Butwal Today

एनपीएल : पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

युवराज सम्रालको आक्रामक शतक र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो ।

यससँगै पोखरा यस सिजन एनपीएलमा २०० रनको आँकडा पार गर्ने पहिलो टोली बनेको छ । यस्तै एनपीएलमा समग्रमा यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो ।

पोखराका लागि युवराज सम्रालले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा अविजित १०२ रन बनाए । उनले ४५ बलमा आफ्नो शतक पूरा गरेका थिए ।

त्यस्तै, कुशल भुर्तेलले ३९ बलमा ७ छक्कासहित ६२ रनको योगदान दिए । क्यानडाका ओपनरसमेत रहेका सम्रालले एनपीएलमा आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन् । उनी यस सिजन शतक बनाउने पहिलो खेलाडीसमेत बनेका छन् ।

सम्राल एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो तथा समग्रमा चौथो खेलाडी हुन् । यसअघि पोखराका लागि पहिलो संस्करणमा आन्द्रे गौस र दोस्रो संस्करणमा एडम रोसिङटनले शतक बनाएका थिए ।

पोखराले पहिलो विकेटका रूपमा महेदी हसनलाई गुमाएको थियो । उनी १६ बलमा ५ रन बनाएर आउट भए । त्यसपछि सम्राल र भुर्तेलले दोस्रो विकेटका लागि १३६ रनको उत्कृष्ट साझेदारी गर्दै पोखराको इनिङ्सलाई मजबुत बनाए ।

यो साझेदारी यस सिजनको तेस्रो शतकीय साझेदारी हो भने कुनै पनि विकेटका लागि यस सिजनकै उच्च साझेदारीसमेत हो । साथै, यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी बनेको छ । यसअघि सन् २०२४ को पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।

सम्राल र भुर्तेल आउट भएपछि कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै टोलीलाई २०० रनको आँकडा पार गराए । उनले ११ बलमा ३ चौका र ३ छक्कासहित अविजित २५ रन बनाए । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक ३ रनमा अविजित रहे ।

बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मार्क वाटले १ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?