© 2026
नवलपरासी । पश्चिम नवलपरासीमा पछिल्लो समय रगतको चरम अभाव देखिएको छ। रक्तदान कार्यक्रम आयोजना नहुँदा र नियमित रक्तदाताको सहभागिता घट्दै गएपछि जिल्लामा रगतको मौज्दात न्यून हुँदै गएको हो।
नेपाल रेडक्रस सोसाइटी नवलपरासीको रक्त सञ्चार केन्द्रमा अहिले ओ पोजेटिभ समूहको ४ देखि ५ पिन्ट मात्रै रगत मौज्दात रहेको रक्त सञ्चार संयोजक सुरज केसीले जानकारी दिएका छन्।
केसीका अनुसार अघिल्ला वर्षहरूमा जिल्लामा वार्षिक १ हजार ५ सय पिन्टभन्दा बढी रगत संकलन हुने गरेको थियो। तर पछिल्लो समय विभिन्न संघसंस्था, क्लब तथा सामाजिक संस्थाहरूले रक्तदान कार्यक्रम आयोजना नगर्दा रगत संकलनमा कमी आएको हो।
रगतको अभावले उपचारका लागि रगत आवश्यक पर्ने बिरामीहरू प्रभावित हुन सक्ने अवस्था सिर्जना भएको भन्दै रेडक्रसले रक्तदानका लागि सबैमा आग्रह गरेको छ।
विशेषगरी युवावर्ग, सामाजिक संघसंस्था, विभिन्न क्लब, विद्यालय तथा क्याम्पस र नागरिक समाजलाई रक्तदान कार्यक्रम आयोजना गर्न तथा स्वयं रक्तदानमा सहभागी हुन आह्वान गरिएको केसिले बताए ।