© 2026
बुटवल । रूपन्देही व्यापार संघले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा संस्थापक तथा पूर्व अध्यक्षहरूलाई सम्मान गर्नुका साथै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गरेको छ । त्यस अवसरमा पत्रकारिता पुरस्कार स्थापनाका लागि नेपाल पत्रकार महासंघ रूपन्देहीसँग सम्झौता गरिएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघले संस्थाको विकास र व्यावसायिक क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याएका पूर्व अध्यक्षहरूलाई सम्मान गरेको हो । त्यसैगरी बुटवलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा आरसीसी लक्ष्मी अक्षयकोष स्थापनाका लागि एक लाख ५१ हजार रूपैयाँ सहयोग गरेको छ ।
संघले नेपाल पत्रकार महासंघ रूपन्देहीसँग क्रियाशील पत्रकारिता पुरस्कार स्थापना तथा सञ्चालनका लागि समझदारीपत्रमा समेत हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा संघका अध्यक्ष प्रकाश ढकाल र पत्रकार महासंघ रूपन्देहीका तर्फबाट कार्यवाहक अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका छन् । स्थापना दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदाताहरूले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्र आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताए । स्थानीय व्यापार व्यवसायको प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
उनले बुटवलको आर्थिक तथा व्यावसायिक विकासमा रूपन्देही व्यापार संघले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि स्थानीय आर्थिक गतिविधि विस्तारमा संघको भूमिका महत्वपूर्ण हुने बताए ।
संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले स्थापनाकालको कठिन अवस्था स्मरण गर्दै संस्थालाई वर्तमान अवस्थासम्म ल्याउन अग्रज व्यवसायीहरूको योगदान महत्वपूर्ण रहेको बताए । संस्थाको इतिहास र गौरवलाई जोगाउँदै नयाँ पुस्तालाई समेत संस्थागत गतिविधिमा जोड्नुपर्ने उनको भनाइ थियो ।
पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक एकता र संस्थागत सुदृढीकरणका लागि संघ थप सक्रिय हुनुपर्ने बताए । निवर्तमान अध्यक्ष दीपकप्रसाद अधिकारीले आफ्नो कार्यकालका गतिविधि स्मरण गर्दै संस्थालाई थप प्रभावकारी बनाउन सबै व्यवसायीको सहकार्य आवश्यक रहेको बताए ।
संघका अध्यक्ष प्रकाश ढकालले २७ वर्षको यात्रामा साथ र सहयोग गर्ने संस्थापक, पूर्व अध्यक्ष, अग्रज व्यवसायी, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे । उनले व्यवसायीहरूको हकहित संरक्षण, व्यापार प्रवद्र्धन र संस्थागत विकासलाई आगामी दिनको प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संघका सल्लाहकार तेजप्रसाद सुनार, आजीवन परिषद्का संयोजक ऋषिबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी तथा महासचिव प्रकाशराज पौडेलले पनि आ–आफ्नो धारणा राखेका थिए ।