© 2026
काठमान्डौँ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको स्पष्ट पारेको छ । नियमित पत्रकार सम्मेलनमार्फत कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्याल र प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकारका पछिल्ला कामकारबाही, निर्णय, विकास आयोजनाको प्रगति तथा समसामयिक विषयमा जानकारी गराएका हुन् ।
ब्रिफिङको अन्त्यमा बोल्दै प्रधानमन्त्रीकी प्रेस विज्ञ दाहालले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताइन् । उनले सञ्चारमाध्यमले उठाएका सवालप्रति सरकार गम्भीर र सजग रहेको उल्लेख गरिन् ।
“हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ । यो हाम्रो संवैधानिक व्यवस्था पनि हो । मिडियाले उठाएका हरेक सवालप्रति सरकार सजग छ । नागरिकसम्म सरकारका काम पुर्याउन सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका छ । हामी सबैको साझा प्रयासबाट मात्र परिवर्तन सम्भव छ”, उनले भनिन् ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा मिडिया हाउसमा पुगेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति चौतर्फी आलोचना भइरहेका बेला कार्यालयले यस्तो प्रस्टीकरण दिएको हो । उक्त घटनाको विरोधमा नेपाल पत्रकार महासङ्घले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिसकेको छ ।