© 2026
दाङ। वर्षभरि मेहनत गरेर धान उत्पादन गरेका दाङका किसानले अझै पनि आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। खेतमा पसिना बगाएर धान फलाए पनि बजारमा अपेक्षित मूल्य नपाउँदा किसान निराश बनेका छन्। धान काट्ने, दाइँ गर्ने र घरमा भित्र्याउने काम सकिएसँगै बिक्रीको चिन्ता किसानलाई थपिएको छ।
किसानले उत्पादन गरेको धान बिक्री गर्दा ब्यापले तोकेको मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरुको गुनासो रहेको छ । व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको र किसानसँग मोलमोलाइ गर्ने क्षमता कमजोर हुँदा सस्तोमै धान बेच्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।
घोराही उपमहानगरपालिका ६ का किसान बिकास चौधरीले भने,ूखेतीका लागि आवश्यक मल, बीउ, सिँचाइ, मजदुर तथा कृषि उपकरणको खर्च हरेक वर्ष बढ्दै गएको छ। तर धानको मूल्य भने सोहीअनुसार वृद्धि नहुँदा खेतीबाट अपेक्षित आम्दानी गर्न सकिएको छैन । उत्पादन लागतसमेत उठाउन कठिन हुने अवस्था आएको उनको गुनासो छ।
चौधरीका अनुसार धान खेतीमा लगानी गरेको रकम उठाउन र घरपरिवारको खर्च धान्न उत्पादन भएको धान ब्यापारीले गरेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ। भण्डारण गर्ने पर्याप्त ठाउँ नहुँदा पनि कतिपय किसानले व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपरेको छ। सोही ठाउँका निमा चौधरीले २ बिघा खेतमा धान खेती गरेकी थिइन् । उनको पेसा ब्यावसाय नै खेतीपाती भएकाले धानको उचित मूल्य नपाउदा आम्दानी भन्दा लागत खर्च धेरै हुने गरेको बताइन् । धान बिक्रीबाट आएको पैसाले घर खर्च चलाउन र छोराछोरी पढाउन सजिलो भएको बताइन । तर सरकारले तोकेको समर्थन मूल्य पनि नपाउदा लगानी खेर जाने चिन्तालागेको उनले बताइन् ।
सरकारले हरेक वर्ष धानको न्यूनतम समर्थन मूल्य तोक्ने गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको किसानको गुनासो छ। सरकारले तोकेको मूल्यमा धान खरिद गर्ने व्यवस्था नहुँदा किसानले बजारमा व्यापारीले दिने मूल्य स्वीकार गर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।
किसानलाई उचित मूल्य दिलाउन सरकारले धान खरिद केन्द्र सञ्चालन गर्नुपर्ने, सहकारीमार्फत उत्पादन संकलन तथा बिक्रीको व्यवस्था मिलाउनुपर्ने र न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग उठेको छ।
दाङ कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण जिल्ला मानिन्छ। यहाँका किसानको मुख्य खेतीमध्ये धान खेती पनि एक हो। तर उत्पादन बढाउने प्रयासमा रहेका किसानले बजार र मूल्यको समस्या भोग्नुपर्दा कृषि पेसाप्रति नै निराशा बढ्ने जोखिम छ।
कृषि उत्पादन बढाउने सरकारी लक्ष्य पूरा गर्न किसानलाई उत्पादनमा मात्रै होइन, बजारीकरण र उचित मूल्य सुनिश्चित गर्ने विषयमा पनि राज्यले ध्यान दिन आवश्यक छ। मेहनत गरेर उत्पादन गरेको धानको उचित मूल्य पाउने वातावरण नबनेसम्म किसानको आर्थिक अवस्था सुधार हुन कठिन देखिन्छ।