© 2026
‘..क्या राम्रो मालचरा,
उड्यो भरर …
बैमानी छौ भन्ने
कल्ले जान्यो र ?…’
मिना दिदी र सेती दिदीले कम्मर मर्काई मर्काई नाचे । अरु केटाकेटीहरुले ताली बजाए ।
‘मिज्जु .. मिज्जु..’ गीत गाउदा गाउदै डुकुरे दाईले भने । गित रोकियो. डुकुरे दाईले मुखैले ‘धुच्चुक..धुच्चुक’ आवाज निकाले– मादल मात्र बजे जस्तो । नाचिरहेका दिदीहरुले नाचको चाल बदले । गित, मिज्जु र नाच बदलीइरहे । धेरैबेर नाचेपछी सुन्तली दिदीको आमाले धर्याक्क ढोका खोलिन् । सिल्बरको थालमा अलिकता चामल, सेलरोटी, एक सुका र छेवैमा एउटा धिपधिपे दियो राखेर नाचिरहेकाको अगाडि राखिदीइन् ।
कला र मिना दिदीले केहि आशिष भट्टाए । सेती दिदि हातमा थाल लिएर फनन घुमिन् ।
…थालैमा अक्षता पाती
बिदाबादी भएर जाम साथी..
सबैले ठुलो स्वरमा गाए । चामल झोलामा राखियो । पैसा मकला दिदीले राखिन् । सेलरोटी भने लुछाचुडी गरेर खायौं । टुकी समातेर ज्योतिनगर कुलोको डिलैडिल श्याम कुमारी दिदि अघि लागिन् । अनि निस्पट अध्यारोमा नाङ्गा पैतालाले बाटो पहिल्याउदै बाँकी भैलेरिहरु उनैको पछी लाग्यौँ ।
ए.. रातो माटो
ए.. चिप्लो बाटो
ए.. लड्दै र पड्दै
ए.. आएका हामी.
अचेलपनि भैलो खेल्दा अधिकांश मानिसले भट्टाउछन् नि हो त्यस्तैगरि भैलो खेल्न हिड्थ्यौँ हामी । निष्पट अँध्यारोमा शितले लपक्क भिजेको कुलो डिल, भर्खरै ओभाउँदै गरेका गडाहा भएको बाटोमा को कतिबेला लड्थ्यो, कता ददारिन्थ्यो भन्ने हिसाब गरिसाथ्ये हुन्थेन । तैपनि भैलो खेल्न हिडिन्थ्यो ।
उत्तरतिर घना जंगललाई राखेर बनेको मेरो गाउँ शान्तिनगर र छिमेकी ज्योतिनगर थियो (वन त अहिलेपनि छ तर नाम मात्रको) । मेरो गाउँ मिर्गौली कुलोको किनारै किनार विस्तारित थियो भने ज्योतिनगर गाउँ ज्योतिनगर कुलोको वारिपारी थियो । २०३९ सालतिर ४० घरजति मेरो गाउँमा थिए भने २५ घर जति ज्योतिनगरमा थिए । जुद्दविर रानाको घरमा मेरो गाउँ सकिन्थ्यो भने सुन्तली दिदीको घर ( खासमा बन्द्रेको घर भन्थे) बाट ज्योतिनगर शुरु भएर पुछारेको घरमा पुगेर सकिन्थ्यो । पुछारेको घर पुर्व सानो कुलोबाट दिपनगर शुरु हुन्थ्यो ।
हाम्रो ठुलो बा, सटुकेली र कुलाबोटे खनालको घर जंगलतर्फ थिए भने त्यसपछि दिपनगरको मुख्य गाउँ शुरु हुन्थ्यो । अरु गाउँको तुलनामा दिपनगर निकै घना थियो । हामीले भैलो खेल्ने यिनै तीन गाउँ थिए ।
अहिलेजस्तो दशैँ तिहारको लामो बिदा हुदैनथ्यो हाम्रो पालामा । काग तिहारदेखी ५ दिन स्कूल बिदा हुन्थे । तर त्यहि समयमै खेतमा धान पाकेको हुन्थ्यो त्यसैले तिहार बिदामा धेरैलाई कामकै चटारो हुन्थ्यो । तैपनि १० वर्ष भन्दा साना केटाकेटिहरुलाई भने त्यति धेरै कामको तनाव हुदैनथ्यो । दशैमा जस्तो घर लिपपोत गर्ने काम हुदैनथ्यो । औंशिको दिनमा गोठमा गाई पुजा र गोबर्धन पुजा गरिन्थ्यो ।
ज्योतिनगरतिर भने गोबर्धन पुजाको दिनमा मात्र गाई पुजा गर्थे । हाम्रो गाउँका अधिकांश परिवार र ज्योतिनगरका बाह्र नम्बरेको परिवारले भने औंशीमा गाई पुजा गथ्र्यौ । हरियो बाबियोको तोरण बाट्नुपर्ने हुनाले चरंगे र मुढाबास माथिको चुरे पहाडमा पुगेर बाबियो काटेर ल्याउथ्यौँ । पछि हामीले आफ्नै खेतको पुछारको कुलोको डिलमा बाबियो रोपेपछि बाबियो काट्न पहाड उक्लनु परेन । गाईपुजा गरेपछि सबै परिवारले बाटोको वारपार हुनेगरी तोरण तान्ने गरिन्थ्यो । तोरणको विचमा कुचो र सेलरोटी झुन्डाउने गरिन्थ्यो । मेरो बाले राम्रो कुचो बाट्नुहुन्छ , त्यसैले हाम्रो तोरण अरुको भन्दा राम्रो देखिन्थ्यो । गाई पाल्न छोडियो तर गोबर्धन पुजा गर्न र तोरण टाँग्न छोडिएको छैन ।
साँझ माटोको पालामा घर आगनमा बत्ति बालेर लक्ष्मी पुजा गरेपछि भैलो खेल्न पाईन्थ्यो । अहिलेजस्तो बाटोमा बत्तिको उज्यालो उतिबेलामा कहाँ पाउनु? घरमा धिपधिपे टुकी बत्ति हुन्थ्यो । लक्ष्मीपूजा गरेपछि प्रायजसो परिवारमा मान्छेहरु सुत्ने भएकोले घरको वरिपरी उज्यालो हुने कुरै थिएन । भैलो खेल्नेहरुसंग पनि उज्यालोको कुनै साधन हुदैनथ्यो । कताकतै पाईने टायर, पुराना चप्पल र टुकी बालेर भैलो खेल्न निस्किन्थ्यौ । म १०÷१२ वर्षको हुँदा भने लालटिन बालेर भैलो खेल्न गएको याद छ । नत्र भने अध्यारोमै हिडिन्थ्यो, अँध्यारोमै बसेर भैलो खेलिन्थ्यो ।
भैलो खेल्न धेरै केटाकेटी जम्मा हुन्थ्यौँ । कुरुन्चेलीको घरबाट मिना दिदि, लक्ष्मी र देवी, बलामेको घरबाट श्याम कुमारी दिदि, मेरो घरबाट दिदी र म ( कहिलेकाही बहिनीहरु पनि पछी लाग्थे), जुद्दबिरको घरबाट सेती दिदि, डुकुरे दाई, घर्ति माईलाको घरबाट अम्बिका दिदि र डिले भैलो टोलीका स्थायी सदस्य थियौ । अरु ५÷७ घरका केटाकेटीहरु पनि हाम्रो टोलीमा जोडिन आउँथे । अनि बन्थ्यो हाम्रो जम्बो टोली ।
साँझ खाना खाएर हाम्रो भैलो शुरु हुन्थ्यो । अहिलेजस्तो म्युजिक सिस्टम हुने कुरै भएन । अझ भन्ने हो भने हामीमध्ये धेरैले रेडियोमा गित बजेको समेत सुनेका थिएनौं । गाउँका दाईदिदीहरुले गएका गीतहरु टिपेर हामीले गाउने र भट्याउने कोशिस गथ्र्या ।. धेरैजसो घरमा येनकेन ५÷१० पैसा दिन्थे । केहि घरमा त ढोका नै खोल्दैनथे । केहि घरमा भने केटाकेटी आएर हल्ला गरे भनेर लखेट्दथे । चामल र रोटी त राम्रै दिन्थे तर पैसा दिने कुरामा भने सबै कन्जुस थिए । कुनै घरले पनि एक रुपियाँ भन्दा बढी दिएको याद छैन, शायद केटाकेटी भनेर हेपेर होला ।
अँ.. मैले कुरा गर्दैथिएँ भैलो खेलेको । सुन्तली दिदीको घरबाट निस्केर राम बहादुर, १२ नम्बरे, पहेले भट्टराईको घरमा भैलो खेल्ने ट्राई गर्यौ, तर कोहि उठेन, खराल कान्छा र कोल्डाडेको घरमा खेलियो र केहि दक्षिणा पाईयो । जिम्मालको घरमा कुन्नि किन हो खेल्न गएनौ । सटुकेली, कुलाबोटेको घरमा पनि खेलियो । लंकाधरको घरमा अलि पैसा दिन्छन् भन्ने सुनेका थियौं । त्यसैले त्यहाँ गएर सकेसम्म मिलाएर भट्टायौँ । गित गएर नाच्यौँ । धेरै बेरपछि घर भित्रबाट कोहि निस्कियो र आफ्नो घरमा जुठो परेर तिहार नमान्ने बतायो । हामी मुखामुख गर्यौ । निकै नराम्रो लाग्यो । उज्यालो भएको भए तोरण टाँगेको, गाई पुजा गरेको देखिन्थ्यो होला तर बत्ति नभएकोले देख्न सकिएन । रात छिप्पिएकोले थप घरमा भैलो खेलिएन । जंगल किनारको बाटो फर्कन डर लाग्यो । ज्योतिनगर कुलोको डिल हुँदै घरमा फर्कियौ ।
कति पैसा भएछ भन्ने जिज्ञासा सबैलाई थियो । कति पैसा भएछ भनेर हामीले पैसा राखेकी कला दिदीलाई सोध्यौँ । कला दिदीले फ्रकको खल्ती छामछुम गरिन, झोला खोतलेजस्तो गरिन् । अनि आत्तिए जस्तो गरेर भनिन्–‘ ला पैसा त खसेछ !’ अब आत्तिने पालो हाम्रो थियो । १०÷१२ रुपियाँ जम्मा भएको थियो होला । त्यत्रो रकम हराउँदा पिर नपर्ने कुरै थिएन । दिदीहरुले कला दिदीको जिउको खानतलासी लिए. पैसा कतै थिएन । ज्योतिनगर कुलोमा लोट्दा पैसा झर्यो होला भनेर कलाले भनेपछि टुकी लिएर उनले भनेको ठाउँमा गयौँ । तर त्यहाँ पनि पैसा थिएन । कालो अँध्यारो रातमा अघि आएको बाटो दिप नगरसम्म पुग्यौँ, तर कहाँबाट भेटिनु? सबै मिलेर कलालाई गाली गर्यौ । भोलिपल्ट बिहानै गएर सम्भाव्य ठाउँमा खोज्यौँ, तर पैसा भेटिएन ।
‘कला चोर्नी छे, आफैले कतै लुकाएकी हो ।’ सबैले अनुमान लगाए । उनको आनिबानीले पनि त्यो अनुमान लगाउनु स्वाभाविक थियो । त्यो सालको भैलो त्यत्तिकै भयो । अझ भन्ने हो भने त्यसपछि केटाकेटी भएर भैलो नै खेलिएन । बाल्यकालको अन्तिम भैलो त्यहि हुन पुग्यो ।
भैलो खेलेर बनभोज खाने चलन थियो । पैसा त कलाले हराईसकेकी थिइन्, त्यसैले बनभोजको लागि सामान किन्ने अवस्था थिएन । सबैको घरबाट तरकारी, मसला, नूनतेल जुटायौ । चामल भैलो खेलेर ल्याएकै थियौँ । घरबाट पकाउने र खाने भाडा लिएर वनभोज खानको लागि गणेश नगर नजिकैको वनमा गयौ । तरकारी पाकिसकेको थियो, भात लगभग पाकिसकेको थियो । त्यहि बेलामा गणेश नगर तर्फबाट २ वटा केटाहरु आए । हामीहरु भन्दा केहि ठुला थिए । उनीहरुले हामीलाई केहि त भनेका थिएनन तर हामीहरु डरायौ । पाक्दै गरेको देक्ची र कराईका साथै अरु सामान बोकेर आफ्नो गाउँको नजिक मद्रहानी कुलोको डिलमा आएर फेरी चुलो बाल्यौ । कचपचिएको भात खाएर नाचगान गरेर रमायौ । बाल्यकालमा जानेको त्यहि सदाबहार गित गायौँ ।
‘… क्या राम्रो मालचरा, उड्यो भरर
बैमानी छौ भन्ने कल्ले जान्यो र ?’
अचेल मेरो आकाशमा मालचराका बथान देखिदैनन् । भैलो खेल्ने केटाकेटीका हुल देखिदैनन् । ४÷५ जना केटाकेटीहरु कहिलेकाँही भैलो खेल्न आउछन् । उनीहरुलाई भट्याउन आउदैन । म्युजिक सिस्टम ÷बुफर बोकेरै आएका हुन्छन् । घर अगाडी पुग्ने बित्तिकै गित बजाउन थाल्छन् –
‘मलाई अरेली काँडाले च्वास्स च्वास…’
अचेल गित गाउनु पर्दैन, गीतको विचमा मिज्जु भन्नु पर्दैन ।
मैले धेरै पछी मिज्जुको अर्थ थाहा पाएको थिएँ । तपाईलाई थाहा छ– मिज्जु भनेको के हो