Butwal Today

मनोकामना पूरा हुने विश्वासले सुपा देउरालीमा भक्तजनको घुइँचो

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

अर्घाखाँची । मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ दैनिक हजारौँ भक्तजन पुग्ने स्थल हो, अर्घाखाँचीको सुपा देउराली मन्दिर । नेपालका ७७ वटै जिल्लासहित भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आउने यस मन्दिर धार्मिक पर्यटकको प्रमुख आकर्षण बनेको छ ।

मन्दिरमा भेटिएका चुरामणी घिमिरेले भाकल गरेर मनले चिताएको पूरा हुने जनविश्वास रहेकाले आफु पनि मन्दिर आएको बताए । मनोकामना पूरा भएपछि बोका, परेवा तथा नगद भेटी चढाउन आउने भक्तजनको सङ्ख्या पनि उल्लेख्य छ । धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले आकर्षित गर्ने सुपा देउरालीमा विशेष अवसरमा एकै दिन २२ हजारसम्म दर्शनार्थी पुग्ने गरेका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको बीचमा अवस्थित सुपा देउराली मन्दिर शक्तिपीठका रूपमा परिचित छ । यहाँ दर्शन तथा भाकल गर्न नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आउने गरेका छन् । मन्दिर परिसरमा दैनिकजसो भक्तजनको चहलपहल देखिन्छ ।

सुपा देउराली मन्दिरमा प्राचीन निर्माण शैली र धार्मिक परम्पराको विशिष्ट महत्त्व छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यहाँ दैनिक हजारौँ भक्तजनले दर्शन गर्ने गरेका छन् । विशेष धार्मिक अवसर र चाडपर्वमा दर्शनार्थीको चाप अझ बढ्ने गरेको छ । यस्ता अवसरमा एकै दिन करिब २२ हजारसम्म भक्तजन मन्दिर पुग्ने गरेका छन् ।

मन्दिरमा चढाइने भेटीबाट वार्षिक करिब डेढ करोड रुपैयाँ आम्दानी हुने गरेको छ । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको यस मन्दिरले सामाजिक सेवामा समेत योगदान पुर्‍याउँदै आएको छ । यहाँ सङ्कलन हुने भेटीबाट जिल्लाका चारवटा विद्यालयमा निजी शिक्षकको तलबसमेत उपलब्ध गराउने गरिएको छ ।

नेपालका ७७ वटै जिल्लाबाट भक्तजन आउने गरेको सुपा देउराली मन्दिर व्यवस्थापन समितिका सहसचिव कमल थापा बताउँछन् ।

मन्दिरमा धार्मिक परम्परा र मान्यतालाई पनि उत्तिकै महत्त्व दिइन्छ । एकादशी, औँसी, रामनवमी र ऋषिपञ्चमीका दिन यहाँ बलि चढाइँदैन । मनोकामना पूरा भएपछि पुनः मन्दिरमा आएर दर्शन गर्ने र भाकलअनुसार भेटी चढाउने परम्परा छ ।

यस मन्दिरसँग जोडिएको एउटा रोचक किंवदन्ती पनि छ । मनोकामना पूरा भएपछि लामो समयसम्म मन्दिर नफर्की अन्यत्रको बाटो रोजेमा देवीले भिरमा लाहुरेटाको शिर देखाएर बाटो छेक्ने गरेको जनविश्वास छ । यस्ता धार्मिक मान्यता र किंवदन्तीले पनि मन्दिरप्रति भक्तजनको आकर्षण बढाएको छ ।

तर, बढ्दो दर्शनार्थीको चापसँगै मन्दिर परिसरको व्यवस्थापन, सुरक्षा र दर्शनार्थीको सहज आवागमन चुनौतीपूर्ण बन्दै गएको

कार्यरत सुरक्षाकर्मीको भनाई छ ।

धार्मिक आस्था, ऐतिहासिक महत्त्व, रोचक किंवदन्ती र प्राकृतिक सौन्दर्यको सङ्गम बनेको सुपा देउराली मन्दिर अर्घाखाँचीको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । मन्दिरमा चढाइने भेटीबाट मात्रै वार्षिक करिब डेढ करोड रुपैयाँ आम्दानी हुनु यसको आर्थिक महत्त्वको पनि उदाहरण हो ।

सुपा देउरालीमा बढ्दो धार्मिक आकर्षणलाई व्यवस्थित पूर्वाधार, सुरक्षा, सरसफाइ र स्थानीय पर्यटनसँग जोड्न सके अर्घाखाँचीको पर्यटन विकासमा थप योगदान पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?