© 2026
भैरहवा ।
छठ पर्वका अवसरमा रूपन्देहीका २४९ वटा घाटमा सुरक्षा व्यवस्था मिलाइएको छ । हजारौँ श्रद्धालु एकैपटक नदी, पोखरी तथा जलाशय किनारमा भेला हुने भएकाले सम्भावित जोखिम न्यूनीकरण र भीड व्यवस्थापनलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।
जिल्लाका सबै छठ घाटलाई लक्षित गरी दशैँ–तिहार एकीकृत सुरक्षा योजनाअन्तर्गत नै सुरक्षा व्यवस्था मिलाइएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार छठ पर्वमा श्रद्धालुको चहलपहल बढी हुने स्थानमा सुरक्षाकर्मी परिचालन गरी शान्ति सुरक्षा कायम गर्ने व्यवस्था मिलाइएको छ ।
पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन स्थानीय प्रशासन, प्रहरी, पूजा व्यवस्थापन समिति तथा स्थानीय तहबीच समन्वय भइरहेको छ । विशेषगरी घाटमा हुने भीडभाड, सवारी आवागमन, पार्किङ र श्रद्धालुको सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।
यसैबीच, भैरहवा तथा आसपासका क्षेत्रमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । सिद्धार्थनगरस्थित श्रीराम जानकी हनुमान मन्दिर परिसर, कालीभक्ति गण, गोनहिया, बालापुरलगायतका छठ घाटमा सरसफाइ, बेदी निर्माण, सजावट र अन्य व्यवस्थापकीय काम तीव्र पारिएको छ ।
श्रीराम जानकी हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रौनियारले व्रतालु तथा श्रद्धालुलाई सहज रूपमा पूजा आराधना गर्ने वातावरण बनाउन आवश्यक तयारी भइरहेको बताए । उनका अनुसार बेदी निर्माणसँगै भक्तजनको भीड व्यवस्थापन र सवारी पार्किङको उचित प्रबन्ध मिलाइएको छ ।
पर्वका क्रममा कुनै असहज अवस्था सिर्जना हुन नदिन समितिले आवश्यक सतर्कता अपनाएको उनले बताए । धार्मिक तथा सांस्कृतिक पर्वलाई राजनीति भन्दा माथि राखेर राज्य र समुदायबीच आपसी सहकार्य तथा सम्मानको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
यस्तै, गोनहिया छठ पूजा समितिका अध्यक्ष वीरेन्द्र कुर्मीले गोनहियामा विगत पाँच वर्षदेखि स्थायी बेदी निर्माण गरेर छठ पूजा हुँदै आएको जानकारी दिए । यस वर्ष पनि व्रतालु तथा श्रद्धालुको सुविधालाई ध्यानमा राखेर व्यवस्थापन गरिएको उनले बताए । छठ पूजाका अवसरमा व्रतालु महिलालाई लक्षित गर्दै भारतको लखनउबाट आउने जागरण टोलीको विशेष प्रस्तुति रहने उनले जानकारी दिए ।
छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने कुर्मीको भनाइ छ । जीवकल्याण, विश्वशान्ति तथा सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने यस पर्वप्रति पछिल्लो समय सबै समुदायको आकर्षण बढ्दै गएको उनले बताए ।
परम्परागत रूपमा तराई–मधेस समुदायमा विशेष महत्त्वका साथ मनाइँदै आएको छठ अहिले जातजाति, भाषा र क्षेत्रको सीमाभन्दा माथि उठेर साझा सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको छ । भैरहवा र आसपासका क्षेत्रमा पनि विभिन्न समुदायको सहभागितामा छठ मनाउने क्रम बढेको छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठ पर्वमा व्रतालुहरूले कठोर व्रत, पवित्रता र अनुशासन पालना गर्छन् । प्रकृति र मानव जीवनबीचको सम्बन्धसँग जोडिएको यस पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता र आपसी सद्भावलाई समेत बलियो बनाउँदै आएको छ । रूपन्देहीका २४९ वटै घाटमा सुरक्षा व्यवस्थासहित भैरहवा र आसपासका पूजा स्थलमा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेसँगै यस वर्षको छठ पर्वलाई व्यवस्थित, सुरक्षित र उल्लासपूर्ण बनाउने अपेक्षा गरिएको छ ।