© 2026
दोहा,कतार ।
नेपालीहरुको महान् पर्व बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसर पारेर गण्डकी प्रदेश समन्वय परिषद् कतारले शुभकामना आदानप्रदान तथा बृहत् सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। परिषद् कतारले आगामी शुक्रबार,कतारको वकिरमा रहेको डीपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा उक्त कार्यक्रम गर्न लागेको हो।
कतारमा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा, सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रमको मुख्य आकर्षण नेपालको चर्चित ुलेकाली ब्यान्डु रहेको छ ।
नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लेकाली ब्यान्डको विशेष लाइभ प्रस्तुतिले
कतारमा रहेका नेपालीहरुलाई सगितंमय बनाउनेछ। ब्यान्डले नेपाली मौलिकता, लोकसंस्कृतिको मिठास र आधुनिक संगीतको बेजोड संगममार्फत दर्शकलाई झुमाउने तयारी गरेको छ।
कार्यक्रम संयोजक तथा परिषद्का वरिष्ठ उपाध्यक्ष रोशन अर्यालका अनुसार, लेकाली ब्यान्डको दमदार प्रस्तुतिसँगै कतारमा रहेका गायन तथा नृत्य विधाका कलाकारहरूले समेत आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। यसका साथै गण्डकी प्रदेशको कला, संस्कृति, भेषभूषा र मौलिकता झल्काउने झाँकीहरू कार्यक्रमको थप आकर्षण रहनेछन्।
सांगीतिक मनोरञ्जनका साथै कार्यक्रमले सामाजिक उत्तरदायित्वलाई पनि प्रवर्द्धन गर्ने भएको छ। कतारमा कार्यरत नेपाली श्रमिकहरूको हक र हित तथा आपत्कालीन सहयोगका लागि ‘श्रमिक कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको परिषद् कतारले जनाएको छ। कार्यक्रमबाट संकलित रकम उक्त कोषमा उपयोग गरिनेछ।
भिक्टोरिया गोल्ड एन्ड डायमन्ड मुख्य प्रायोजक रहेको यस कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद् कतार मातहतका सम्पूर्ण जिल्ला संस्थाहरू सह(आयोजकका रूपमा रहेका छन्।
मध्यान्ह १२ बजे देखि साँझ ७ बजे सम्म सञ्चालन हुने कार्यतालिका रहेको कार्यक्रममा प्रवेश शुल्क भने तीस कतारी रियाल निर्धारण गरिएको छ।
चाडपर्वको उमंग, गण्डकीको मौलिक संस्कृति र सांगीतिक माहोललाई एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको कार्यक्रममा कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाईदिन परिषद् कतारले हार्दिक अपिल समेत गरेको छ।