Butwal Today

हराउँदै मौलिक देउसी भैलो : संस्कृति जोगाउने कि आधुनिकताको भेलमा बगाउने ?

२४ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

देउसी भैलोको आफ्नै महत्व छ्न ।तिहरमा खेलिने देउसी भैलो केवल मनोरञ्जनका लागि मात्रै होईन मौलिकता सग पनि यो जोडिएको छ ।यसको धार्मिक पक्षको विशेषता आफ्नै ठाउँमा छ्न तर यो हाम्रो मौलिकता र सदिऔदेखिको परम्परा सग जोडिएको छ ।त्यसैले हामिले मौलिकता जोगाएनौ भने नयाँ पुस्ताले देउसी भैलोलाई मनोरञ्जन मात्रै बुझ्दा नया पुस्ता सगै यसको आकर्षण घट्दै जाने छ ।

हामिलाई हाम्रो बिगत अनि बाल्यकालको सम्झना छ तिहारमा साँझपख घरघरमा झिलिमिली बत्ती, आँगनमा रंगोली, फूलमाला र देउसी–भैलोको गुञ्जायमान आवाज। मादलको तालमा घन्किने भाका, सामूहिक स्वरमा गाइने गीत, घरधनीको प्रशंसा गर्दै आशिष दिने परम्परा र अन्त्यमा दक्षिणा ग्रहण गरेर रमाउँदै अर्को घरतर्फ लाग्ने समूह।

देउसी भैलोमा गाईने स्थानीय समाज अनुरुपका गितले नेपाली गित सङ्गीतको समेत संरक्षण गरेको थियो।कुनै समय नेपाली समाजमा देउसी–भैलो केवल मनोरञ्जनको माध्यम थिएन, यो सामाजिक एकता, आपसी सद्भाव, मौलिक लोकसंस्कृति र पुस्तान्तरणको जीवन्त अभ्यास थियो। तर पछिल्ला वर्षमा देउसी–भैलोको यही मौलिक स्वरूप क्रमशः हराउँदै गएको अनुभूति हुन थालेको छ।

पश्चिमा संस्कृती र छिमेकी मुलुक भारतको नक्कल नेपालमा पनि उतार्न थालिएको छ त्यसैले नेपालमा अचेल तिहार होईन ूदिवालीू मनाउन थालिएको छ ।संस्कृती अनुसरण गर्नु गलत पक्कै होईन तर आफ्नो मौलिकताको जग नहल्लिने गरी ।

तिहारको सांस्कृतिक पहिचानका रूपमा स्थापित देउसी–भैलो अहिले आधुनिक गीत, चर्को ध्वनि, डिजे, रेकर्डेड संगीत र मनोरञ्जनमुखी प्रस्तुतिमा सीमित हुँदै गएको देखिन्छ।

पहिले गाउँका टोलटोलबाट बालबालिका, युवा र ज्येष्ठ नागरिकको सहभागितामा देउसी–भैलो खेल्ने चलन थियो।देउसी भैलोले मनोरञ्जन सगै सामाजिक सद्भाव र एकतालाई समेत बलियो बनाएर राख्न ठूलो टेवा पुर्याउथ्यो ।अहिले देउसीमा मौलिका भेटिदैन मात्रै उमेर समुहका,विचार समुहका आ आफ्नै शैली उदयमान छ्न ।उ बेला देउसी बाट सङ्कलित रकम समाजसेवामा खर्चिने प्रचलन समेत ब्याप्त थियो यसले समाजमा पृथक सन्देश दिने गरेको थियो ।

अहिले कतिपय स्थानमा मौलिक भाका र परम्परागत शैलीभन्दा आधुनिक गीतको धुनमा नाचगान गर्ने प्रवृत्ति बढेको छ। प्रविधि र समयअनुसार परिवर्तन हुनु स्वाभाविक भए पनि त्यसले मौलिक पहिचान नै विस्थापित गर्न थालेपछि संस्कृति संरक्षणको प्रश्न गम्भीर बनेको छ।

पराम्परागत देउसी–भैलोमा शब्द, लय र भावनाको छुट्टै महत्त्व हुन्थ्यो। भैलो खेल्न आउने समूहले घरको आँगनमा पुगेर सामूहिक रूपमा भैलो गीत गाउने, घरधनीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने गर्थे। त्यसैगरी देउसीमा घरधनीको प्रशंसा, गाउँठाउँको अवस्था, सामाजिक विकृति र समसामयिक विषयलाई समेत गीतका माध्यमबाट प्रस्तुत गरिन्थ्यो।

ुदेउसिरेु भन्दै सुरु हुने गीतमा स्थानीय परिवेश, लोकजीवन र नेपाली समाजको मौलिकता झल्किन्थ्यो। मादल, बाँसुरी,खैजरी परम्परागत बाजाको तालमा गाइने गीतले वातावरणलाई थप उल्लासमय बनाउँथ्यो। समूहमा मिलेर गाउने,नाच्ने र रमाउने परम्पराले गाउँसमाजमा आत्मीयता बढाउँथ्यो।तर पछिल्लो समय पटाका र डिजेका चर्का आवाजले केहिलाई भने वाक्क बनाएको छ भने अर्कातिर बिना उदेश्यको हुल बाधेर आर्थिक सङ्कलनका लागि मात्रै आउने केही देउसी जमातलाई प्रदान गरिने दक्षिणालाई समेत सामाजिक प्रतिष्ठाका रुपमा जोड्ने गरिँदा कतिपय अवस्थामा यो स्वस्फूर्त नभै बाध्यकारी समेत बन्ने गरेको टिकाटिप्पणी हुने गरेका छन ।

पहिले हजुरबा–हजुरआमा र आमाबुबाले, घरका कुनै अग्रज सदस्यले गाएका गीत नयाँ पुस्ताले सुन्दै र सिक्दै हुर्कन्थे। घरपरिवार र समुदायबाटै संस्कृति सिक्ने परम्परा थियो। अहिले त्यस्तो अभ्यास कम हुँदै गएको छ। विद्यालयमा पनि स्थानीय लोकसंस्कृति र परम्परागत पर्वहरूको व्यावहारिक अभ्यासलाई पर्याप्त प्राथमिकता दिन सकिएको छैन।

संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने विषय हो। नयाँ पुस्ताले मौलिक देउसी–भैलोका गीत र परम्परा नै चिन्न छाडे भने भविष्यमा यसको अस्तित्व केवल पुस्तक र स्मृतिमा सीमित हुन सक्ने जोखिम छ।

संस्कृति समयसँगै परिवर्तन हुन्छ। कुनै पनि परम्परालाई जस्ताको तस्तै राख्नुपर्छ भन्ने होइन। समयअनुसार परिमार्जन र नयाँपन आवश्यक पनि छ। तर परिवर्तनका नाममा आफ्नो मौलिक पहिचान नै गुमाउनु उचित हुँदैन।

त्यसैले आधुनिकतालाई आत्मसात् गरौँ, तर मौलिकतालाई नबिर्सौँ। डिजेको धुनसँगै मादलको ताल पनि घन्काऔँ,बाँसुरीका धुन गुन्जयमान बनाऔं ।आधुनिक गीतसँगै परम्परागत देउसी–भैलो पनि गाऔँ। किनकि संस्कृति केवल मनाउने विषय होइन,पुस्तौँसम्म जोगाएर हस्तान्तरण गर्नुपर्ने हाम्रो पहिचान हो।एक पुस्ता बिलय सगै अर्को पुस्तामा आईपुग्दा पहिचान लोप हुनु दुखद बिषय बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?