© 2026
बर्दघाट । बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायद्वारा लिखित ‘बर्दघाट रूपान्तरणको ब्लुप्रिन्ट’ नामक पुस्तक एक कार्यक्रमका बीच विमोचन गरिएको छ । उपाध्यायका अनुसार तथ्य, अनुभव र समग्र बर्दघाट बिकासमा आधारित बर्दघाटको विकास दर्शन उपशीर्षक रहेको उक्त पुस्तकले बर्दघाट नगरको समग्र रूपान्तरणको खाका प्रस्तुत गरेको छ ।
पुस्तकको आवरण पृष्ठमा बर्दघाटका धार्मिक सहिष्णुता र पर्यटकीय सम्भावनालाई झल्काउने शिव मूर्ति, मन्दिर, मस्जिद र सिमसार क्षेत्रका तस्विरहरु समावेश गरिएको छ। विमोचन कार्यक्रममा लेखक उपाध्यायले यो पुस्तक कुनै राजनीतिक घोषणापत्र नभई आफुले देखेको, भोगेको र अनुभव गरेको बर्दघाटको यथार्थ चित्रण र भविष्यको मार्गचित्र भएको बताए ।
“मेरो राजनीतिक,आर्थिक र सामाजिक जिवनमा बर्दघाटको बिकासलाई साझा एजेन्डाको रुपमा मैले आफ्नो अनुभव र योजनालाई पुस्तकमा समेटेको छु यो मेरा जिवनका भोगाई,आशा र परिवर्तनको मार्गचित्र स्वरुपको खाका पनि हो “ उपाध्यायले भने ।
यस पुस्तकको सुरुवातमा बर्दघाटको माटो, मानिस र सम्भावनाको बिषयबस्तुलाई समेटिएको छ । त्यसपछि लेखकले आफुले देखेको बर्दघाट र
अनुभवले सिकाएको विकासको पाठलाई प्रस्तुत गर्दै बर्दघाट वर्तमान कहाँ छ भन्ने यथार्थपरक विश्लेषण गरेको देख्न सकिन्छ । पुस्तकमा सबैभन्दा जोड दिइएको विषय सुशासन र तथ्यमा आधारित विकासको नयाँ मोडेल हो । पुरानो परम्परागत शैलीलाई त्यागेर प्रमाण र तथ्यमा टेकेर विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा यसमा समेटिएको छ ।
त्यस्तै पुस्तकमा समृद्ध बर्दघाट निर्माणका लागि चारवटा क्रान्तिको परिकल्पना गरिएको छ। जसमा आत्मनिर्भरतादेखि समृद्धिसम्म लैजाने कृषि क्रान्ति, सीप र अवसर मार्फत आत्मनिर्भर बनाउने रोजगार क्रान्ति, गर्दै सिक्दै टिक्ने र बिक्ने सीप निर्माणमा केन्द्रित शिक्षामा क्रान्ति र उपचार भन्दा रोकथाम ठूलो भन्ने मान्यतामा आधारित स्वस्थ बर्दघाटको अवधारणा अघि सारिएको छ ।
“हामी ठुला ठुला सपनाहरू देखाउँछौ तर साना साना कुराहरूमा चुकिरहेका हुन्छौं, हामी चुक्ने गरेका ती ससना कुराहरुलाई नै मैले पुस्तकमा समेट्ने कोसिस गरेको छु“ उपाध्यायले भने ।
यसका साथै पुस्तकमा प्रत्येक घरमा सुरक्षित खानेपानी र प्रत्येक बस्तीमा गुणस्तरीय सेवाको प्रतिबद्धता सहित खानेपानी, सरसफाइ र पूर्वाधारको योजना, बर्दघाटको नयाँ आर्थिक इन्जिनको रुपमा पर्यटन विकासको रणनीति र हरित बर्दघाट र सुरक्षित भविष्यका लागि वन, वातावरण र जलवायु परिवर्तन सम्बन्धी स्पष्ट दृष्टिकोण समेटिएको छ ।
पुस्तकको उत्तरार्धमा सुशासन, सामाजिक न्याय र नागरिकमैत्री नगरपालिकाको अवधारणा प्रस्तुत गर्दै समृद्ध बर्दघाट तर्फको पाँच वर्षे स्पष्ट मार्गचित्र कोर्ने प्रयास गरिएको छ। पुस्तकको अन्त्यमा योजना होइन परिणाममुखी नेतृत्वमा जोड दिँदै कार्यान्वयनको नयाँ मोडेल प्रस्तुत गरिएको छ र साझा संकल्प र साझा भविष्यको आह्वान गर्दै पुस्तक समापन गरिएको छ ।
एक बहालवाला जनप्रतिनिधिले नगरको समग्र विकास दर्शनलाई पुस्तकाकार रुपमा प्रस्तुत गर्नुले स्थानीय तहमा नयाँ बहसको सुरुवात गर्ने अपेक्षा गरिएको छ भने स्थानीय तहको निर्वाचनको संघारमै यो प्रकृतिको पुस्तक विमोचनले यसलाई अर्थपूर्ण रुपमा समेत हेर्न थालिएको छ । तर, उपप्रमुख उपाध्यायले भने त्यस्तो आशय भन्दा पृथक रुपमा आफ्ना अनुभव र भोगाईलाई लिपिवद्ध गरिएको जनाएका छन् ।