© 2026
दोहा,कतार ।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले खाडी मुलुकमा कार्यरत नेपालीले आर्जन गरेको सीप, अनुभव, पुँजी र सामर्थ्यलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्न सरकारसँग आग्रह गरेका छन्।
कतारस्थित नेपाली राजदूतावासमा नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पन्थीले खाडीमा रहेका नेपाली श्रमिक, व्यवसायी, बुद्धिजीवी तथा दक्ष जनशक्तिका समस्या र सम्भावनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
अन्तरक्रियाका क्रममा उनले विदेशमा रहेका नेपालीलाई राष्ट्रिय परिचयपत्र, राहदानी तथा अन्य सरकारी डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउनुपर्ने, समस्यामा परेका श्रमिकको उद्धार तथा सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने विषय उठाएका थिए। साथै, वैदेशिक रोजगारीबाट फर्किने नेपालीलाई स्वदेशमै उद्यम तथा व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, आवश्यक तालिम र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।
खाडी मुलुकमा वर्षौँ काम गरेर नेपालीले हासिल गरेको प्राविधिक ज्ञान, सीप र व्यावसायिक अनुभवलाई नेपालको कृषि, पर्यटन, उद्योग तथा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सके त्यसले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
खाडी मुलुकलाई रेमिट्यान्सको स्रोतका रूपमा मात्र नहेरी त्यहाँ रहेका दक्ष जनशक्ति, लगानीकर्ता र अनुभवी नेपालीलाई नेपालको विकासका साझेदारका रूपमा राज्यले सम्बोधन गर्नुपर्ने अध्यक्ष पन्थीले बताए। यसका लागि नेपाल सरकार, नेपाली राजदूतावास र एनआरएनएबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
सोही अवसरमा अध्यक्ष पन्थीले आगामी डिसेम्बर ११ र १२ मा कतारमा आयोजना हुन लागेको नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ बारे मन्त्री तिमिल्सिनालाई जानकारी गराउँदै सम्मेलनमा विशेष उपस्थितिका लागि निमन्त्रणासमेत दिएका थिए।
‘सहयात्रा (Journey Together)’ मूल नारा तथा ‘Safe Labour Migration, A Prosperous Future — NRNA’s Mission’ मुख्य विषयवस्तु रहेको सम्मेलनले सुरक्षित वैदेशिक रोजगारी र प्रवासी नेपालीको योगदानलाई नेपालको समृद्धिसँग जोड्ने विषयलाई प्राथमिकतामा राख्ने जनाइएको छ।