© 2026
रुपन्देही ।
पटका पड्काएर आतिशबाजी गर्ने तथा सोही क्रममा एक जनालाई घाइते बनाएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार २०८३ कात्तिक २३ गते साँझ करिब ६ः५० बजे रुपन्देहीको कञ्चन गाउँपालिका–१ स्थित हात्तीबजार चोकमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको लालिगुराँस युवा क्लबले भैलो खेलिरहेको अवस्थामा पटका पड्काइएको थियो ।
सो क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ निवासी कृष्ण परियार र आर्यन परियारले पटका पड्काउँदा एकजना व्यक्ति घाइते भएका थिए । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, रुपन्देही जिल्लाका विभिन्न स्थानमा पटका पड्काउने तथा आतिशबाजी गर्ने थप पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का कृष्ण परियार र आर्यन परियार, रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईका किसन मिश्र, रोहिणी गाउँपालिका–४ का पञ्चम हरिजन, रोहिणी गाउँपालिका–१ का अंगत कुमार कहार, सिद्धार्थनगर नगरपालिका–४ का हेमसल बरई र बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका सन्देश परियार रहेका छन् ।
पटका पड्काउने तथा आतिशबाजी गर्ने कार्यलाई नियन्त्रण गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।