Butwal Today

विद्यार्थीले उत्पादन गरेको सयपत्री फूल बुटवल, काठमाडौँ, भैरहवा र पोखरासम्म बिक्री हुँदै

२४ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

अर्घाखाँची । 

सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बाल विज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले बजार पाउन थालेका छन् । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौँ, भैरहवा र पोखरासम्म बिक्री भइरहेको छ ।

विद्यालयमा उत्पादित फूल तथा मालाको माग विभिन्न सहरमा बढ्दै गएको शिक्षक प्रकाश भुसालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब चार क्विन्टल फूल बिक्री भइसकेको छ ।

यस वर्ष तिहार केही ढिला परेका कारण फूलहरू भने केही हप्ताअघि नै फक्रिएका थिए। विद्यालयको पहुँचमा फूल सुरक्षित राख्न मिल्ने कोल्ड स्टोर नहुँदा समयमै बजार व्यवस्थापन गर्न कठिनाइ भएको शिक्षक भुसालले बताए । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल समयभन्दा अगाडि नै फक्रिएपछि केही सस्तो मूल्यमा भए पनि अन्य सहरमा पठाएर बिक्री गर्नुपरेको उनको भनाइ छ ।

विद्यालयले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप, श्रमको सम्मान र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले फूल खेती गर्दै आएको छ । विद्यार्थीहरूको मेहनतबाट उत्पादित फूलले बजार पाउन थालेपछि स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिएको छ ।

शिक्षक भुसालले सन्धिखर्कमा रहेका व्यापारी तथा व्यवसायीहरूलाई तिहारका अवसरमा प्लास्टिकका तयारी माला प्रयोग गर्नुको सट्टा विद्यालयमै उत्पादित ताजा सयपत्री फूलका माला बिक्री तथा प्रयोग गर्न आग्रह गरेका छन् ।

उनले भने , “बाल विज्ञान अध्ययनरत विद्यार्थीहरूले मेहनत गरेर उत्पादन गरेको फूल तथा मालालाई प्रोत्साहन गरौँ । स्थानीय उत्पादनलाई माया गरौँ र विद्यार्थीको सीप तथा श्रमको सम्मान गरौँ ।”

विद्यार्थीको पसिना र मेहनतबाट फुलेको फूलले बजार पाउनु केवल व्यापार मात्र होइन, स्थानीय उत्पादन, श्रमको सम्मान र आत्मनिर्भर शिक्षाको सुन्दर उदाहरण पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?