© 2026
विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् नेपालीहरूको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको बताएका छन् ।
नेपाल संवत्को नयाँ बर्ष ११४७ अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, एकता, सुस्वास्थ्य तथा नयाँ ऊर्जा प्रदान गरोस् भनी शुभकामना दिँदै उनले नेपाल संवत् मानवता, समानता, सामाजिक न्याय र परोपकारको प्रेरणादायी ऐतिहासिक दस्तावेज पनि भएको स्पष्ट पारेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त गराएर सुरु गरेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले समाजमा विद्यमान आर्थिक तथा सामाजिक असमानता हटाउँदै सामूहिक हित, आपसी सहयोग र जनकल्याणलाई नेपाल संवत्ले प्राथमिकता दिन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानले समृद्ध कोशी प्रदेशको आफ्नै विशिष्ट ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पहिचान रहेको बताउँदै मुख्यमन्त्री कार्कीले हिमाल, पहाड र तराईको विविधतायुक्त प्रदेशमा बसोबास गर्ने विभित्र समुदायका मौलिक पर्व, कला, साहित्य र परम्परा साझा सम्पत्ति तथा गौरव भएको उल्लेख गरेका छन् ।