाई सामाजिक विकाससँग जोड्ने यस्ता अभ्यासले देउसी–भैलोको महत्वसमेत फराकिलो बनाउँदै लगेका छन् ।

रोल्पाको लुङ्ग्री गाउँपालिका–४, सालडाँडास्थित विजयश्वरी माध्यमिक विद्यालयले यस वर्षको तिहारमा देउसी–भैलो खेलेर संकलन गरेको रकम विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गर्ने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कर केसीका अनुसार विद्यालयको विकासका लागि स्थानीय तथा शुभेच्छुकबाट प्राप्त सहयोगलाई शैक्षिक गुणस्तर सुधार र आवश्यक भौतिक संरचना निर्माणमा उपयोग गरिनेछ ।

विद्यालयले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार देउसी–भैलो कार्यक्रमबाट तीन लाख १२ हजार छ सय ९५ रूपैयाँ संकलन भएको छ । संकलित रकममध्ये ४२ हजार छ सय १० रूपैयाँ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा खर्च भएको र दुई लाख ७० हजार ८५ रूपैयाँ बचत रहेको विद्यालयका प्रधानाध्यापक मानिक विष्टले जानकारी दिए ।

विद्यालयले अभियानमा आर्थिक तथा अन्य सहयोग पु¥याउने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरी सम्मानसमेत गरेको छ । कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिले तिहारको उल्लाससँगै स्थानीय कला र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो । विद्यार्थीको प्रस्तुतिले अभिभावक तथा अतिथिहरूको ध्यान आकर्षित गरेको विद्यालयले जनाएको छ । यसैगरी, गंगादेव गाउँपालिका–७ ले मौलिक नेपाली कला तथा संस्कृतिको संरक्षणमा योगदान पु¥याएको भन्दै पुरानो पञ्चेबाजा समूहलाई सम्मान गरेको छ । तिहारका अवसरमा वडा नम्बर ७ र ६ का सदस्यहरू आबद्ध संयुक्त पञ्चेबाजा समूहले परम्परागत बाजागाजासहित देउसी–भैलो कार्यक्रम सञ्चालन गरी सांस्कृतिक पहिचान जोगाउन योगदान पु¥याएको भन्दै वडा कार्यालयले नगद पुरस्कार र प्रशंसापत्रसहित सम्मान गरेको हो ।

वडा नम्बर ७ का अध्यक्ष प्रेमप्रकाश केसीका अनुसार २०८३ सालको तिहारमा पञ्चेबाजाको प्रयोगसहित देउसी–भैलो आयोजना गरेर समूहले पुरानो सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ । आधुनिक मनोरञ्जनका माध्यम विस्तार भइरहेका बेला परम्परागत बाजागाजा र सांस्कृतिक अभ्यासलाई जीवन्त राख्न स्थानीय समूहले देखाएको सक्रियता प्रशंसनीय रहेको उनले बताए ।

स्थानीय कला, भेषभूषा, बाजागाजा तथा सांस्कृतिक अभ्यासको संरक्षणमा समुदायको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष केसीले यस्ता गतिविधिले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने बताए ।

उता, रोल्पा नगरपालिका–४, लिवाङस्थित रहरिखोला एकता समूहले भने देउसी–भैलोबाट संकलित रकमलाई सदस्यहरूको आर्थिक आवश्यकता र स्वरोजगारसँग जोडेको छ । समूहले विगतदेखि निरन्तर सञ्चालन गर्दै आएको देउसी–भैलो अभियानलाई यस वर्ष पनि विभिन्न स्थानमा विस्तार गरी सात लाख रूपैयाँभन्दा बढी रकम संकलन गरेको जनाएको छ ।

समूहका अध्यक्ष जमलाल रोकाका अनुसार देउसी–भैलोबाट संकलित रकम सदस्यहरूको आर्थिक आवश्यकता पूरा गर्न तथा आयआर्जनका गतिविधिमा सहयोग पु¥याउने उद्देश्यले परिचालन गरिँदै आएको छ । विगतका वर्षमा समूहले ३० लाख रूपैयाँभन्दा बढी रकम संकलन गरिसकेको उनले जानकारी दिए ।

समूहले संकलित रकमबाट सदस्यहरूलाई बैंक तथा अन्य वित्तीय संस्थाको तुलनामा सहुलियतपूर्ण ब्याजदरमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यस्तो सहयोगबाट सदस्यहरूलाई साना व्यवसाय सञ्चालन गर्न, स्वरोजगार सिर्जना गर्न र स्थानीय स्तरमै आर्थिक गतिविधि विस्तार गर्न सहज भएको अध्यक्ष रोकाले बताए । सामूहिक बचत र आपसी आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै आएको समूहले देउसी–भैलोलाई सामुदायिक आर्थिक सबलीकरणको माध्यम बनाएको छ । रोल्पाका यी तीन उदाहरणले देउसी–भैलोलाई परम्परा र मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षा, संस्कृति संरक्षण र आर्थिक विकासको माध्यम बनाउन सकिने देखाएका छन् । विद्यालयको शैक्षिक विकासका लागि आर्थिक स्रोत जुटाउने, पञ्चेबाजा संस्कृतिलाई निरन्तरता दिने र सामूहिक बचतमार्फत सदस्यलाई स्वरोजगारमा जोड्ने प्रयासले सामुदायिक सहभागिताको महत्व उजागर गरेको छ ।

स्थानीय समुदायको सक्रियता, आपसी विश्वास र सामूहिक सहयोगलाई व्यवस्थित रूपमा परिचालन गर्न सके देउसी–भैलो सामाजिक परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्छ । परम्परागत संस्कृतिको निरन्तरतासँगै शिक्षा, आर्थिक आत्मनिर्भरता र सामुदायिक विकासमा समेत योगदान पु¥याउने यस्ता अभ्यासले तिहारको सांस्कृतिक महत्वलाई थप अर्थपूर्ण बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?